uml logo

नेकपा(एमाले) लुम्बिनीको पहिलो ऐतिहासिक अधिवेशनबाट पारित समसामयिक प्रस्तावहरु

image

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशको पहिलो ऐतिहासिक अधिवेशन २०८० साल भदौ १६ गते पार्टीका श्रद्घेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको प्रमुख आतिथ्य, उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेल, महासचिव कमरेड शंकर पोख्रेल, उपमहासचिव कमरेड प्रदीप ज्ञवाली एवं सचिव कमरेडहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र सचिव तथा इन्चार्ज कमरेड पद्मा अर्याल सहित पार्टीका स्थायी कमिटी तथा पोलिटब्युरो र केन्द्रीय सदस्य कमरेडहरुको आतिथ्यतामा भब्यतापूर्वक सम्पन्न भयो । बुटवलस्थित अन्तर्राराष्ट्रिय सभाहलमा भदौ १६ देखि २० गतेसम्म सम्पन्न पहिलो ऐतिहासिक अधिवेशनबाट पारित समसामयिक प्रस्तावहरु यसप्रकार रहेका छन् ः

१. यो अधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरणको आन्दोलन र क्रान्तिमा संलग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछ ।

२. लुम्विनी कम्युनिस्ट आन्दोलनको उर्वरभूमि हो । यस भूमिमा जन्मेर कम्युनिष्ट आन्दोलनलाई उत्कर्षमा पुर्याउन अविष्मरणीय योगदान पुर्याउनुहुने कम्युनिष्ट आन्दोलनका धरोहर कमरेड जीवराज आश्रित, क.नेत्रलाल अभागी, क.एकदेव ज्ञवाली, क.सिद्घिनाथ ज्ञवाली, क. केशरमणि पोख्रेल, क. माधव ज्ञवाली, क.रामनाथ ढकाल, क. केशव ज्ञवाली, क. मोहनलाल आचार्य, क.भीमनारायण थारु, क.ईश्वरी पाण्डे, क.टोमलाल पाण्डे, क.दीपवहादुर राना, क.हरि ज्ञवाली, क.श्रीमणि आचार्य, क.मेघवहादुर बीसी, क.बद्री कोइराला, क. शिवराज गौतम, क.अशोक चौधरी, क.सतमान पुन, क. बुद्घवहादुर जीसी, क.बीरवहादुर केसी लगायतका अमर योद्घाहरुप्रति यो अधिवेशन उच्च सम्मान प्रकट गर्दछ । 

३. यो अधिवेशन वर्तमान जनविरोधी गठबन्धन सरकारले बढाइरहेको भ्रष्टाचार, कुशासन, महंगीविरुद्ध र जनजीविकाको सवालमा सिङ्गो पार्टी पङ्क्ति जनतासँग एकाकार भएर प्रतिवाद गर्ने सङ्कल्प गर्दछ । साथै सुनतस्करी प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास लगायत देशकै छवि धुमिल बनाउने तमाम प्रकरणहरूको छानविन गरी दोषीहरूलाई कार्वाही गर्न जोडदार माग गर्दछ ।  

४. यस प्रदेशमा रहेका भूमिहीन, सुकुम्बासी र श्रमजीवी मजदुरहरूको समस्या समाधान गर्न तथा जनजीवनलाई सहज बनाउन यो अधिवेशन सरकार समक्ष जोडदार माग गर्दछ ।  

५. गठबन्धन सरकारका गलत अर्थ नीतिले वित्तीय क्षेत्र (बैंक, सहकारी लगायत), उद्योग व्यवसाय, पर्यटन क्षेत्र र रोजगारीका क्षेत्र धराशयी हुँदै गएका छन् । युवाहरुले नेपालमा भविष्य देख्न छाडेका छन् । अतः यो सङ्कटलाई समाधान गर्न उचित कर्जा एवं मौद्रिक नीति र आर्थिक क्षेत्रमा सुधारका कदम अविलम्ब थालनी गरी अर्थतन्त्रलाई सहज वनाउन यो अधिवेशन सरकार समक्ष जोडदार माग गर्दछ । 

६. सरकारी निष्क्रियता र बेवास्ताका कारण भैरहवा अन्तरर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन । विमानस्थल बनेर पनि सरकारले यसको सञ्चालनका लागि गंभीरता नदेखाउनु चिन्ताको विषय हो । सरकारी निष्क्रयताको यो अधिवेशन निन्दा गर्दछ साथै तत्काल यसप्रति सरकारको ध्यान आकर्षण गर्दछ । साथै नेपालगंज र तुलसीपुर विमानस्थलको स्तरोन्नति गर्न पनि यो अधिवेशन जोडदार माग गर्दछ ।

७. बुटवलको अन्तर्राष्ट्रिय सभागृह सञ्चालका लागि सरकारले देखाएको उदासीनताको यो अधिवेशन विरोध गर्दछ र यसको यथाशीघ्र सञ्चालनको मोडालिटी वनाई कार्यान्वयनमा ल्याउन यो अधिवेशन जोडदार माग गर्दछ ।

८. विगतमा नेकपा (एमाले) नेतृत्वको संघीय तथा प्रादेशिक सरकारले अघि वढाएका विभिन्न गौरवका आयोजनाहरुलाई गठवन्धन सरकारले बेवास्ता गर्नु, पर्याप्त वजेट विनियोजन नगर्नु, कतिपय आयोजना कमिशनको कारणले अलपत्र पार्नुले ‘समृद्घ लुम्विनी, खुशी लुम्बिनीवासी’को भविष्यमाथि चरम खेलवाड भइरहेकोप्रति यो अधिवेशन गंभीर आपत्ति प्रकट गर्दछ र तपसिलमा उल्लिखित आयोजनाहरुप्रति तत्काल सरकारको ध्यान आकर्षित गर्न चाहन्छ । 

 यो अधिवेशन मदन भण्डारी राष्ट्रिय राजमार्गको पाल्पा, अर्घाखाँची, गु्ल्मी, प्युठान, रोल्पा र दाङ खण्डको ठेक्का लागिसकेको कार्य शीघ्र सम्पन्न गर्न तथा वातावरणीय प्रभाव मूल्यांकन (EIA) भइसकेको खण्डको ठेक्का छिटोभन्दा छिटो लगाएर निर्माण कार्य अघि वढाउन जोडदार माग गर्दछ ।

 जिवराज आश्रित कृष्णसेन मार्ग रामपुर– कपुरकोट, पालिका पहुँच मार्ग र रणनीतिक महत्वका अन्य सडकहरुलाई पर्याप्त वजेट विनियोजन नगरी अलपत्र पारिएकोमा यो अधिवेशनले सरकारको ध्यानाकर्षण गर्दछ ।  

 लुम्विनी र राप्ती प्रादेशिक अस्पताललाई स्तरोन्नति गर्दै विशिष्टीकृत सेवा दिने गरी गुरु योजना र डीपीआर बनेपनि लुम्विनी प्रादेशिक अस्पतालको टेण्डर कमिशनका कारण खारेज भएपछि पुःन सुरु नभएको र प्राथमिकतामा राखिएको राप्ती प्रादेशिक अस्पतालको कार्यान्वयनका लागि डीपीआर प्रक्रिया नै शुरु भएको छैन । संघीय सरकार मातहत रहेको भेरी अस्पताल नेपालगंजको स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि वढाइयोस् भनी यो अधिवेशनको गंभीर ध्यान आकर्षित भएको छ । जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा हामी तत्काल ध्यान जाओस् भनी जोडदार माग गर्दछौं काम हुन नसकेकोमा यो अधिवेशनले विशेष जोड 

 प्रदेशको समृद्घि पर्यटन प्रवद्र्घनबाट गर्न सकिन्छ भनी अघि वढाइएका पर्यटकीय पूर्वाधारहरु रामापिथेकस जुलोजिकल पार्क, पाल्पाको श्रीनगर र नुवाकोटका साँस्कृतिक डवली, बाँकेको मानसरोवर प्रतीक पार्क, संघीय सरकारमार्फत् अघि वढाइएका सालझण्डी ढोरपाटन मार्ग, लुम्विनी–लमही–तुलसीपुर–सुर्खेत हुँदै रारा पर्यटन मार्गलगायत दुई दर्जन सडक अलपत्र अवस्थामा रहेकोप्रति यो अधिवेशन गंभीर आपत्ति प्रकट गर्दै दीर्घकालिन प्रभाव पार्ने दुई दर्जन सडक तथा अन्य यस्ता आयोजनाहरुप्रति सरकारको ध्यान आकर्षित गर्दछौं ।

 सिद्घार्थ राजमार्गको बुटवल पोखरा सडक खण्डको स्रोत सुनिश्चित भएपनि यसप्रति सरकारले तदारुकता नदेखाउनु र पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल कोहलपुर खण्डको कार्यान्वयन प्रक्रियामा ढिलाई भएको छ । रोल्पाको माडी दाङ डाइभर्सन आयोजनाप्रति सरकारले बेवास्ता गरेको छ । 

 चालु अवस्थामा रहेको लुम्विनी गुरु योजना पूरा गर्न आवश्यक वजेट विनियोजन भएपनि त्यसलाई तदारुकतापूर्वक कार्यान्वयन गर्ने काममा ढिलाई हुनुका साथै तिलौराकोट, रामग्राम र देवदहलाई समेटेर वृहत् लुम्विनी गुरुयोजना वनाई कार्यान्वयनमा ल्याउन यो अधिवेशन जोडदार माग गर्दछ ।  

 तिलोत्तमाको बुटवल मेडिकल कलेजको डीपीआर तयार भएर पनि गठवन्धन सरकारले अगाडि बढाउन आनाकानी गरिरहेको छ । यो अधिवेशन यसमा भएको ढिलाईप्रति आपत्ति प्रकट गर्दै अविलम्व कार्यान्वयनमा लैजान जोडदार माग गर्दछौं ।  

९. लम्पीस्कीन रोगका कारण हजारौं चौपायाहरूको मृत्युले किसानको अवस्था अत्यन्तै बेहाल भएपनि यसको रोकथामप्रति सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । यो अधिवेशन किसानमारा महामारीको रुप लिएको यो रोगको प्रभावकारी उपचारमा ध्यान दिन सरकारसँग जोडदार माग गर्दछ । साथै किसानहरूलाई समयमै मल बीउ उपलब्ध गराउन ध्यानाकर्षण गर्दछ । 

१०. राष्ट्रिय निकुञ्जहरुका कारण यस प्रदेशका बाँके वर्दियामा मानव बन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । किसानले मेहनतपूर्वक गरेको खेती स्याहार्न सकिरहेका छैनन् । बर्षेनी मानिसको अनाहकमा ज्यान गइरहेको छ । यी र यस्ता घटनाप्रति यो अधिवेशन गंभीर चिन्ता प्रकट गर्दछ । साथै, यस समस्याको समाधानका लागि मानव अधिकार मैत्री र संघीयता अनुकुल कानुन निर्माण गरेर दीर्घकालिन समस्याको समाधानका लागि यथाशीघ्र पहल होस् भनी संघीय तथा प्रदेश सरकारसंग जोडदार माग गर्दछ । 

११. लुम्विनी प्रदेशको आर्थिक निर्भरता कृषिवाट गर्न सकिने विश्वासका साथ विगतमा कृषिसम्वन्धी दर्जनौं परियोजनाहरु सञ्चालनमा आएपनि गठवन्धन सरकारले तिनको निरन्तरता नदिएको, स्वविवेकीय र स्वार्थप्रेरित टुक्रे योजनाहरुलाई प्राथमिकतामा राखेर दीर्घकालिन प्रभाव पार्ने आयोजनाप्रति बेवास्ता गरिएकोप्रति यो अधिवेशन गंभीर आपत्ति प्रकट गर्दछ । साथै निर्वाहमुखी अर्थतन्त्रलाई व्यावसायीकरण गर्दै कृषिलाई औद्योगिकरण गर्न, बनको दीगो व्यवस्थापनमार्फत् जडिवुटी खेती तथा निजी वनमार्फत् समृद्घ लुम्विनी बनाउने प्रचुर सम्भावना रहेपनि यसप्रति बेवास्ता गरिएको सन्दर्भमा यो अधिवेशन सरकारको ध्यान आकर्षण गर्दछ ।

१२. हालका दिनमा पूर्वी नेपालमा भइरहेका क्रियाकलापले सामाजिक सद्भाव विथोल्ने चिन्ता वढाएको छ । संसदले संविधानसम्मत ढंगले पारित गरेको विषयलाई लिएर शुरु भएको कथित आन्दोलनलाई सत्ताको नेतृत्व गर्ने प्रधानमन्त्रीवाटै गलत तरिकाले उत्तेजित पार्ने काम गरेर बलेको आगोमा घीउ थप्ने काम भएको छ । हालै छिमेकी मुलुकमा भएका घटनाबाट शिक्षा लिनुपर्नेमा त्यसो गरेको देखिएको छैन । यो अधिवेशन यस प्रकारका अशान्ति र विद्घेषले मुलुकलाई गृहयुद्घतर्फ धकेल्ने भएकोले सरकारले सावधानीपूर्वक सद्भाव कायम गर्ने वातावरण वनाओस् भनी हामी जोडदार माग गर्दछौं ।

१३. नेकपा (एमाले) लाई विभाजन गर्ने कुत्सित मनशायका साथ ल्याइएको अध्यादेश, संविधानको अपव्याख्या र संवैधानिक अङ्गहरुका कतिपय मर्यादाबाहिरका काम र निर्णय समेतका आधारमा नेकपा (एमाले) लाई विभाजन गराइएका कारण कैयौं नेता कार्यकर्ताहरु भ्रमवस विभाजनको पक्षमा लागेर पार्टीलाई कमजोर वनाउन लाग्ने सम्पूर्ण नेता कार्यकर्ताहरुलाई पुनः पार्टीमा फर्केर नेकपा (एमाले) लाई सुदृढ गर्ने र एकताबद्ध नेकपा (एमाले) को नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल पार्ने अभियानमा योगदान दिन यो अधिवेशन हार्दिक अपिल गर्दछ ।

१४. हालै छिमेकी मुलुक चीनले प्रकाशन गरेको नक्सामा हाम्रो देशको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा लाई भारतको नक्सामा देखाइएकोप्रति यो अधिवेशन घोर आपत्ति प्रकट गर्दै यसमा नेपाल सरकारले कुटनीतिक तवरबाट सच्चाउनका लागि पहल गरोस् भनी जोडदार माग गर्दछौं । 

१५. विगत डेढ वर्षदेखि रुस र युक्रेनका वीचमा चलिरहेको भिषण युद्घले अपार धनजनको क्षति हुनुका साथै यसका दुष्परिणामहरु विश्वभर देखिइरहेका छन् । विश्वका विभिन्न देशमा अशान्ति, गृहयुद्घ र छिमेकी मुलुक भारतमा जातीय सद्भाव विथोलिएर अशान्ति मच्चिएको छ । यो अधिवेशन यस्ता सवै प्रकारका अशान्ति,द्घन्द्घ, विद्घेष आदिको अन्त्यका लागि विश्व समुदायसंग जोडदार माग गर्दछौं ।

१६. मुलुक संघीय संरचनामा अग्रसर भइसकेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जीवनमा पहिलोपटक लुम्विनीले प्रथम ऐतिहासिक अधिवेशन गर्ने सुअवसर प्राप्त गरेको छ । लुम्बिनी प्रदेशको यो पहिलो ऐतिहासिक अधिवेशनमा उपस्थित भई यो अधिवेशनको गरिमा र महत्वलाई आत्मसात गरिदिनुभएकोमा पार्टीका श्रद्घेय अध्यक्ष कमरेड केपी शर्मा ओली, उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेल, महासचिव कमरेड शंकर पोख्रेल, उपमहासचिव कमरेड प्रदीप ज्ञवाली एवं सचिव कमरेडहरु गोकर्ण विष्ट, छविलाल बिश्वकर्मा, इन्चार्ज तथा सचिव कमरेड पद्मा अर्याल सहित पार्टीका स्थायी कमिटी तथा पोलिटब्युरो र केन्द्रीय सदस्य तथा केन्द्रीय निकायका कमरेडहरुप्रति यो अधिवेशन हार्दिक आभार प्रकट गर्दछ । साथै यो अधिवेशनलाई सफल बनाउन अहोरात्र खट्ने सवै प्रतिनिधि, स्वयंसेवक, निर्वाचन समिति, उद्घाटन कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदाय, सञ्चारकर्मी र सुरक्षाकर्मी लगायतलाई यो अधिवेशन हार्दिक धन्यवाद प्रकट गर्दछ ।