uml logo

आजदेखि एमाले रुपन्देहीको १० औं अधिवेशन, अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुने

image

रुपन्देही । 

आजदेखि नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी रुपन्देहीको १० औँ जिल्ला अधिवेशनको सुरु हुन लागेको छ । पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

एमाले जिल्ला प्रचार विभाग रुपन्देहीले बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुधबार रुपन्देही आउने कार्यक्रम छ । उद्घाटन सत्रमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराई लगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहने प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिनुभयो ।

जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसङ्गठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुभयो । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला अध्यक्ष केसीको संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भएको छ । बन्द सत्रमा राजनैतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य सङ्गठित रहेको र उत्तिकै सङ्ख्यामा शुभेच्छुक रहेको अध्यक्ष केसीले बताउनुभयो ।

भैरहवाको सिद्धार्थ भिलासामा आयोजना हुने अधिवेशनमा प्रतिनिधिसहित उद्घाटनसत्रमा ३ हजार ५ सय सहभागिता गराउने योजना रहेको एमालेले जनाएको छ ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहितका शीर्ष नेताहरू सहमतिका लागि मङ्गलवारदेखि नै आन्तरिक तयारीमा लाग्नुभएको छ ।