uml logo

कार्ययोजना बनाएर अघि वढ्न एमाले अध्यक्ष कँडेलको आग्रह

image

नेकपा (एमाले) का जनसँगठन समन्वय संयन्त्रको बैठक सम्पन्न

बुटवल, श्रावण २

नेकपा (एमाले) लुम्बिनी प्रदेशस्तरीय चौथो जनसंगठन समन्वय संयन्त्रको बैठक बुधवार कपिलवस्तुको चनौटामा सम्पन्न भयो ।  

१८ वटा जनसँगठनको उपस्थितिमा बसेको वैठकले पार्टीको निर्णय अनुरुप असौज मसान्तसम्म सदस्यता विस्तार कार्य गर्ने, म्याद सकिएका प्रदेश तथा जिल्ला जनसँठनहरूको सम्मेलन भाद्र मसान्तसम्म र अव म्याद सकिदै गरेका जनसँगठनहरुले असोज भित्र सम्मेलन गर्ने, आर्थिक पारदर्शिताका लागि सवै सँगठनहरुले श्रावण भित्र खाता खोल्न बाँकीले खाता खोल्ने र यस अघिदेखि बैंकिङ कारोवार गर्दै आएकाहरुले साउन भित्र लेखा परीक्षण गर्नुपर्ने गरी निर्णय गरेको छ ।

सदस्यता बृद्धि गर्दा पिछडिएको वर्ग, आदिवासी, महिला तथा जनजातिलाई प्राथमिकता दिन पनि जोड दिएको छ ।

यसवाहेक सवै जनसँगठनहरुले आ–आफ्नो सँगठनसंग सम्वन्धित दिवसहरु मनाउने र बार्षिक कार्यक्रम बनाएर हरेक सँगठनलाई ब्यवस्थित गर्ने निर्णय गरेको छ ।

सो अवसरमा नेकपा (एमाले) लुम्विनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी व्यवस्थित हुनका लागि जनसँगठन व्यबस्थित हुन आवश्यक भएकोले नियमित वैठक, वार्षिक कार्ययोजना, कार्ययोजना अनुरुप कार्यक्रम, तिनको दस्तावेजीकरण लगायतका काम गर्न निर्देशन दिनुभयो ।

कतिपय सँगठनहरुले निर्वाचित कमिटीको विवरणसमेत प्रदेशमा पठाउन नसकेकोमा सवै जनसँगठन प्रमुख तथा इन्चार्जहरुलाई यसप्रति सचेत् हुन र सवै विवरणहरु पार्टी कमिटीलाई उपलब्ध गराउन तथा बैठकमा तयारीका साथ उपस्थित हुन निर्देश गर्नुभयो । हरेक कमिटीले अभिलेख प्रणालीलाई दुरुस्त राख्न आवश्यक छ, उहाँले भन्नुभयो ।

पार्टी सँगठनहरु चलाउनु क्लव चलाउनु जस्तो नभएकोले सँगठन परिचालन र सँगठनहरुको उद्वेश्य अनुरुप काममा लाग्न नसक्ने हो भने पद ओगटेर बस्नुको औचित्य नहुने बिषयमा पनि उहाँले स्पष्ट गर्नुभयो ।

पार्टीको प्रदेश सँगठन कमिटीले हरेक सँगठन र ब्यक्तिको पनि मूल्याँकन गर्ने प्रक्रिया शुरु गरेको बतााउँदै अध्यक्ष कँडेलले बिना जानकारी बैठकमा अनुपस्थित हुने र कार्य प्रगति नबुझाउनेको जिम्मेवारी फेरवदल हुने जानकारी गराउनुभयो ।

 पार्टीका प्रदेश कमिटी सदस्यहरुले बैठकदेखि बैठकसम्म उपस्थित भएर मात्र जिम्मेवारी पूरा नहुने भएकोले आवश्यकता अनुसार निगरानी गर्ने काममा ध्यान दिन र जनसँगठन प्रमुखहरुले जनसँगठन सञ्चालनसम्वन्धी पार्टीले प्रकाशित गरेको कार्यविधि अध्ययन गर्न उहाँले जोड दिनुभयो ।

बैठकमा नियमित अनुपस्थित हुने केही सँगठनहरुबारे टिप्पणी गर्दै अध्यक्ष कँडेलले त्यस्ता सँगठनसँग स्पष्टिकरण सोधी काम गर्न नसक्ने भए स्वेच्छाले राजीनामा गर्न अनुरोध गर्ने जानकारी पनि गराउनुभयो । 

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले हरेक बैठकहरु पार्टीका स्कुल हुन् भन्ने अर्थमा ग्रहण गर्न बैठकमा सक्रिय उपस्थिति र निर्णयलाई कार्यान्वयन गर्न जोड दिनुभयो । यस्ता बैठकहरुले नयाँ कुरा सिकाउने, कमजोरी भए सुधार्ने काम गर्छ र सँगठनलाई वडा र टोलसम्म पुर्याउन सहयोग पुग्छ, न्यौपानेले भन्नुभयो ।

बैदेशिक रोजगारीमा जाने लहरलाई हेर्दा आगामी ०८४ को निर्वाचनमा ६० प्रतिशत मतदाता महिला हुने अवस्था रहेकोले यो सामाजिक पक्षलाई पनि अहिलेदेखिनै अध्ययन गर्दै विशेष ध्यान दिन अनुरोध गर्नुभयो ।

नेकपा (एमाले) लुम्विनीका सचिव तथा जनसंगठन प्रमुख लक्ष्मण आचार्यको अध्यक्षतामा भएको वैठकमा पार्टी उपसचिव लीला रानाले स्वागत गर्नुभएको थियो । आचार्यले वैठकको प्रारम्भमा बिभिन्न प्रस्ताव तथा वैठकको अन्तमा छलफलबाट प्राप्त निष्कर्षलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा पार्टीका कार्यालय सचिव कृष्ण खनालले असार १३ गते बसेको नेकपा (एमाले) लुम्विनीको तेश्रो पूर्ण वैठकले गरेका निर्णयहरुलाई अन्तरपार्टी निर्देशनको रूपमा सुनाउनुभयो ।

वैठकमा प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख डीआर घिमिरे, सदस्य डम्वर शर्माको उपस्थिति थियो भने १९ वटा जनसँगठनहरुले लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्ने सँगठनहरुमा अनेरास्वबियु, राष्ट्रिय युवा सँघ, अखिल नेपाल किसान महासँघ, नेपाल उत्पिडीत जातीय मुक्ति समाज, अखिल नेपाल महिला सँघ,प्रेस चौतारी नेपाल, नेपाल ट्रेड युनियन महासँघ, नेपाल खेलकुद महासँघ, नेपाल राष्ट्रिय उद्धोग महासँघ, जनसाँस्कृतिक महासँघ, लोकतान्त्रिक आदिवासी जनजाति महासँघ, पेशागत महासँघ, नेपाल अपाङ्ग महासँघ, नेपाल स्वास्थ्यकर्मी महासँघ, मानव अधिकार एलायन्स,रिटर्नी फेडरेसन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सँगठन र नेपाल पिछडा वर्ग समाज, नेपाल मुस्लिम ईत्तेहात सँगठन थिए ।