uml logo

पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित

image

 काठमाडौं,वैशाख १० गते । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमानेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गरेको छ।

ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवको विशेष समारोहमा भण्डारीलाई सम्मान गरिएको हो ।

पूर्वराष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा र झलनाथ खनालले सम्मान पत्र हस्तान्तरण गर्नुभयो । मुलुकको लोकतान्त्रिक आन्दोलन तथा कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएवापत र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिको रुपमा उहाँलाई सम्मान गरिएको हो।उक्त अवसरमा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल,डा बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको पनि उपस्थिति थियो।

सम्मानित भएपछि सम्वोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनको गहन समीक्षा गर्नुपर्ने बताउनुभयो।

उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजनबारे समीक्षा गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले भन्नुभयो, नेपाली कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजन सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने प्रश्न गर्दै यी विषयमा समीक्षा गरेर ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ।