uml logo

जेठभित्र (एमाले)का अधिवेशन गर्ने प्रदेश कमिटीको निर्णय, रुपन्देहीको जेठ १६ र १७ गते हुने

image

बुटवल । 

नेकपा (एमाले) का सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले स्थायित्वको पक्षमा रहेकोले प्रधानमन्त्रीका लागि अस्थिरताको राजनीति नगर्ने कुरा बताउनुभएको छ । नेकपा एमाले रुपन्देहीको विहीवार सम्पन्न वैठकलाई सम्वोधन गर्दे उहाँले सो कुरा बताउनु भएको हो । बैठकले जिल्ला अधिवेशन आगामी जेठ १६ र १७ गते गर्ने निर्णय गरेको छ। 

नेकपा (एमाले) लुम्विनीको सचिवालय वैठकले जेठ मसान्तभित्र सबै जिल्ला, पालिका, वडा र टोल अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको भोलिपल्टै रुपन्देही जिल्ला कमिटीले अधिवेशनको मिति तय गरेको हो । 

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा बसेको वैठक नेतृ अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा बोल्दै प्रमुख अतिथि अर्यालले परिवर्तित पछिल्लो राजनीतिक समीकरण र सरकारमा एमालेको सहभागिताबारे जानकारी गराउँदै यो सरकार एमालेले बनाएको हो र एमालेलेनै टिकाउने बताउनुभयो । उहाँले पार्टीको जिल्ला अधिवेशनले पार्टीलाई जीवन्त बनाउने बताउँदै अधिवेशन सफल बनाउन पार्टीका सबै कमिटी र सबै जनवर्गीय संगठन परिचालन गर्नुपर्ने बताउनुभयो ।  

जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीका अनुसार जिल्ला अधिवेशनमा सहभागी प्रतिनिधिहरुको संख्या लगायतका आवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ। 

बैठकमा पोलिटब्यूरो सदस्यहरु लिला गिरी, दलबहादुर राना तथा दधिराम न्यौपानेलगायतले बोल्दै जिल्ला अधिबेशन सम्पन्न गर्न तथा वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गरेर पार्टी कार्यकर्ता र सदस्यहरु परिचालन गर्न आग्रह गर्नुभयो ।

रोल्पा जिल्ला अधिवेशन चैत्र २९ र ३० गते, बर्दिया अधिवेशन वैशाख १४ र १५ गते तथा बाँके जिल्लाको अधिवेशन जेठ २ र ३ गते गर्ने निर्णय भइसकेका छन् । प्रदेश पार्टी अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार अधिवेशनको मिति तय गर्न बाँकी जिल्लाले अविलम्व वैठक वसेर मिति सार्वजनिक गर्नेछन् । 

बुधवार सम्पन्न सचिवालयको वैठकले चैत मसान्तभित्र सदस्यता नविकरण सम्पन्न गर्ने तथा नयाँ सदस्यता वितरण गर्दा परीक्षा लिएर मात्र दिने निर्णय गरेको छ ।