uml logo

एमाले लुम्बिनी अधिवेशनको तयारी पूरा

image

नयाँ नेतृत्वका लागि सकेसम्म सर्वसम्मत नभए लोकतान्त्रिक प्रकृया

रुपन्देही । 

नेकपा (एमाले)को लुम्विनी प्रदेशको पहिलो अधिवेशनले देशलाई नयाँ सन्देश दिने सो पार्टीका नेताहरुले बताउनुभएको छ। भोली भदौ १६ र १७ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनले एमालेको राजनीतिक जीवनलाई रक्त सञ्चार गर्ने र देशलाई नै नयां सन्देश दिने उहाँहरुले बताउनुभएको छ । अधिवेशनको अन्तिम तयारीबारे जानकारी दिन शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव एवं प्रदेश इन्चार्ज पदमा अर्याल, पोलिटब्यूरो सदस्य सूर्य थापा, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले यस्तो बताउनुभएको हो । 

प्रदेश इन्चार्ज पदमा अर्यालले प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मतिबाट गरिने र सहमतिबाट हुन नसके स्वस्थ प्रतिस्पर्धा हुने बताउनुभयो । उहाँले पार्टीभित्र स्वस्थ प्रतिपर्धालाई निषेध नगरिएको तर अहिले प्रचारमा ल्याइएजस्तो कुनै समूहगत उम्मेदारी नहुने स्पष्ट पार्नुभएको थियो । पोलिटब्यूरो सदस्य सूर्य थापाले लोकतान्त्रिक प्रकृया अपनाउने विषयमा नेपालमा सबैभन्दा पहिले अपनाउने पार्टी एमाले भएको बताउनुभयो । उहाँले अहिले प्रचारमा आएजस्तो एमालेमा कुनै गुट नभएको बताउँदै सबैले आश्चर्य मान्ने तरिकाले नेतृत्व चयन हुनसक्ने बताउनुभयो । 

नेकपा एमालेले वर्ष २०८० लाई आफ्नो पार्टीको अधिवेशन वर्षका रुपमा घोषणा गरी अघि बढेको र यो प्रादेशिक अधिवेशन विविध कारणले अर्थपूर्ण रहेको प्रदेश अध्यक्ष कंडेलले बताउनुभयो । ‘सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक यो अधिवेशन गर्दै छ साथै यसलेपार्टी जीवनलाई संघीय ढाँचा अनुरुपमा लगेर नयाँ नेतृत्व चयन गर्ने भएकोले यो आफैमा ऐतिहासिक महत्वको पनि छ’–अध्यक्ष कंडेलले भन्नुभयो । 

सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउसो १२ः३० वजे अन्तर्राराष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा गर्नुहुने अध्यक्ष कंडेलले बताउनुभयो । उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पदमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने अध्यक्ष कंडेलले बताउनुभयो ।

सम्मेलनपूर्व विहान १० बजेदखि बुटवलका १९ वटै वार्डहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन् ।

सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका १००४ प्रतिनिधिहरु सम्मेलनका प्रतिनिधि रहेका छन्।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो ।

सम्मेलनको तयारीको सन्दर्भमा गठित मूल आयोजक कमिटीसहित, प्रतिवेदन लेखन, खाद्य तथा आवास, प्रचार प्रसार, मञ्च तथा स्वयंसेवक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्राथमिक स्वास्थ्य, जनपरिचालन जस्ता समितिले यो सम्मेलन सफल बनाउन गर्नुपर्ने सम्पूर्ण काम सम्पादन गरिसकेको उहाँले बताउनुभयो ।