uml logo

एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी

image

बुटवल । नेकपा एमाले बर्दियाको १० औं अधिवेशनबाट शालिकराम अधिकारी निर्वाचित हुनुभएको छ । उहाँका प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले पराजित गरी निवर्तमान उपाध्यक्ष अधिकारी विजयी बन्नुभएको हो । 

मंगलबार सुरू भएको १० औं अधिवेशनको बन्द सत्रपछि बुधबार बिहानै १० बजेभित्रै नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता भएको थियो । अधिकारी निवर्तमान उपाध्यक्ष र श्रेष्ठ निवर्तमान अध्यक्ष हुनुहुन्छ । 

त्यसैगरी उपाध्यक्षमा दुर्गाबहादुर वलीले १७९ मत ल्याएर विजयी हुनुभयो भने प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याउनुभएको छ ।

सचिवमा पदमराज ढकालले १७६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नैनबहादुर खत्रीको १६८ मत आएको छ। उपसचिव खुल्लामा लहनु थारूले १७८ मत ल्याएर विजयी हुँदा जीवन शाहीको १५८ मत आएको छ।

महिला उपसचिवमा सगीता थारूले १८८ मत ल्याएर विजयी हुँदा मन्जु शर्मालाई १५१ मत प्राप्त भएको छ। 

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य डा. हरिप्रसाद भण्डारीका अनुसार अधिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकामा ३६१ जनाले मतदान गरेका थिए। अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने पोलिटब्युरो सदस्य तथा बर्दिया इन्चार्ज एवम् अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष लिला गिरीले जानकारी दिनुभयो