uml logo

नेपालमा सिक्किम घटना रोकेको सुवास नेम्वाङले होः एमाले उपाध्यक्ष ज्ञवाली

image

बुटवल । 

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा सिक्किमको घटना दोहोराउने खेललाई संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले रोकेको बताउनुभएको छ ।

नेकपा (एमाले) लुम्विनी प्रदेश तथा रूपन्देही जिल्ला कमिटीले मंगलबार बुटवलमा आयोजना गरेको नेपालको संविधान निर्माणमा सुभासचन्द्र नेम्वाङ विषयक विचार गोष्ठीमा बोल्दै उपाध्यक्ष ज्ञवालीले यस्तो खेलको पूर्वसूचना पाएर त्यसलाई छल्दै नेम्वाङको पहलमा नेपालको संविधान जारी हुन सकेको बताउनुभयो । ‘संविधान सभाको चुनाव नै कसरी हुन्छ भन्ने थाहा नभएको अवस्थामा उहाँबाटै राजनीतिक दलहरूले धेरै कुरा थाहा पाएको वताउँदै ड्राफ्ट भइसकेको संविधान जारी नगर्न दवाव थियो तैपनि सवै दलहरूलाई भेटेर संविधान जारी नभए मुलुक नरहन सक्छ भनेपछि त्यो गंभीरतालाई आत्मसात गर्दै संविधान जारी भएको स्मरण पनि उहाँले गर्नुभयो ।

संविधान जारी भएपछि यसको कार्यान्वयन होला कि नहोला भन्ने चिन्ता उहाँमा थियो । उहाँ भन्नुहुन्थ्यो– यो आफै लागू हुन्न । यसको मर्म र भावनामा टेकेर कसरी हामीले बुझ्छौ र लागू गर्ने काममा कति इमान्दार हुन सक्छौं ?

नेता ज्ञवालीले नेम्वाङको निधनले आज सिंगै देश शोकमग्न भएको बताउँदै उहाँ एमालेको मात्र होइन, साझा नेता हुनुहुन्थ्यो भन्नुभयो । धनी र सुशिक्षित परिवारमा जन्मेको, कम्युनिष्ट आचरण भएको, चित्त नवुझेपनि मिठो शैलीमा भन्नसक्ने क्षमता भएकाले नै साझा हुन सकेको तथ्य प्रस्तुत गर्नुभयो । 

नेकपा (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले भारतीय दवाव, युरोपियन युनियनको चलखेलका बाबजुद निकै चलाखीपूर्ण तरिकाले सबै दलसँग समन्वय गरेर सुवास नेम्वाङले संविधान जारी गर्न सकेको बताउनुभयो । 

‘त्यतिवेला धेरै जटिलता थिए, परिवर्तनलाई सस्थागत गर्ने, जनताको तहमा अधिकार ल्याउने कुरा सामान्य थिएन । नेपालको संविधान कुन बाटोमा लैजाने ? यो प्रश्न पनि थियो । जसको समाधान संविधान सभाबाट उहाँकै पहलमा भयो ।’ अर्यालले भन्नुभयो –नेपालमा अस्थिरता सृजना गरेर स्वार्थ लिन खोज्नेहरू थिए । युरोपियनको चलखेल थियो । भारतका विदेश सचिवको दौडधुप थियो । ती सवैलाई निस्तेज बनाएर संविधान जारी गर्नु सामान्य विषय थिएन । 

 हरेक प्रतिकुलतालाई अनुकुलतामा बदलेर सचेतनापूर्वक चालिएका कदमले संविधान जारी हुन सक्यो, साथै नेम्वाङसँग सबैलाई मिलाउनसक्ने क्षमता पनि थियो, उहाँले स्मरण गर्नुभयो । 

अरू कोही पात्र भएको भए शायद संविधान जारी हुने थिएन कि ? आफुलाई यस्तो लाग्छ, अर्यालको भनाई थियो । ब्यक्ति ब्यक्तिलाई राखेर कुरा गर्नसक्ने, सवैको साझा दाई वन्न सक्ने, असहज अवस्थालाई सहज बनाउन सक्ने, सवैको अभिभावकत्व लिन सक्ने ब्यक्ति सुभास हो, वास्तवमा यस्तो मान्छे के मुलुकले फेरि पाउला ? अर्यालको प्रश्न थियो । 

एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता तथा रुपन्देही अध्यक्ष तेजेन्द्र केसीको संचालनमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिकुल्ला खाँले शालीन, अविचलित, धैर्यताका साथ काम गर्नसक्ने व्यक्तिको निधनले देशलाई अपूरणीय क्षति भएको र उहाँको अभाव मुलुकलाई खट्किरहने बताउनुभयो । त्यतिवेला ‘संविधान जारी गर्नु चानेचुने कुरा थिएन भन्दै सो अवस्थामा जिम्मेवारीपूर्वक जिम्मा लिएर अनेक गाँठा फुकाउन सक्नु, सवैलाई जोड्न सक्नु सामान्य विषय हैन, खाँले भन्नुभयो । उहाँ संविधानविद् मात्र हैन राजनीतिज्ञ पनि हो । मुलुक कता लैजाने भन्ने स्पष्ट दृष्टिकोण पनि थियो, उहाँले थप्नुभयो ।

राप्रपाका महामन्त्री ताहिर अलीले नेपाली राजनीतिका समन्वयकर्ता, सरल र मिठास बोलीका प्रतिमूर्ति र संविधानविद्को निधनले देशलाई अपुरणीय क्षति भएको बताउँदै उहाँका स्वभाव हामीले पनि जीवनमा लागू गरेर अगाडि बढ्नुपर्ने वताउनु भयो । 

नेपाली कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्यालले समकालीन राजनीतिका स्मरणयोग्य र विवादरहित ब्यक्तिको असामयिक निधनले नेपाली राजनीतिले ठूलो क्षति भोग्नुपरेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका रुपन्देही उपाध्यक्ष टानबहादुर केसीले कम्युनिष्ट आचरणमा रहेका सुवास सरल, निष्कलंक भएकैले संविधान निर्माणमा अत्यन्तै ठूलो भूमिका खेल्न सकेको र उहाँको योगदान सधैभरी स्मरणयोग्य रहने बताउनुभयो ।