uml logo

मुस्लिम समुदायका साझा पिता नजिर मियाँ

image

हाजी नजिर मियाँ । संविधानसभा सदस्य । हालै बजारमा आएको आत्मबृतान्त एउटा पुस्तक संघर्षशील आवाजहरुका सर्जक । मुस्लिम समुदायका भरपर्दा अभिभावक । करिव ५० वर्षदेखि निरन्तर राजनीतिमा लागेको भुई तहबाट उठेको एउटा कुशल जनप्रतिनिधि, अर्घाखाँचीको पाणिनि (पाली) अर्भोकामा किसान परिवारमा जन्मेर राष्ट्रिय ख्याति प्राप्त गरेको सदावहार एउटै रुप, शैली र व्यवहार भएको निष्कलंकित बिचार र आस्थामा दृढ, ब्यवहारमा अत्यन्तै नरम ब्यक्ति नजिर ।

यसो भनिरहँदा उनलाई धेरै फुर्काएको वा प्रशंसा गरेको अर्थ लाग्दैन । लेखक नजिरको पुस्तकनै यसको सवैभन्दा ठूलो प्रमाण हो । यो पुस्तक आत्मबृतान्त भनेपनि सामाजिक र राजनीतिक क्षेत्रमा गरिएका कामको फेहरिस्त हो । मुस्लिम समुदायका ब्यक्तिले लेखेको पहिलो पुस्तक भएकोले सो समुदायका बारेमा रहेका कतिपय भ्रमलाई चिर्नका लागि तयार गरिएको दस्तावेज हो । आफ्ना पुर्खाको इतिहास लेखिएको वंशावली हो । अध्येताका लागि गतिलो सन्दर्भ सामाग्री हो । राज्यबाट हेपिएको समुदायलाई परिवर्तनले कसरी मूल प्रवाहमा ल्याउन सक्यो भन्ने कुराको ज्वलन्त उदाहरण हो । सत्कर्ममा लागेर सकारात्मक ढंगले निरन्तर पैरवी गर्नुपर्छ ढिलो वा चाँडो परिणाम प्राप्त हुन्छ भन्ने कुराको अभिलेख पनि हो ।

जीवनको उत्तरार्धमा हाजीको रुपमा लेखिएको यो पुस्तक काल्पनिक वा आत्म प्रशंसाको पुलिन्दा हैन । ब्यवस्थित र संगठित ढंगले लेखिएको पुस्तक पनि हैन । बरु लेखककै भाषामा भन्दा यो अर्गानिक दस्तावेज हो । अर्थात् गराई, भोगाई र पहलकदमीको विवरण मात्र हो । धार्मिक आस्थाका रुपमा उनलाई कुनै गलत काम गर्न, झुटो बोल्न र कसैलाई दुःख दिने वा चित्त दुखाउने काम गर्न डर मात्र लाग्दैन, पाप लाग्छ भन्ने विश्वास छ ।

  त्यसैले त उनले श्रीमति, दाजुभाई र नाता कुटुम्वसंग अन्जानमा पनि कुनै गल्ती गरेको भए पुस्तकमार्फत् धेरै पटक माफी मागेका छन् । सम्पन्न बाबुकी छोरीसंग विवाह गरेपनि श्रीमतिको सहयोग, सद्भावप्रति उनी आभारी छन् ।

नजिर मियाँ पालीमा जन्मे हुर्केका, म मैदानमा जन्मे हुर्केको, एउटै खोलाको पानीले खेत सिंचित हुन्थ्यो र पनि उनी लक्काजवान भएर राजनीतिमा लाग्दा म तराई हुँदै बुटवल आइसकेको थिएँ । पत्रकारिता पेशा हुनुको कारणले उनकोवारे मलाई जति थाहा थियो मेरो वारेमा उनलाई त्यति थाहा थिएन । तैपनि बुटवलले हामीलाई एउटै ठाउँमा ल्यायो । तर, यो पुस्तक पढेपछि मात्र उनका विविध आयामवारे मैले थाहा पाएँ । यसवाट मलाई एक अर्थमा लज्जावोध पनि भयो । 

०६४÷०६५ सालतिरको कुरा हो, जतिवेला मुलुकमा जातीय द्घन्द्घका विषय ज्यादा उठ्थे । बुटवलकै सेरोफेरोमा पनि त्यसप्रकारका घटना हुन्थे । मैले बाल्यकालमै नजिकबाट जानेको, देखेको र बुझेको अर्घाखाँचीको सामाजिक सद्भावलाई कसैले अध्ययन गरिदिए हुन्थ्यो भन्ने लागेको थियो । पाली, बल्कोट, सन्धिखर्क, वाङला आदि ठाउँ मुस्लिम समुदायको वस्ती भएको क्षेत्र हो । जहाँ अपवादवाहेक कहिल्यै असमझदारी भएन । एकअर्कावीचमा नाता लगाएर दाई भाई, बाबु, आमा, काका, काकी भनेर सम्वोधन हुन्थ्यो । चाडवाडमा सहकार्य हुन्थ्यो । राजनीतिक रुपले असाध्यै असहिष्णु भएपनि यो मामलामा सहिष्णुता देखाएको छ अर्घाखाँचीले ।

संख्याको हिसावले अल्पसंख्यक भएपनि मुस्लिम समुदायको नेतृत्व सवैका लागि स्वीकार्य थियो । २०२५ सालमै बलकोटमा प्रधानपञ्चको रुपमा अमिर मियाँ थिए । जो नजिरका ससुरा बुवा हुन् । नजिर आफै २०३८ सालदेखि पालीको जनप्रतिनिधिको रुपमा उपप्रधानपञ्चमा उठेका थिए । ०४९ सालदेखि दुई कार्यकाल अध्यक्षको रुपमा जनताको सेवा गरे । यसबाट सामाजिक सद्भाव झल्कन्थ्यो । यस्ता विषयमा समाजशास्त्रका विद्यार्थीले अनुसन्धान गर्दा मुलुककै लागि फाइदा हुन्छ भन्ने ठानेर बुटवल बहुमुखी क्याम्पसका केही प्राध्यापकहरुसंग अनुरोध गरेको थिएँ । विषयप्रति असाध्यै रुचि पनि देखिएको थियो । तर विभिन्न कारणले सम्भव भएन । खासगरी खर्चको जोहो र सन्दर्भ सामाग्रीको अभाव भएको महसुस मैले पनि गरेको थिएँ ।

अहिले ढिलै भएपनि एउटा सन्दर्भ सामाग्री प्रकाशन भएको छ । यो पुस्तकमा धेरै सामाजिक र राजनीतक मुद्घा छन् । सवै विषयको चर्चा गर्नु सम्भव छैन । यसका लागि पुस्तकनै अध्ययन गर्नुपर्छ । तर केही चर्चा गर्नैपर्ने सामाजिक र राजनीतिक विषयको उठान भने गर्नैपर्छ । मुस्लिम समुदायमा कसैलाई सापटी पैसा दिएर ब्याज लिइदैन । ब्याज लिनु भनेको आमासंग नाजायज सम्वन्ध गर्नु जत्तिकै पाप हो भनेको छ । दिसा र पिसाव दुवै गर्दा सुद्घिकरणको प्रक्रिया एउटै हो । एउटा अनौठो जस्तो लाग्ने चलन पिसाव बसेर हावा नलागेको ठाउँमा गर्नुपर्ने भन्ने छ । उठेर वा हावामा गर्दा कपडामा छिटा परेर फोहर हुने भनिएको छ ।

यो कुरा मलाई अर्कै सन्दर्भमा वडो गजव लागेको थियो । केही समय अघि मलाई हल्का प्रोस्टेको समस्या देखा पर्यो । एकजना आयुर्वेद चिकित्सकसंग सल्लाह गरें । उनले केही समय बसेर पिसाव गर्न सल्लाह दिए । त्यतिवेला मुस्लिम समुदायको कुरा गर्दै वसेर पिसाव गर्ने भएकोले उनीहरुलाई प्रोस्टेटको समस्या नहुने पनि बताए । यो एउटा अनुसन्धानको विषय हो भन्ने मलाई लाग्छ । 

 बिवाहमा दाइजोको लेनादेना हुँदैन । स्वयं नजिरले २०५१ सालमा छोरीको विवाहमा नगद वा जिन्सी उपहार नल्याउन अनुरोध गर्दै निमन्त्रणा कार्ड वितरण गरेका थिए । 

छोराछोरीका बीचको बिभेद खासगरी अंशका सन्दर्भमा नेपाली राजनीतिमा उठिरहने मुद्घा हो । तर, इस्लामिक धर्मले १४ शय वर्ष अघिनै यसको टुंगो लगाएको रहेछ । जसअनुसार छोरालाई दुई हिस्सा र छोरीलाई एक हिस्सा तोकिएको छ । यसो किन भने छोरीले विवाह घरवाट पनि लोग्नेको अंशवाट एक हिस्सा पाउँछन् । यो वैज्ञानिक तरिकानै हो ।

यो समुदायमा अन्य समुदायमाजस्तै कसैको श्रीमति कसैले लगेमा लिने जारी प्रथा कायम थियो । जस्को अन्त्य २०२९ सालदेखि नजिरकै नेतृत्वमा भएको छ । त्यस्तै कसैको मृत्यु भएमा उम्कदाको दिन भात लैजाने चलन २०४० सालदेखि अन्त्य गरेको देखिन्छ । यी केही सामाजिक आन्दोलनका उदाहरण हुन् । यस्ता धेरै उदाहरण पुस्तकमा उल्लेख छन् ।

राजनीतिक सामाजिक आन्दोलनको सन्दर्भमा सिंगो मुस्लिम समुदायको बृहत्तर हितका लागि उनले धेरै चुनौतिपूर्ण काम गरेका छन् । अर्घाखाँचीको पालीबाट उठेको मुस्लिम एकता अभियानले पूरै मुलुकको प्रतिनिधित्व गर्ने अवस्था आउनु चानेचुने कुरा हैन । यस काममा नेकपा एमालेका नेता मोदनाथ प्रश्रित र तत्कालिन अवस्थामा जिल्ला पार्टी सचिव हालका उपमहासचिव प्रदीप ज्ञवालीले विशेष सहयोग गरेकामा उनले प्रशंसा गरेका छन् ।

राजनीतिक पार्टीमा आवद्घ हुनुको कारणले नेकपा (एमाले) ले मुस्लिम समुदायका मुद्घालाई सम्पूर्ण रुपले सहयोग गरेको देखिन्छ । शायद उनी सो पार्टीमा संगठित नभएको भए अहिले जे उपलब्धी प्राप्त भएको छ, त्यो हुन सक्दैनथ्यो कि ? पुस्तक पढ्दा यस्तो आभास हुन्छ । पञ्चायतकालका चर्चित र निर्णायक तहमा रहेका नेता डा.मोहम्मद मोहसिनदेखि नेपाली कांग्रेसवाट राजदुत भएका मरहुम अवुसम्मका भनाईले यस कुरालाई प्रमाणित गरेको छ । यसरी हेर्दा राजनीतिक रुपमा नेकपा एमालेले दृष्टिकोण अनुसारको दायित्व पूरा गरेको छ भने सिंगो मुस्लिम समुदायलाई ठूलै गुन लगाएको छ ।

त्यसोत उनले ०३३÷०३४ देखिनै सामुदायिक विषयको उठान गर्दै आएका थिए । तर, पञ्चायतकालमा राजनीतिको उत्कर्षमा रहेका नेताहरुले धर्म मान्न पाउनु र नमाज पढ्न पाउनुनै ठूलो कुरा हो । त्यसैले यो भन्दा बढी नगरौं भनेको सन्दर्भले पञ्चायतकालको अवस्थालाई चित्रण गर्दछ । ०४७ को बहुदलले संगठन गर्न दियो भने २०७२ सालको संविधानले पहिचानसहितको अवसर सृजना गरेको निष्कर्ष यस पुस्तकले दिएको छ । 

राजनीतिक रुपमा केही विषय नजिरले स्थापित गरेका छन् । पहिला मुस्लिम धर्म हो भनिन्थ्यो । उनले समुदाय हो भनेर राजकीय तहबाटै सच्चाउन सफल भए । त्यस्तै यो समुदाय कहिले कहाँबाट आयो भनेर विभिन्न तर्क गरिन्थ्यो । उनले मुस्लिम आदिवासी हो । यो कतैबाट आएको हैन । आएको धर्म मात्र हो भनेर स्थापित गरेका छन् । उनको तर्क छ, नेपालबाट उदाएको बुद्घ धर्म चिन, जापान, श्रीलंका वा धेरै देशमा स्थापित छ, तर नेपालबाट गएर स्थापित भएको हैन । उतैका मानिसले अपनाएका हुन् भनेका छन् । अहिले क्रिश्चियनहरु नेपालमा वढेका छन् । यसको अर्थ अमेरिका वा पश्चिमी मुलुकबाट मान्छे आएका हैनन् । आएको केवल धर्म हो भन्ने उनको तर्क छ ।

पहाडी मुस्लिमलाई चुरौटे भनिन्थ्यो । मेरो बुझाई पनि चुरा, डोरी, पोते आदिको कारोवार गर्ने भएर चुरौटे भने होला भन्ने लागेको थियो । तर यो गलत रहेछ । यसलाई पनि उनले तथ्यांक बिभागबाटै हटाउन लगाएको पाइयो । 

अर्को कुरा मुस्लिमलाई अल्पसंख्यक भनिदै आएकोमा यसप्रति उनको असहमति छ । नेपालको जनगणना २०६८ अनुसार नेपालमा रहेका १२५ जाति मध्ये आठौं नम्वरमा पर्ने जाति कसरी अल्पसंख्यक हुन्छ ? उनको प्रश्न छ । संविधानसभामै यसवारे उनले गहन तर्क प्रस्तुत गरेर यो शब्द हटाउन लगाएको पाइन्छ ।

यसरी हेर्दा एकजना ब्यक्तिले आफ्नो जीवनकालमा शान्तिपूर्ण रुपलेनै यति ठूलो परिवर्तन गर्न सक्दो रहेछ भन्ने देखाउँछ । वास्तवमा नजिर मुस्लिम समुदायका सम्मानित साझा पिता हुन् । यसको अर्थ मुलुकको राजनीतिक सामाजिक परिवर्तन, क्रान्ति, तथा विभेद भोग्दै आएको सामाजिक रुपमा बहिस्कृत समुदाय एवं आमरुपमा गरीव, उत्पिडन समुदायकै हितमा पनि उनले धेरै काम गरेका छन् । प्रायः मानिसको मूल्यांकन उसको जीवनकालमा हैन मृत्यु पछि मात्र गरिन्छ । तर, उनको यो फेहरिस्तले अहिलेनै उनी सम्मानका हकदार हुन् भन्ने देखाउँछ । विभिन्न दलमा बिभाजित मुस्लिम नेताहरुलाई पनि समुदायका साझा विषयमा सहमत गराउन सक्ने विलक्षण प्रतिभा उनको कर्मले स्थापित गरेको अर्को सच्चाई हो । 

२०८० असौज ४