uml logo

एमाले रुपन्देहीको १० औं अधिवेशन सुरु, गठबन्धन भत्काउने सपना नदेख्न एमाले उपाध्यक्ष पौडेलको चेतावनी

image

रुपन्देही । 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउप तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसलाई अहिलेको गठबन्धन भत्काउने सपना नदेख्न चुनौती दिनुभएको छ । ‘गठबन्धन भत्काउन अनेकौं षड्यन्त्र भएका छन्, ती सफल हुँदैनन्, अब यो गठबन्धन ०८४ सम्म जान्छ, कांग्रेसलाई प्रतिपक्षमा बसेर चुनाव लडाएको अनुभव दिलाउने हो’ एमाले रुपन्देहीको १० अधिवेशन उद्घाटन कार्यक्रममा नेता पौडेलले भन्नुभयो ‘कांग्रेसले पुरपुरोमा हात राखेको छ, चुनावपूर्वको गठबन्धनले निकास दिन नसकेपछि एमालेले साथ दिएको थियो, बीचमा दुर्घटना भएर एकछिन कांग्रेसले सरकारमा साथ पायो तर त्यो टिक्न सकेन, कांग्रेसले एमाले नदेख्ने भयो ।’ 

उहाँले अहिले सरकार बाहिर रहँदा कांग्रेसमा छटपटि भएको बताउनुभयो । ‘कांग्रेसमा वेचैनी छ अहिले, कांग्रेसले झर्ला र खाउला भनेर सपना नदेखे हुन्छ’ उहाँले भन्नुभयो । 

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नका लागि पार्टीले मिसन ८४ को नारा अघि सारेको उहाँले बताउनुभएको छ । 

पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुको विकल्प नरहेको तर्क गर्दै एकल नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट गर्ने जनाउनुभयो । ‘संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् ? आजको अहम प्रश्न यहीँ हो । जिम्मेवारी पनि यही हो ।’ नेता पौडेलले भन्नुभयोे‘एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुक पछि परेको र नागरिकहरुमा तमाम समस्या उत्पन्न भएको हो ।’

‘संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको मियोका रुपमा र निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी छ, समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको छ, अब त्यसलाई संस्थाग रुपमा प्रयोग गर्नका लागि तीनै तहका सरकारमा एमालेको एकल बहुमत आवश्यक परेको छ ।’ उहाँले भन्नुभयो–‘संविधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्नु नै आजको आवश्यकता रहेको छ । एमाले अरू पार्टीजस्तो होइन समाज बदल्ने र समृद्धि बनाउने पार्टी हो, प्रजातन्त्र,गणतन्त्र ल्याउन, संविधान लेख्न एक्लै नसकेकोले अन्य दलको साथ लिएको हो, चाहेजस्तो संविधान नबनेपनि सबैभन्दा उत्तम बनेको छ तर संविधान बनेपछि त्यो कार्यान्वयन गर्ने तहमा पुग्न सकेको छैन। एमालेले बनाएका नीति कार्यान्वयन नगरेसम्म अवस्था सुधार नहुने अवस्था छ ।’ 

एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले कार्यकर्ताले एमालेको जिल्ला अधिवेशनलाई उत्सवको रुपमा लिनुपर्ने भन्दै नेतृत्व चयनमा खिचातानी नगर्न आग्रह गर्नुभयो । उहाँले स्वार्थभन्दा माथि उठेर पार्टी संगठन निर्माण र मुलुक रुपान्तरणको अभियानमा लाग्न पनि कार्यकर्तालाई सुझाव दिनुभयो ।

एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले एमाले नै देशको भरपर्दो पार्टी रहेको बताउनुभयो । “गएका उपनिर्वाचनको परिणामले पनि एमाले नै देशको बलियो र भरपर्दो पार्टी भएको पुष्टि भएको छ”–उहाँले भन्नुभयो । एमाले रुपन्देहीले बिगतमा राष्ट्रलाई नै सन्देश दिने काम गरेको भन्दै उहाँले अब पनि नेतृत्व चयनका माध्यमबाट राष्ट्रव्यापी सही सन्देश पु¥याउने बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेललगायतले पार्टी संगठनलाई बलियो बनाएर मात्र देश निर्माणमा जुट्न सकिने बताउनुभएको थियो । अधिवेशन उदघाटन सत्रमा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।

अधिवेशनको उदघाटनमा पार्टी अध्यक्ष केपी शर्मा ओली आउने अन्तिम तयारी भए पनि कार्यव्यस्तताका कारण अनुपस्थित रहनुभयो । बिहीबारसम्म सञ्चालन हुने अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने र त्यो पारित भएपछि निर्वाचन प्रकृयामा जाने अध्यक्ष तेजेन्द्र केसीले बताउनुभयो ।