uml logo

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

image

बुटवल ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । 

सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेश भएको थियो । 

आचार्यले एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाउनुभएको थियो । प्रदेश प्रमुख अमिक शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गर्नुभएको हो । एमालेकांग्रेसले बुधबार मुख्यमन्त्रीसहित सबै मन्त्रीको शपथको समय मिलाउन प्रदेश प्रमुखलाई अनुरोध गरिसकेका छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सबै मन्त्रीको शपथ एकैपटक मिलाउन अनुरोध गरेको बताउनुभयो । नवनियुक्त मुख्यमन्त्री आचार्यले एकैपटक सबै मन्त्रीसहित मुख्यमन्त्रीको शपथ बुधबार हुने जनाउनुभयो ।

कोहुन् मुख्यमन्त्री आचार्य ?

अराखाँची जिल्ला साविक अर्घा गा।वि।स। वडा नं. ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नं. ९) मा पिता टिकाराम आचार्य र माता तारादेबी आचार्यको कोखबाट २०२४ जेठ २१ गते जन्मिनुभएका चेतनारायण आचार्य आफ्नो ११ वर्षको कलिलो उमेरबाट अनेरास्ववियुमा संगठित हुनुभयो । उहाँका पिता टिकाराम आचार्य अर्घाखाँची जिल्लाको कम्युनिष्ट पार्टीको संस्थापक नै भएकोले उहाँ बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आवद्ध गर्नुभयो । २०४० सालमा अनेरास्ववियु जिल्ला कमिटीको सदस्यमा निर्वाचित हुनुभएका आचार्य २०४३ सालमा उच्च शिक्षा अध्ययनको क्रममा बुटवल जानुभयो र अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको प्रा।क। अध्यक्ष र जिल्ला कमिटी सदस्य बन्नु भयो । 

अर्घाखाँची जिल्ला पार्टीले उहाँको आवश्यकता जिल्लामा महशुस गरि जिल्ला फर्काएपछि २०४६ सालमा इलाका कमिटी सदस्य, २०४७ सालदेखि जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्यको रुपमा ७ वर्ष काम गर्नुभयो । २०५४ सालको पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट ३० वर्षको उमेरमा अर्घाखाँची जिल्ला पार्टीको सचिव (प्रमुख) मा निर्वाचित हुनुभयो । २०५४ पछि चौथो र पाचौं जिल्ला अधिवेशनबाट समेत सचिव पदमा निर्वाचित आचार्यले ११ वर्ष निरन्तर पार्टी प्रमुखको रुपमा काम गर्नुभयो । 

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. १ वाट पराजित आचार्य २०६५ देखि २०६९ सम्म लुम्बिनी अञ्चल कमिटी सदस्य भई पार्टी कामलाई निरन्तरता दिनुभयो । २०६९ सालमा भएको पार्टी जिल्लाको सातौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित आचार्यले नेकपाको अवधिमा समेत अध्यक्ष भई ९ वर्ष पुनः जिल्ला पार्टी प्रमुखको रुपमा कार्यभार संहाल्नुभयो । २०७४ सालका भएको प्रदेश सभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं. १ बाट भारी मतले निर्वाचित आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री र ग्रामिण तथा शहरी विकास तथा खानेपानी मन्त्रीको समेत कार्यभार संहाल्नुभयो । २०७८ सालमा सम्पन्न पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित आचार्य अर्घाखाँची जिल्लाको सहइन्चार्जको जिम्मेवारीमा रहनुभयो । 

पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानमा दाङ जिल्लामा खटिनुभएका आचार्यलाई पार्टी केन्द्रले गरेको कार्यविभाजन अनुसार दाङ जिल्लाको इन्चार्जको रुपमा हालसम्म कार्यरत रहनुभएको छ । २०७९ सालको प्रदेश सभा निर्वाचनमा गठवन्धनका विरुद्ध प्रतिस्पर्धा गरि अर्घाखाँची प्रदेश क्षेत्र नं. १ बाट निर्वाचित आचार्य नेकपा एमाले संसदीय दलको उपनेता बन्नुभयो । साथै लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी संहाल्नुभयो । 

 आचार्य पार्टीमा पूर्णकालिन भई काम गरिरहनु भएको छ । विभिन्न आन्दोलनहरुमा जेल जीवन समेत ब्यतित गर्नुभएका आचार्यले क्यान्सर जस्तो भयानक रोगलाई समेत जितेर पार्टी काममा क्रियाशिल हुनुभयो । पार्टी संगठनको काममा निरन्तर क्रियाशिल कुशल संगठक आचार्य पार्टी कार्यकर्ता विच लोकप्रिय र प्रभावशाली नेताको रुपमा चिनिनुहुन्छ । उहाँका १ दाजु, २ भाइहरु, २ दिदीहरु र १ बहिनी रहनुभएको छ । आचार्यको जीवनसंगिनी दिपा आचार्य अनेमसंघ अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष र पार्टी जिल्ला कमिटी सदस्यको रुपमा क्रियाशील हुनुहुन्छ भने साइला भाई खुबिराम आचार्य पार्टी जिल्ला कमिटी सदस्यको रुपमा पार्टी काममा क्रियाशील हुनुहुन्छ । उहाँको १ छोरा सुवास आचार्य र १ छोरी सुप्रभा आचार्य हुनुहुन्छ ।