uml logo

नेकपा (एमाले)मा अब गुट बनाउने छुट कसैलाई छैनः केपी ओली

image

 बिजयनगरमा १५ शय्याको अस्पताल उद्‌घाटन

कपिलवस्तु। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताउनु भएको छ । 

‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुरायो भन्ने विषय सबैलाई प्रष्ट छ’ नेकपा (एमाले) कपिलवस्तुको १० औँ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा वताउनु भयो । 

‘पार्टीमा बनाउने गुटले अनावश्यक फाटो मात्र ल्याउने भएकोले यसबाट कसैलाई फाइदा नरहेको तर्क प्रस्तुत गर्दै ओलीले एमालेलाई गुटबन्दी स्वीकार्य नरहेको बताउनु भयो । गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लाग्नुपर्ने भएकोले गुटबन्दी मुर्दावाद भनौँ’ ओलीले भन्नुभयो र थप्नुभयो, पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन । 

‘हिजो नेकपा (एमाले) लाई बिभाजन गर्नेहरु कहाँबाट सञ्चालित भएका हुन् भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, उनीहरुले गलत मनसायले पार्टी फुटाएर दक्षिणपन्थीलाई बुझाएका हुन् ।

पार्टीका अधिवेशनतर्फ संकेत गर्दै आकांक्षीहरु धेरै भए पनि सकेसम्म निर्वाचनभन्दा सहमतिमै नेतृत्व छान्न आग्रह गर्नुभयो।

 ‘लडे पनि एउटाबाहेक अरूको सिङ भाँचिने नै हो, जित्नेको पनि सिङ हल्लिएर रहने हो, त्यसैले धैर्यता गरौँ, पालो सबैको आउँछ, धैर्यता र समझदारी बनाउन सिक्नुस् ।्तथापि उपाय नलागे निर्वाचनका लागि ढिलाइ पनि नगर्नुहोस्’ ओलीले भन्नुभयो–‘म १४ वर्ष जेल बस्दा केही ढिलो भएन, एक कार्यकाल पर्खनुस्, अर्कोमा पालो आइहाल्छ। कथं भइएन भने पनि अर्को ठाउँमा अवसर पाइन्छ र पार्टीले कुनै दिन मूल्यांकन गर्छ ।’ 

अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आड भरोसा नदिइएको प्रष्ट पार्दै ‘माथिबाट कसैको कसैलाई समर्थन वा विरोध हुँदैन । जसले सहमतिमा टुङ्गाउँछ वा जसले बढी भोट ल्याउँछ र उसैलाई समर्थन हुन्छ, तर जित्नेले कुनै घमन्ड गर्न पाउनेछैन ।’ उहाँले भन्नुभयो ।

‘कपिलवस्तुले उल्लेख्य प्रगति गरेका कारणले देशमै ८ मन्त्री हुँदा १ पाएको छ, राष्ट्रिय सभाको उपाध्यक्ष यहीबाट हुनुहुन्छ र प्रदेशमा पनि मन्त्री हुनुहुन्छ,’ उहाँले भन्नुभयो। लुम्बिनीजस्तो प्रदेशमा एमालेको एकल बहुमत नभएर अनेक थरी शिला खोज्नुपरेको स्पष्ट गर्दै पार्टीलाई बलियो बनाउने गरी लाग्नुस्, ३ वटै तहमा स्पष्ट बहुमत ल्याउने मिसनमा जुट्नुहोस् ।’

उनले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेकोले अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने योजनामा साथ दिन आग्रह गर्नुभयो ।

’एमालेको काँधमा लोकतन्त्रको प्रवर्द्धन गर्ने, सुशासन कायम गर्नुकासाथै विकास र समृद्धिको जिम्मेवारी छ, उहाँले थप्नुभयो । तथापि यसका लागि एकल सरकार नभई सम्भव नहुने भएकोले तदनुसारको पार्टी निर्माण गर्न र राष्ट्रियताको रक्षाका लागि, पनि एमालेलाई बलियो बनाउनुपर्दछ भन्नुभयो। 

तीनै तहमा बहुमत बनाउन नसके विकास असम्भव छ, अहिलेको अवस्थामा त यति काम गरेका छौँ, बहुमत भए कति गर्थ्यौ होला ?’ ओलीले प्रश्न गर्नुभयो ।

अधिवेशन उद्घाटनमा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज खिमलाल भट्टराई, नेताहरू मङ्गलप्रसाद गुप्ता, बृजेश गुप्तालगायतले सम्बोधन गरेका थिए । दुई दिनसम्म चल्ने अधिवेशनमा ५५९ जना प्रतिनिधि रहेका छन् ।

बिजयनगरमा १५ शय्याको अस्पताल उद्‌घाटन

अध्यक्ष ओलीले आजै कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पतालको उद्‌घाटन गर्दै तराई मधेशका जनतालाई स्वास्थ्य लगायतका सेवा दिन सडक सञ्जालको विकास अपरिहार्य रहेको बताउनु भएको छ।

सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भएकोले उहाँले सबैभन्दा पहिला सडक सञ्जाल निर्माणमा जोड दिनु भएको हो । आजै उद्घाटन भएर्को  अस्पतालबाट सहजरूपमा स्वास्थ्य सेवा लिन सडककै आबश्यक पर्छ । 

तराई मधेशमा पूर्व पश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको शुरूवात आफ्नै कार्यकालमा गरिएको स्मरण गर्नुभयो । 

उहाँले कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न नौमुरे सिँचाइ योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो।

ु०६३ सालमा परराष्ट्रमन्त्री हुँदा आफैले कपिलवस्तुको सिँचाइ समस्या समाधानका लागि नौमुरे योजनाको प्रस्ताव भारतमा लगेको भएपनि अहिलेसम्म नवनेकोले यसलाई फेरि अगाडि बढाउन जरुरी छ, उहाँले भन्नुभयो ।  

कपिलवस्तु र सिङ्गो नेपालको विकासका लागि कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग गरी व्यावसायिक कृषिलाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले पर्यटन विकासका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोगलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने जोड दिनुभयो।

देशभरका ३ सय ९६ वटा अस्पताल एकै पटक शिलान्यास गरेको र त्यसमध्येका एउटा अस्पतालको आज उद्‌घाटन गर्न पाउँदा निकै खुसी लागेको ओलीको भनाइ थियो ।