uml logo

प्रदेश कमिटी छाडेर जिल्ला कमिटीको नेतृत्वमा लिलामणि गौतम

image

बुटवल । 

नेकपा (एमाले) रुकुमपूर्वको नवौं अधिवेशनले लिलामणी गौतमको अध्यक्षतामा ७१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । चैत २९ र ३० गते आयोजना गरिएको अधिवेशनमा अध्यक्षको आकांक्षी धेरै भएपनि अन्तिममा गौतमको अध्यक्षतामा सर्वसम्मत नेतृत्व छानिएको हो । गौतम पार्टीको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । 

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढा, उपसचिवमा पशुपति खड्का र तेजकुमारी तुलाचनसहित ७१ सदस्यीय कमिटी सर्वसम्मत छानिएका हुन् । त्यसैगरी लेखा समितिको संयोजकमा चिन्तामणी दाहाल सचिवमा विजय शर्मासहित ७ सदस्यीय लेखासमिति पनि सर्वसम्मत निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष गौतमले सबैको भावनालाई समेटेर पार्टीलाई अगाडि बढाउने बताउनुभयो । उहाँले भुगोलमा काम गर्न, पार्टीमा बलियो बनाउन प्रदेश कमिटी छोडेर जिल्लामा आएको जानकारी दिनुभयो । ३६ वर्षका गौतम ०५६ सालमा अनेरास्ववियु प्राक कमिटीबाट राजनीतिमा लाग्नुभएको हो । ०५७ सालमा अनेरास्ववियुको प्राक अध्यक्ष, ०५८ मा अनेरास्ववियु रुकुम सदस्य, ५९ मा सचिव, र ६० मा जिल्ला अध्यक्ष ०६४ देखि ०६७ सम्म अनेरास्ववियु केन्द्रीय सदस्य, ०६८ देखि ०७३ सम्म एमाले रुकुम काठमाण्डौ सम्पर्क मन्च, त्यसपछि रुकुमपूर्व जिल्ला कमिटी सदस्य, नेकपा विभाजनपछि जिल्ला सचिव, र प्रदेश सदस्य हुनुहुन्थ्यो । 

रुकुमपूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली प्रदेश हो । १२ जिल्ला रहेको लुम्बिनीमा यसअघि रुकुममा मात्रै एमालेको जिल्ला अधिवेशन सकिएको छ । रुकुममा निर्वाचनबाट नेतृत्व छानिएको थियो । प्रदेशका अरु १० जिल्लामा अधिवेशनको तयारी भएको नेकपा (एमाले) प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताउनुभयो ।