uml logo

सर्वसम्मत नेतृत्व चयन हुँदा पार्टी बलियो हुन्छ,अध्यक्षमा निरक गुरुङ विजयी

image

 दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले दाङको अधिवेशन जिल्ला अधिवेशन मात्र नभएर सङ्कल्पको अभियान रहेको बताउनुभएको छ । 

नेकपा (एमाले) दाङको १४औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले यो जिल्ला अधिवेशन मात्र नभएर पार्टी निर्माणका लागि सङ्कल्प गर्ने अभियान भएको बताउनुभयो । 

उहाँले भन्नुभयो– यो अधिवेशन मुलुक बनाउन आधार तयार गर्ने अधिवेशन हो ।

दाङका नेता स्व. नेत्रलाल अभागीले पार्टी निर्माणका लागि खेलेको भूमिकाबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताउँदै महासचिव पोखरेलले दाङका नेता कार्यकर्ताहरूले पार्टी निर्माण गर्ने सङ्कल्प गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो–केहीलाई लाग्नसक्छ नेतृत्वका लागि प्रतिष्पर्धा गर्नुपर्छ । यो गलत हो । सर्वसम्मत नेतृत्व चयन हुँदा पार्टी बलियो हुन्छ । नेता कार्यकर्ताका बीचमा एकता कायम हुन्छ । दाङभन्दा बलियो जनाधार भएका झापाजस्ता जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले प्रश्न गर्नुभयो– हामीलाई किन प्रतिष्पर्धा आवश्यक पर्यो ?

बाह्य प्रतिद्वन्द्वीसँगको प्रतिप्रष्र्धाका लागि तयारी थाल्नुपर्ने बेला भइरहेको स्मरण गराउँदै महासचिव पोखरेलले अधिवेशनको नाममा एकता खलबलिन दिन नहुने बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– अधिवेशनलाई विगतको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्दछ । नेता कार्यकर्ता सम्हालिन नसक्दा विगतमा जिल्लाले ठूलो अवसर गुमाएको छ । 

अब २०८४ को निर्वाचनलाई मिसन बनाएर लाग्नुपर्ने, जिल्ला नेतृत्वका लागि नअल्मलिई राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्नका लागि तयार हुनुपर्ने उहाँको भनाइ छ ।   

राजनीतिक परिवर्तनलाई आत्मसात गर्न नसक्दा मुलुक सङ्कटग्रस्त अवस्थामा पुगेको बताउँदै महासचिव पोखरेलले वर्तमान गठबन्धन मुलुकलाई सङ्कटबाट बचाउनका लागि भएको स्पष्ट पार्नु भयो । उहाँले कम्युनिष्ट एकता बचाउन नसक्नु इतिहासकै गम्भीर त्रुटि भएको बताउँदै बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि तयारी थाल्नुपर्ने बताउनुभयो । 

समाज बदल्ने समयमा एमालेको सक्रियतामा कमी आएका कारण परिवर्तन संस्थागत हुन नसकेको भन्दै महासचिव पोखरेलले समाज बदल्ने अभियानलाई एमाले नेता कार्यकर्ताले निरन्तरता दिनुपर्ने बताउनुभयो । हरेक वर्ष एक जना पार्टी कार्यकर्ताले दुई मतको बृद्धि गर्ने र पाँचमतको रक्षा गर्ने अभियानको थालनी गरिएको भन्दै महासचिव पोखरेलले आजैदेखि अभियानको थालनी गर्न निर्देशन दिनुभयो । पार्टी जनतामा उत्पन्न भएको निराशा चिर्नतर्फ लागिपरेको भन्दै उहाँले जनतामा आशा जगाउनसक्ने सामथ्र्य एमालेसँग मात्रै भएको बताउनुभयो । 

नेकपा (एमाले) दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन सत्रमा पार्टीका पोलिटव्यूरो सदस्यहरु नरुलाल चौधरी, लिला गिरी र शान्ता चौधरी, जिल्ला इञ्चार्ज चेतनारायण आचार्य, प्रदेश सचिव लक्ष्मण आचार्य, रोल्पा जिल्लाका अध्यक्ष अमृत घर्ती मगर, रुकुम पश्चिमका अध्यक्ष लिलामणि गौतमलगायतले शुभकामना मन्तव्य राख्नुुभएको थियो । 

उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।