uml logo

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको दोश्रो दिन समुह छलफल शुरू

image

 काठमाडौं,बैशाख ९ । हिजोदेखि शुरु भएको नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठकको दोश्रो दिन समूह छलफल शुरु भएको छ । ललितपुरको गोदावरीमा चलिरहेको वैठकमा छवटा प्रतिवेदनहरू प्रस्तुत गरिएको छ । 

हिजो अध्यक्ष केपी शर्मा ओलीले परिषद् बैठकको उद्घाटन गर्नुका साथै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

सो अवसरमा अध्यक्ष ओलीले नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने र निर्णायक शक्तिका माध्यमबाट देशमा शान्ति, स्थायित्व, सुशासन, राष्ट्रिय हित र स्वाभिमान कायमा गर्दै समृद्धि र समाजवादको आधार तयार गर्ने मुख्य अभिभारा पार्टीका सामु रहेको बताउनुभयो । 

प्रतिनिधि परिषद् बैठकले महाधिवेशन यताका करिब साढे दुई वर्षको वस्तुनिष्ठ समीक्षा गर्दै उपरोक्त अभिभार पूरा गर्न आगामी दिनमा गर्नुपर्ने कामबारे आवश्यक निर्देश दिने अध्यक्ष ओलीले बताउनुभयो । 

अध्यक्ष ओलीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यताका २९ महिना देश र र पार्टीका लागि अत्यन्तै चुनौतीपूर्ण र कष्टकर रहेको भनाइ राख्नुभयो । 

नेकपा (एमाले) विरुद्धको साझा गठबन्धन निक्कै चुनौतीपूर्ण रहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– घेराबन्दी, भ्रमपूर्ण प्रचार, आक्रमणका माध्यमबाट एमालेलाई समाप्त पार्ने षडयन्त्रलाई चिर्दै हामी आज तुलनात्मक रूपमा अनुकूल परिस्थितिमा आइपुगेका छौँ । 

यद्यपि आज पनि पार्टी र देशका सामुन्ने चुनौती रहेको उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन अराजकता र अवसरवादमाथि संगठनात्मक विजयको महाधिवेशन भएको बताउँदै पार्टी विभाजनको मनोविज्ञान चिर्न, क्रान्तिका कार्यक्रम र कार्यदिशालाई अद्यावधिक गर्न, पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन र अग्रगति दिन महाधिवेशन अत्यन्त सफल भएको विश्लेषण सुनाउनुभयो ।  

अध्यक्ष ओलीले निष्ठावान् र एकताबद्ध पार्टी आजको आवश्यकता रहेको बताउनुभयो । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटले पार्टीको आन्तरिक समस्या पत्ता लगाउन सहयोग गरेको उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले पुष्पलाल मध्यपहाडी लोकमार्गमा सञ्चालन गरिएको समृद्धिका लागि सङ्कल्प यात्राबाट लोकतन्त्रप्रतिको आस्थालाई अझ प्रगाढ बनाएको स्पष्ट पार्नुभयो । 

यसले पार्टी, नेता र जनता बीचको सम्बन्धलाई थप घनिष्ठ बनाएको बताउनुभयो । यस यात्राले जातीय तथा साम्प्रदायिक हिंसा भड्काउने षडयन्त्रलाई निष्क्रिय पारिदिएको उहाँले स्पष्ट पार्नुभयो ।

बैठकमा महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेशन प्रस्तुत गर्दै कुल मतदाताको छ प्रतिशत पार्टी सदस्य बनाउने योजना सफल पार्न सबै प्रदेशले मेहनत गर्नुपर्ने बताउनुभयो उहाँले पार्टी सदस्यहरूको प्रदेशस्तरीय तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

महासचिव शंकर पोखरेलले पार्टीले वर्तमान सत्ता समीकरणलाई आमनिर्वाचनसम्म लैजान चाहेको स्पष्ट गर्नुभयो । उहाँले असन्तुलित बनेको पराराष्ट्र नीतिलाई नयाँ सत्ता समीकरणबाट सही बाटोमा अघि बढाउने आधार तयार भएको उल्लेख गर्नुहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको मौलिक सांस्कृतिक आधारलाई कमजोर बनाउने प्रतिगामी, जातिवादी र धार्मिक अतिवादी प्रवृत्तिका विरुद्धमा पार्टीले निरन्तर खबरदारी गर्दै आएको बताउनुभयो । 

बैठकमा केन्द्रीय निकायहरू– सल्लाहकार परिषद्का अध्यक्ष अमृत कुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना आयोगका प्रतिवेदनहरू प्रस्तुत गर्नुभयो । 

बैठकमा नेकपा (एमाले) सरकारका रहेको समयमा गरिएका काम, जाजरकोट भूकम्पमा पीडितहरूको उद्धार, राहत तथा अस्थायी आवास निर्माणका गरिएको स्वयंसेवा र झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राको वृत्तचित्र प्रस्तुत गरिएको थियो । 

आज प्रतिवेदनहरू प्रस्तुत भई छलफलका लागि छवटा समूह विभाजन गरिएको छ । भोलि विहानदेखि परिषद् बैठकमा प्रस्तुत प्रतिवेदनहरूमाथि समूहमा छलफल हुने छ ।