uml logo

एमाले रुपन्देहीको १० औं अधिवेशनद्वारा २२ बुँदे समसामयिक प्रस्ताव पारित

image

बुटवल । नेकपा (एमाले) रुपन्देहीको १० अधिवेशनले विभिन्न विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै २२ बुँदे समसामयिक प्रस्ताव पास गरेको छ । अधिवेशनले यो प्रस्ताव तयार गर्नका लागि नेकपा (एमाले) लुम्विनी प्रदेश कमिटी सदस्य एवं प्रचार तथा प्रसार विभाग प्रमुख डीआर घिमिरेको संयोजकत्वमा लुम्विनी प्रदेश कमिटी सदस्य मोहन चापागाई, केन्द्रीय प्रचार विभाग सदस्य दीपक ज्ञवाली, रुपन्देही जिल्ला प्रचार विभागका उपप्रमुख अमृत गिरी सदस्य रहेको समसामयिक प्रस्ताव मस्यौदा कमिटी गरेको थियो । 

जेठ २३, २४ र २५ सम्पन्न अधिवेशनमा पार्टीका उपाध्यक्ष रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्य, पार्टीका सचिव रुपन्देही–१ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, पार्टीका सचिव, लुम्विनी प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री पद्मा अर्याल, पोलिटब्यूरो सदस्य तथा लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरी, पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज दलवहादुर राना, पोलिटव्युरो सदस्यद्वय दधिराम न्यौपाने र खिमलाल भट्टराई, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल तथा पार्टीका केन्द्रीय सदस्यहरुको आतिथ्यतामा भब्यतापूर्वक सम्पन्न भएको थियो । भैरहवास्थित सिद्वार्थ भिलासामा सम्पन्न अधिवेशनबाट पारित समसामयिक प्रस्तावहरु यसप्रकार रहेका छन्ः

१. यो अधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरणको आन्दोलन र क्रान्तिमा संलग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछ ।

२. हाम्रो पार्टी नेकपा (एमाले)का विरुद्व लगाइएका घोषित अघोषित घेरावन्दी र षडयन्त्रलाई तोडेर नेपाली राजनीतिले कोर्ष परिवर्तन गरी नया राजनीतिक समिकरण कायम भएपछि नागरिकमा एक प्रकारको आशा र विश्वास जागेको छ । तथापि नेकपा(एमाले) सम्मिलित यो सरकारका विरुद्व अनेक जालझेल, प्रपञ्च र षडयन्त्र जारी रहेको विदितै छ । यो अधिवेशन विकास, समृद्वि र जनजीविकाका सवाललाई सम्वोधन गर्दै सवै प्रकारका जालझेल र षडयन्त्रका विरुद्व उभिन सरकार सफल हुने विश्वास ब्यक्त गर्दछ । 

३. मुलुकको समृद्विका लागि राजनीतिक स्थायित्व अनिवार्य शर्त हो । नेकपा (एमाले) राजनीतिक स्थायित्वका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेकोले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै पार्टीको आन्तरिक एकतालाई थप सुदृढ गर्दै मिशन–८४ लाई सफल बनाउन यो अधिवेशन आम कार्यकर्ता र शुभेच्छुकमा हार्दिक अपिल गर्दछ । 

४. लुम्बिनी हाम्रो गौरव हो । यसको समुचित विकास हुँदा विश्वका वौद्ध तथा अन्य धर्मावलम्वीसमेत आकर्षित भई पर्यटनको विकास गर्न सकिने प्रचुर सम्भावना छ । पूर्वीय दर्शन, सस्कृति, सभ्यता र ज्ञान तथा विश्वकै महत्वपूर्ण धार्मिक साँस्कृतिक केन्द्र लुम्विनीको ४७ वर्षदेखिको गुरुयोजना पूरा हुन नसक्नु विडम्वना र लाजमर्दो विषय हो । यो अधिवेशन लुम्विनीको गुरुयोजना यथाशीघ्र पूरा गर्न, बृहत्तर लुम्बिनी गुरुयोजनालाई अंगाडि बढाउन तथा पर्यटनका पूर्वाधार तयार गर्न जोडदार माग गर्दछ ।

५. सरकारी निष्क्रियता र बेवास्ताका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताकासाथ सञ्चालन हुन सकेको छैन । विमानस्थल बनेर पनि सरकारले यसको सञ्चालनका लागि तदारुकता नदेखाउनु गम्भीर चिन्ताको विषय हो । बुटवलको अन्तर्राष्ट्रिय सभागृह सञ्चालका लागि पनि तदारुकता देखाइएको छैन । यस्ता काममा देखिएको सरकारी निष्क्रयताको यो अधिवेशन निन्दा गर्दै यथाशीघ्र सञ्चालनको मोडालिटी वनाई कार्यान्वयनमा ल्याउन यो अधिवेशन जोडदार माग गर्दछ । 

६. यस जिल्लामा रहेका भूमिहीन, सुकुम्बासी र श्रमजीवी मजदुरहरूको समस्या समाधान गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई कडाईपूर्वक कार्यान्वयन गर्न, समयानुकुल श्रमिकको न्यूनतम ज्याला वृद्वि गर्न यो अधिवेशन सरकार समक्ष जोडदार माग गर्दछ ।  

७. हरेक वर्ष किसानले मलखाद नपाएर खेती लगाउने समयमा छटपटिनुपर्ने अवस्था आउनु नियतिजस्तै भएको छ । भूमिको उत्पादकत्व वढाउन, खाद्य सम्प्रभुताको सुनिश्चित गर्न तथा जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्न पनि जैविक मललाई सर्वसुलभ वनाउन अत्यावश्यक रहेकोतर्फ यो अधिवेशन सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै किसानलाई सर्वसुलभ तरिकाले मलखाद तथा विउविजनको व्यवस्था गर्न हार्दिक अपील गर्दछ ।

८.समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्नका लागि औद्योगिक क्षेत्रको विस्तार तथा विकास, भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्ण क्षमतामा सञ्चालन गर्न, एकीकृत जाँच चौकी (आइसीपी) लाई उच्च प्राथमिकता दिन, मोतीपुर औद्योगिक करिडोरको कार्य तत्काल अघि बढाउन तथा उद्योगमैत्री वातावरण सिर्जना गर्न यो सम्मेलन जोडदार माग गर्दछ । 

९. हाल अर्थतन्त्रमा देखिएको संकटपूर्ण अवस्थाका कारण आमनागरिकमा निरासा उत्पन्न हुनुका साथै युवा पलायनको डरलाग्दो अवस्था सृजना भएको छ । युवाहरुले नेपालमा भविष्य देख्न छाडेका छन् । उद्योग व्यवसाय, पर्यटन क्षेत्र र रोजगारीका क्षेत्र धराशयी हुँदै गएका छन् । अतः यो सङ्कटलाई समाधान गर्न र आर्थिक क्षेत्रमा सुधारका कदम अविलम्ब थालनी गरी अर्थतन्त्रलाई सहज वनाउन, स्वदेशी उत्पादनलाई उच्च प्राथमिकता दिन, स्वदेशी वस्तुको प्रयोगमा जोड दिन, कृषि उपजमा आधारित साना तथा मझौला उद्योगको स्थापना गरी ब्यापक रोजगारी सिर्जना गर्न र पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रात्रीकालिन वजार सञ्चालन गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।  

१०. बुटवलमा निर्माणाधीन अवस्थामा रहेको कृषि उपज केन्द्रको काममा ढिलाई तथा वेवास्ता भइरहेको छ । यस केन्द्रले निर्वाहमुखी कृषि अर्थतन्त्रलाई व्यावसायीकरण गर्दै कृषिलाई औद्योगिकरण गर्न र नेपाली उत्पादनलाई निर्यात गर्नसमेत सहयोग पुराउने भएकोले यसको कार्यान्वयनमा तत्काल ध्यान जाओस् भनी यो अधिवेशन सरकारको ध्यानाकर्षण गर्दछ ।

११. बुटवल धागो कारखाना लगायत रुग्ण उद्योगहरुको पूर्ण सञ्चालनका लागि सरकारले ठोस र सार्थक पहल गरी यस्ता उद्योगहरु चल्ने वातावरण बनाउन यो अधिवेशन जोडदार माग गर्दछ । 

१२. तिलोत्तमाको बुटवल मेडिकल कलेजको डीपीआर तयार भएर पनि सरकारले तदारुकताका साथ अगाडि बढाउन सकेकोे छैन । यो अधिवेशन यसमा भएको ढिलाईप्रति आपत्ति प्रकट गर्दै अविलम्व कार्यान्वयनमा लैजान जोडदार माग गर्दछ ।  

१३. रूपन्देहीलगायत छिमेकी जिल्लामा व्यावसायिक कृषि प्रवद्र्वन, पर्यटन र ऊर्जा विकासका लागि कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको काम अविलम्ब सुरु गरियोस् भनी यो अधिवेशन जोडदार माग गर्दछ ।

१४. रुपन्देहीको जीवनरेखा मानिएको तिनाउ दानव करिडोरलाई बिभिन्न समयका सरकारले बेवास्ता गर्ने, वजेट विनियोजन नगर्ने, कामलाई निरन्तरता नदिने गरिएकोप्रति यो अधिवेशन निन्दा र भ्रत्र्सना गर्दछ । साथै यस आयोजनाको लागि आवश्यक बजेट यथाशीघ्र विनियोजन गरी आयोजनालाई पूर्णता दिन यो अधिवेशन जोडदार माग गर्दछ ।

१५. पूर्व पश्चिम राजमार्गको बुटवल–गैडाकोट खण्ड, सिद्घार्थ राजमार्गको वेलहिया–गोलपार्क व्यापारिक मार्ग, बुटवल–पोखरा सडक खण्ड, दानव तथा तिनाउ नदीमा रहेका निर्माणाधीन पुल लगायत तमाम ठूला साना आयोजनाहरु समयमा नबन्ने, स्रोत सुनिश्चित भएपनि विभिन्न वहानामा ढिलाई हुने र जनताले सास्ती ब्यहोर्ने अवस्था रहेकोप्रति यो अधिवेशन गम्भीर आपत्ति प्रकट गर्दछ साथै कुनै पनि वहानामा यस प्रकारका लापरवाही तथा ढिलासुस्ती नगरियोस् भनी यो अधिवेशन जोडदार माग गर्दछ ।

१६.भैरहवामा रहेको जिल्ला कारागारलाई सहरको मध्यभागबाट वाहिर स्थानान्तरण गरी फराकिलो जग्गामा सुधारगृहको रुपमा निर्माण गर्न यो अधिवेशन माग गर्दछ ।

१७. सहकारीका सम्वन्धमा विभिन्न प्रश्न उठिरहेको सन्दर्भमा केही समय यता यस जिल्लामा कार्यालय रहेका कतिपय सहकारीहरुले वचत रकम अपचलन गरी वचतकर्ताहरुको विचल्ली वनाइरहे पनि उनीहरुमाथि कारवाही हुन सकिरहेको छैन । रुपन्देही जिल्लामा सहकारीवाहेक मिटर ब्याजीहरुको पनि दवदवा भइरहेको छ । यो अधिवेशन आरोपित व्यक्ति तथा सस्थामाथि छानविन गरी हिनाविना गरेको रकम फिर्ता गर्न र गलत कार्य गर्नेलाई कारवाही गर्न जोडदार माग गर्दछ । 

१८. भैरहवा–धकधई क्षेत्रलाई नयाँ औद्योगिक करिडोरको रुपमा विकास गर्न, रोहिणी सभ्यताको अनुसन्धानलाई प्राथमिकता दिन, नेपाल–भारत सिमावर्ती क्षेत्र वेलहियाअन्तर्गत् दशगजा क्षेत्रको सुरक्षा प्रवन्धलाई मजवुत वनाउन, मर्चवार क्षेत्रलाई कृषिको हव वनाउन मर्चवार लिफ्ट सिंचाई आयोजना सुचारु गर्न र वेलवास–वेथरी–मर्चवार सडक आयोजना यथाशीघ्र सम्पन्न गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।

१९. तीव्र रुपमा विकास भइरहेको विश्व परिस्थिति, वित्तीय व्यवस्था र भूराजनीतिमा आएका परिवर्तनले हामीलाई पनि प्रभावित गरेको छ । हमास लडाकुहरुले इजरायलमाथि गरेको साङ्घातिक आक्रमणमा हजारौं इजरायली मारिनुका साथै कैयौं जना वन्धक बनाइनेजस्ता घटना मानव इतिहासका लागि कलंक हुन् । हामी यस प्रकारका गैरमानवीय घटनाको निन्दा र भ्रत्सना गर्दै रुस–युक्रेन युद्वको यथाशीघ्र अन्त्यका लागि जोडदार माग गर्दछौं ।

२०.हालै सरकारले ल्याएको नीति तथा कार्यक्रममा किसानले प्रयोगमा ल्याउने हरेक वस्तुमा १३ प्रतिशत भ्याट थप गरिएको छ । दुग्ध किसानले दुधको मूल्य नपाएर करोडौं रुपैयाँ डुवेको छ । बिना विषादी परिक्षण छिमेकी मुलुकबाट खुला रुपमा आउने तरकारी तथा फलफुलका कारण नेपाली किसान मर्कामा परिरहेका छन् । यो अधिवेशन कृषि कर्ममा प्रयोग हुने वस्तुको भ्याट खारेज गर्न, दुग्ध किसानको रकम भुक्तान गर्ने ब्यवस्था मिलाउन र सिमा क्षेत्रमा विषादी परीक्षणलाई प्रभावकारी बनाउन अपिल गर्दछ ।

२१. रुस–युक्रेन युद्वका क्रममा रुसी सेनामा आवद्व नेपाली नागरिकको मृत्यु हुनु अत्यन्तै दुःखद र निन्दनीय घटना हो । यो अधिवेशन रुसी सेनामा आवद्व नेपालीहरुको जीवन रक्षार्थ नेपाल सरकारको प्रभावकारी कदम आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदै ज्यान गुमाएका नेपालीका पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गर्दछ ।

२२.दशौं जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु हुने प्रमुख अतिथि, केन्द्रीय नेतागण, केन्द्रीय निर्वाचन आयोग, अध्यक्ष मण्डल, विभिन्न उपकमिटीहरू, सहभागी प्रतिनिधि, स्वयंसेवक, पर्यवेक्षक, विभिन्न तह र तप्काका पार्टी कमिटी, जनसङ्गठन, सञ्चारकर्मी, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्योगी, व्यवसायीलगायत समूर्ण जनसमुदायलाई यो अधिवेशन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।