uml logo

यही सरकारलाई निरन्तरता दिन एमाले तयार छः उपमहासचिव ज्ञवाली

image

रुपन्देही । 

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारलाई निरन्तरता दिन तयार रहेको बताउनुभएको छ ।

मुलुकलाई सुरक्षित भविष्यतर्फ लैजाने कुरा पहिलो भएको बताउँदै राम्रो काम गर्दा वर्तमान सरकारलाई नै निरन्तरता दिने उहाँले बताउनुभएको हो । मंगलबार नेकपा एमाले गुल्मीको १२ औँ जिल्ला अधिवेशन उद्धघाटन गर्दै यस्तो नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । 

एमालेको चिन्ता मुलुकप्रति, जनताप्रति, राष्ट्रको भविष्यप्रति भएको बताउँदै उहाँले सरकारले राम्रो काम गर्छ भने निरन्तरता दिन कुनै समस्या नरहेको बताउनुभएको थियो । एमालेले नयाँ सत्ता समीकरण बन्दा पनि महत्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको उहाँको भनाइ थियो । राम्रो काम गर्न ठूलो नै मन्त्रालय आवश्यक नहुने उहाँको भनाइ छ ।

त्यस्तै नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेको नीति र योजनामा देशमा समृद्धिका धेरै आधारहरु तयार भएकोले अब पनि त्यही दिशामा अघि बढ्ने बताउनुभयो । सचिव तथा प्रदेश इन्चार्ज पद्यमा अर्यालले वर्तमान सरकारले जनतामा नयाँ उत्साह जगाउने काम गर्न थालेको बताउनुभएको थियो । गएको तीन वर्षमा जनतामा कुनै पनि उत्साह जगाउने काम नभएको हुँदा वर्तमान सरकारले नागरिकमा केही उत्साह जगाउने काम गरेको उहाँले बताउनुभयो ।

पोलिटब्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले पार्टीविरुद्ध हुने सबै षडयन्त्रलाई चिर्न एमालेका हरेक कार्यकर्ताको साथ चाहिने बताउनुभयो ।

प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीलाई जीवन्त बनाउन नियमित अधिवेशन भइरहेको र निर्धारिक समयमा सबै जिल्लामा पार्टीका योजनाहरु सँगै नयाँ नेतृत्व चयन भएको बताउनुभयो ।  

अधिवेशनबाट नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष बालसिंह काउछा र अर्का नेता हिरा एसीबीच प्रतिस्पर्धा रहेको छ । ७ सय प्रतिनिधि रहेको अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी बन्नेछ ।