uml logo

स्वाभिमानी नेपालीलाई कहिल्यै झुक्नु परेनः केपी ओली

image

रुपन्देही । 

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री एवं केपी शर्मा ओलीले नेपाल सधै स्वतन्त्र र स्वाभिमानी रहेकोले कुनैपनि मुलुकका सामु कहिल्यै झुक्न नपरेको बताउनुभयो । बिहीबार नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुपन्देहीले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै भूगोलमा सानो भएपनि स्वाभिमानमा देश सधै उचो रहेको बताउनुभएको हो । कार्यक्रम अवधिभर कुनै राजनीतिक मन्तव्य नदिएका ओलीले सैद्धान्तिक रुपमा विद्यार्थीको मन जित्नेगरी भाषण गर्नुभएको थियो । 

विश्वका धेरै मुलुकले स्वतन्त्रता दिवस मनाइरहेका हुन्छन्, हामीसँग स्वतन्त्रता दिवस छैन, सधैं स्वतन्त्र भयौ कहिले कसैको दास भएनौ, हामीसँग त्यो दिवस नै छैन । यो गर्वको विषय हो । ती पूर्वजका सन्तान हौ । त्यसैले हामीले केही गरेर देखाउँछौ भन्ने हिम्मत छ,’ उहाँले भन्नुभयो, ’मौका पायो कि नेपालीले गर्छ, त्यस्तो पुर्खाका सन्तान हौ, पूर्वज आविस्कारक थिए, धेरै खोज गरेका थिए, त्यसैको बलमा अहिले हामी बलियो बनेका हौ,सफलता त्यसको जगमा छौं ।’ 

नेता ओलीले आफू सफलतामा खुसी साट्न आएको बताउनुभयो । सफलतामा खुसी साट्न आएको हुँ,सफलताको शुरूवात मात्रै हो, सफलता पाउन इमानदार प्रयास हुनुपर्छ, इमानदारिताले सफलता खोज्छ, यो जुनसुकै क्षेत्रमा यो प्रयोग हुन्छ ।’ उहाँले भन्नुभयोे–‘पहिले आफूलाई चिन्नुपर्छ,ज्ञानको सुरूवात यहीँबाट भएको धेरै प्रमाण छन्,अनेक कुराका ज्ञान यहीँबाट सुरु भएका हुन् ।’ उहाँले नेपालमा भएका धेरै अनुसन्धानले विश्वमा बजार पाउन नसकेको सुनाउनुभयो । ’हामीले आविश्कार गरेका विषय प्रचारमा नआएका हुन्, धेरै जेनेटिक मेमोरी छ । देश सानो भएर केही हुँदैन । प्रतिभा प्रस्फुटन हुन नपाएको धेरै छ ।, अब यसलाई अगाडि बढाउनुपर्छ’ उहाँले भन्नुभयोे ।  

उहाँले एसर्इईको पूरक परीक्षा दिने विद्यार्थीहरुलाई निःशुल्क अनलाइन कक्षा संचालन गर्ने बताउनुभयो ।

शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरु एसर्इई परीक्षामा फेल भएको उल्लेख गर्दै ओलीले विज्ञ शिक्षकहरुबाट मुख्यमुख्य विषयहरुको निःशुल्क अनलाइन कक्षा संचालन गरिने जनाउनुभयो । अबको केही दिनभित्रै विषय विज्ञ शिक्षकहरुबाट मुख्य विषयहरुको अनलाइन कक्षा संचालन हुन्छ, ‘मुख्यगरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थीहरु एसईई परीक्षामा अनुत्तिर्ण हुनुभएको छ, अहिले अनुत्तिर्ण भएपनि पूरक परीक्षामा पास बनाउने गरी हामीले निःशुल्क अनलाइन कक्षा संचालन गर्दै छौं त्यसमा जोडिन सबै विद्यार्थीहरुलाई मेरो आग्रह छ’ ओलीले भन्नुभयो । 

उहाँले फेल भएका विद्यार्थीहरुलाई मौका परीक्षामा राम्रो तयारी गरेर सहभागी हुन आग्रह गर्नुभएको हो । ‘अझैपनि केही बिग्रिएको छैन मौका परीक्षा आउन एक महिना समय बाँकी छ, यो समयमा राम्रो तयारी गरेर पासहुने गरी परीक्षा दिनुभयो अहिले पास भएका विद्यार्थीसँगै पढ्न पाउनुहुने छ त्यसको लागि तयारी राम्रो गर्नुपर्‍यो,’ उहाँले भन्नुभयो । 

२०८० चैत्र १५ गतेदेखि संचालन भएको एसर्इई परीक्षामा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुका लागि राष्ट्रिय परिक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म पूरक परीक्षा तोकेको छ। सोही परीक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाइनमार्फत निःशुल्क कक्षा संचालन गर्न लागिएको ओलीले बताउनुभयो। उहाँले शिक्षकहरुमा आफूभित्र भएको ज्ञानसमेत प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थीहरु फेल भएको बताउनुभयो। ‘अब शिक्षकहरुमा भएको ज्ञानलाई विद्यार्थीले बुझ्ने गरी प्रदान गर्ने सीप बढाउनुपर्छ,’ ओलीले भन्नुभयो । 

अनेरास्ववियूले एसइई परिक्षामा जिपिए ४ ल्याएर उत्तिर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ६ स्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृतिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तिर्ण भएका एक हजार २८ जना विद्यार्थीलाई सम्मान गरेको हो।

एमाले उपाध्यक्ष पौडेलद्वारा केपी ओलीलाई भावी प्रधानमन्त्री घोषणा

नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ का सांसद विष्णुप्रसाद पौडेलले गृहनगर बुटवलमा ल्याएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गर्नुभएको छ । अनेरास्ववियु रुपन्देहीले बिहीबार रुपन्देहीमा ए प्लसदेखि माथि अंक ल्याएर एसईई पास गरेका एक हजार ८८ विद्यार्थी सम्मान कार्यक्रममा बिहीबार नै काठमाण्डौबाट ओलीलाई लिएर नेता पौडेल बुटवलमा आउनुभएको थियो । बुटवलस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको कार्यक्रममा ओलीभन्दा अगाडि नै सम्बोधन गर्नुभएका पौडेलले भावी प्रधानमन्त्री तपाईहरुको अगाडि आउनुभएको छ भनेपछि कार्यक्रममा सहभागी सबैले उहाँको पक्षमा हुटिङ गरेका थिए । ‘अहिलेको नतिजामा केही कमजोरी देखिएको छ, शिक्षामा धेरै सुधार गर्नुपर्ने छ, यसअघिका सफल र केही दिनमै प्रधानमन्त्री बन्न लाग्नुभएका एमाले अध्यक्ष केपी ओली हाम्रो आँगनीमा हुनुहुन्छ, उहाँ आएपछि थप सुधार हुन्छ’ पौडेलले भन्नुभयो । ‘भरोसा बढाउनुपर्ने छ, दक्ष जनशक्ति बनाउन र यहीँ रोक्न विशेष योजना चाहिएको छ, देशमा विकास गर्ने वातावरण बनाउन पनि उहाँको नेतृत्व जरुर थियो, यसअघिका कामले पनि त्यो रुपरेखा देखाएको थियो’ पौडेलले यसो भनिरहँदा खचाखच भरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुटिङले गुन्जिएको थियो । नेता पौडेलले प्रष्टरुपमा बोलेपनि ओलीले भने आफ्नो बोल्ने पालोमा कुनै राजनीतिक विषय नबोलि मन्तव्य सकाउनुभएको थियो । आजै एमाले अध्यक्ष ओलीसहित नेता पौडेल काडमाण्डौ फर्कनुभएको छ । 

कार्यक्रममा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, अनेरास्ववियुका अध्यक्ष समीक बडाल, प्याब्सन केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्यायलगायतले विद्यार्थी सम्मान कार्यक्रमले विद्यार्थीहरुलाई उत्प्रेरणा थपेको बताउनुभयो । अनेरास्ववियु रुपन्देही अध्यक्ष भरत अर्यालले शैक्षिक क्षेत्रलाई उत्प्रेरण जगाउन यस्तो कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।