uml logo

एमाले पाल्पाको अधिवेशनः माओवादीसँग सहकार्य भएपनि तत्काल एकता हुँदैनः एमाले महासचिव पोखरेल

image

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले–माओवादी सहकार्य निरन्तर रहने भएपनि तत्कालै पार्टी एकता संभव नभएको बताउनुभएको छ । शुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा महासचिव पोखरेलले अहिले नै पार्टी एकता संभव नभएको प्रष्ट पार्नुभएको हो । ‘तत्काल एमाले र माओवादी पार्टी एकीकरण हुने होकी भन्ने सोच्नु भएको छ भने अहिले हतार हुने भन्दै तत्काल पाटी एकीकरण नहुने र विगतको अनुभव र एकताले माथिबाट नेताहरु मिलेर मात्र पार्टी एकता सफल हुँदैन, कार्यकर्ताहरु देखि नीति विचार सबै मिलेर गरेको एकता मात्र दिगो हुने विषयमा पार्टी प्रष्ट रहेको छ’ उहाँले भन्नुभयोे ।

पोखरेलले अहिलेको शत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म लैजाने गरी सहकार्य गरिएको बताउनुभयो । कांग्रेस नेतृत्वको गठबन्धनले मुलुकलाई अधोगतीमा लगिरहेको अवस्था परिवर्तनका लागि एमालेले सबै कुरा छोडेर नयाँ सत्ता समीकरण निर्माण गरेको एमाले महासचिव पोखरेलको भनाइ थियो । अहिले एमालेले प्रधानमन्त्री पनि नमागेको र महत्वपुर्ण मन्त्रालयमा पनि दावी नगरेको बताउँदै ८४ मा एकल बहुमतको सरकार बनाउने योजनामा रहेको र त्यहीअनुसार काम गर्न पार्टी नेताकार्यकर्तालाई निर्देशन गर्नुभयो । 

पोखरेलले देश विकासका लागि दुरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थिरता आवश्यक रहेको अवस्थामा एमालेसंग बलियो दुरदर्शी नेतृत्व भएकोले आगामी ८४ को लागि तयारीका साथ अगाडि बढेको बताउनुभयो । ठूला पार्टीका नेता तथा कार्यकर्ताहरु जनतामाझ आफ्ना नीति, कार्यक्रम र योजना लिएर नजाँदा अहिले अराजकताको भिडमा जनता जान बाध्य भएको नेता पोखरेलको भनाइ थियो । राजनीतिक अस्थिरता फाइदा उठाउँदै देशको मौलिक तथा सांस्कृतिक आधारमाथि बाह्य पक्षबाट निरन्तर प्रहार गरी राष्ट्रियता कमजोर पार्ने खेल भइरहेकोले यसलाई चिर्न बलियो राजनीतिक शक्ति स्थापित गर्न आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो । 

नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अब पार्टीका हरेक नेताकार्यकर्ताले आयआर्जनसंग जोडिएर नीति, कार्यक्रम र योजना बनाएर ग्रामीण स्तरसम्म काम गर्नुपर्ने बताउनुभयो् । अहिले केन्द्रमा देखिएको सहकारी विवादमा नेपाली काग्रेसले बखेडा मात्र झिकेको र समस्याग्रस्त देशभरीका सहकारीको छानविन गर्न काग्रेस तयार नभएको बताउँदै उहाँले कांग्रेसले भनेको मात्रै सहकारीहरु छान्ने काम राजनीतिक बैमानी हुने जनाउनुभयो । 

कार्यक्रममा एमाले पोलिटिव्यूरो सदस्यहरु, ठाकुर गैरे, बैजनाथ चौधरी, एमाले लुम्विनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले नेकपा एमालेविना मुलकमा विकास तथा सम्बृद्धि आउन नसक्ने बताउनुभयो । अधिवेशनमा पाल्पा जिल्लाका पहिलो सचिव झपेन्द्र बहादुर जिसी. दोस्रो सचिव दलबहादुर रानालाई सम्मान गरिएको थियो । यसैगरी जाजरकोट भुकम्पको उद्धारमा खटिएका पार्टी उपाध्यक्ष देवीलाल लामिछाने, निवर्तमान अध्यक्ष नारायण आचार्यसहित १३ जनालाई सम्मान गरिएको थियो । शुक्रबार नै सुरु भएको बन्द सत्र शनिबार पहिलो चरणमै सकेर नयाँ नेतृत्व चयनको प्रकृयामा जाने बताइएको छ । एमाले पाल्पाका लागि अध्यक्ष पदमा वर्तमान सचिव रामजी पोखरेल र पूर्वसचिव ओमबहादुर घर्तीबीच प्रतिस्पर्धा देखिएपनि पार्टी नेताहरु भने सहमतिमै नेतृत्व चयन हुने गरी कसरतमा लागिरहेको बताएका छन् ।