uml logo

विकल्पको नाममा देशलाई अस्थिरताको प्रयोगशाला बनाउन खोजिएको छः महासचिव पोख्रेल

image

प्युठान। नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले सामाजिक अराजकता फैलाएर मुलुकलाई कमजोर बनाउने प्रवृत्ति बढ्दै गएको बताउनुभएको छ ।

नेकपा (एमाले) प्युठानको दशौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता मच्चाएर जनतालाई निराश बनाउने काम भइरहेको बताउनुभयो । ‘समाजमा जसले अराजक कुरा गर्दछ त्यसका वरिपरि मानिसहरू झुम्मिने परिस्थिति बनिहरेको छ’, पोखरेलले भन्नुभयो ।

जसको सामाजिक जीवन सबैभन्दा विवादित छ त्यसैको पछाडि जनता लागेर मुलुक बन्न नसक्ने पोखरेलले बताउनुभयो । त्यो कुरा जनतालाई बुझाउन सक्नु पर्ने उहाँको धारणा छ ।

नेपाललाई नयाँ विकल्पको खोजिएका नाममा देशलाई अस्थिरताको प्रयोगशाला बनाउन खोजिएको पोखरेलले बताउनुभयो । जनताले आफ्नो संविधान आफै निर्माण गरेर संविधानतः सार्वभौमसत्ता सम्पन्न भएकाले अब नेपाली जनता राष्ट्रका निर्माता बन्नु पर्ने पोखरेलले बताउनुभयो ।

उहाँले नेकपा एमाले चुनौतीको बेलामा पनि जनताको लोकप्रिय पार्टी बनेको बताउनुभयो । प्युठानमा पुराना नेहरु एमालेको विपक्षमा लाग्दा पनि प्युठानी जनताले एमालेलाई प्रतिनिधि सभामा निर्वाचन जिताएर पठाएको भन्दै पोखरेलले धन्यवाद दिनुभयो । गठबन्धनको घेराबन्दीलाई तोडेर एमाले मुलुककै पहिलो पार्टी बनेको उहाँले बताउनुभयो ।

शक्ति सन्तुलनमा एमाले कमजोर भए पनि मुलुकको भविष्यका लागि समीकरण बनाएर अघि बढेको उहाँले बताउनुभयो । अहिले बनेको नयाँ समीकरण मिसन २०८४ सम्म लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । एमालेले आजको होइन भविष्य हेरेर नयाँ समीकरणलाई अघि बढाएको पोखरेलले स्पष्ट पार्नुभयो ।

मुलुकलाई थप बिग्रन नदिन गठबन्धन भत्काएर नयाँ समीकरण बनाइएको उहाँले प्रष्ट पार्नुभयो । मुलुकलाई सङ्कटबाट निकाल्न र ओरालो यात्राबाट रोक्न सकिन्छ कि भनेर गठबन्धन भत्काएको उहाँले बताउनुभयो । एमाले विरुद्धको मोर्चाबन्दी र घेराबन्दी भत्काउन पनि नयाँ समीकरण बनाउनु परेको पोखरेलले स्पष्ट पार्नुभयो ।

आफूलाई क्रान्तिकारी भन्ने मोहनविक्रम सिंहको पार्टी कांग्रेसको पुच्छर बनेर हिँडेको पोखरेलले बताउनुभयो । मोहनविक्रम सिंहकी पत्नीलाई कहिले प्रतिनिधि सभा सदस्य बनाउन र कहिले राष्ट्रिय सभा सदस्य बनाउनकै निम्ति उहाँको पार्टी कांग्रेसको पुच्छर बनेर हिँडेको उहाँले दाबी गर्नुभयो । ‘यो भन्दा अर्को पाखण्ड केही हुन सक्दछ ?’, उहाँले प्रश्न गर्नुभयो ।

पोखरेलले मसालका इमानदार कार्यकर्तालाई नेकपा एमालेमा आबद्ध हुन आह्वान गर्नुभयो । उहाँहरूको भावनाको नेतृत्व अब नेकपा एमालेले मात्र गर्न सक्ने उहाँले प्रष्ट पार्नुभयो ।

नेकपा एमाले देशको पहिलो राष्ट्रिय शक्ति भए पनि राष्ट्रिय आवश्यकता अनुसारको बलियो शक्ति अझै बन्न नसकेको उहाँले बताउनुभयो । त्यसैले एमालेले मिसन २०८४ भनिरहेको पोखरेलले बताउनुभयो ।