2024-07-04
रुपन्देही ।
लुम्बिनी प्रदेश सरकारमा रहेका नेकपा एमालेका पाँच जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिनुभएको छ ।
मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका मुख्यमन्त्रीको सरकारी निवासमै भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिएको संसदीय दलका उपनेता चेतनारायण आचार्यले बताउनुभयो।
मन्त्रीहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्न खत्री र अर्जुन केसीले राजीनामा दिनुभएको हो । बिहीबार नै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा जानकारी गराइसकेको छ । एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई बुझाएको पत्रमा केन्द्रमा राजनीतिक संयन्त्र फेरिएकाले समर्थन फिर्ता लिइएको उल्लेख छ । असार ९ गते जसपा सांसद अम्बिका काफ्ले समर्थन फिर्ता लिएपछि त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यतामा मुख्यमन्त्री महरा हुनुहुनछ ।
यता मुख्यमन्त्री जोखबहादुर महराले एमालेले समर्थन फिर्ता लिए पनि तत्काल राजीनामा नदिने उहाँको सचिवालयले जनाएको छ । संघमा सत्ता समिकरण बदलिएपछि नेकपा माओवादी केन्द्र नेतृत्वको लुम्बिनी सरकार संकटमा परेको छ । केन्द्रको समिकरण अनुसार सत्ताघटकको प्रमुख दल नेकपा एमालेले समर्थन फिर्ता लिएको हो ।
एमालेले समर्थन फिता लिँदा मुख्यमन्त्री महरा अल्पमतमा परेर राजीनामा दिन दवाव पर्ने देखिन्छ । तर, मुख्यमन्त्री महरा विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।
२०८० चैत २३ गते माओवादी संसदीय दलका नेता महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेले समर्थन फिर्ता लिएको अवस्थामा महरासँग १८ मात्र सांसद हुनेछन्। बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक छ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन्। यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना छ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुखसहित ११ सांसद छन्। यस्तै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ र ४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३र३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक र एक जना तथा एकजना स्वतन्त्र गरी ८७ सांसद रहेका छन्।