2024-07-14
बुटवल।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। कांग्रेस एमालेको दाबी अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो ।
चौथो पटक प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ ।
कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गर्नुभएको थियो । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ ।
कांग्रेस एमालेले ओलीको शपथलगत्तै साना दलहरूलाई पनि साथ लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।
ओली पहिलो पटक २०७२ असोज २४ मा प्रधानमन्त्री बन्दा १० महिना प्रधानमन्त्री बन्नुभएको थियो । ०७४ मा एमाले(माओवादीबीचको वाम गठबन्धन बनाएर दुई तिहाइनजिक बहुमत ल्याएपछि २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो ।
तत्कालीन नेकपाभित्रको विवाददेखि संसद् विघटनसम्मको अवस्थामा ओलीले तीन वर्ष शासन गर्नुभएको थियो । त्यही विवादको क्रममा प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेर ७८ वैशाख ३० देखि असार २९ सम्म प्रधानमन्त्री बन्नुभएको थियो । सर्वोच्च अदालतले ओलीले गरेका प्रतिनिधिसभा पुनः स्थापना गर्दै कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि सरकारबाट बाहिरिनुभएको थियो । तीन वर्षपछि ओली पुनः सत्तामा फर्किनुभएको हो ।