uml logo

पार्टीका सचिव उपसचिवलाई क्षमता अभिवृद्धि तालिम

image

बुटवलः 

नेकपा (एमाले) लुम्बिनी प्रदेशको आयोजना र प्रदेश पार्टी स्कुल विभागको संयोजनमा भाद्र १४ र १५ गते सञ्चालित पार्टी नेतृत्व एवम् क्षमता अभिवृद्धि तालिम शनिवार बुटवलमा सम्पन्न भयो । 

तालिम समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले दुई दिवसीय तालिममा सिकाईएका विषयवस्तुहरु अत्यन्तै काम लाग्दो रहेको र त्यसलाई आआफ्ना जिल्लामा गएर कार्यान्वयन गर्न अपील गर्नुभयो । पार्टीमा काम गर्ने नेता, कार्यकर्ताको मूल्यांकन कामबाटै खोजिने भएकाले पार्टी कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न अध्यक्ष कंडेलले अनुरोध गर्नुभयो ।

 नेकपा (एमाले) ले मिसन ८४ लाई आफ्नो चुनावी गन्तव्य बनाएको र देशको शक्तिशाली पार्टी बनाई एकल नेतृत्वको सरकार बनाउन एमाले गतिशील भई अघि बढेको बताउँदै हामी सबै नेता,कार्यकर्ताहरु निरन्तर कर्तव्यपथमा लम्किनुपर्ने कुरामा कंडेलले जोड दिनुभयो। 

तालिम समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट रुकुमका उपसचिव पशुपति खड्का र बाँके उपसचिव निर्मला सुनारले सिकाई आफ्ना पार्टी जीवनमा कोसेढुङ्गो सावित भएको उल्लेख गर्दै पुनर्ताजगी तालिमको अपेक्षा समेत गर्नुभएको थियो  

तालिममा पार्टी नेतृत्व र जनसम्बन्ध, बैठक सञ्चालन र माईन्यूट लेखन, उद्घोषण एवम् भाषणकला र प्रतिवेदन लेखनसम्बन्धि विषयवस्तुहरुमा प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल,पार्टी स्कुल विभाग उपप्रमुख दलबहादुर गुरुङ, युवा नेता युवराज घिमिरे, पार्टी स्कुल विभाग सदस्य गोपाल अधिकारी र मनोज भट्टराईले सहजीकरण गर्नुभएको थियो । 

तालिममा सैद्धान्तिकभन्दा प्रयोगात्मक कक्षामा जोड दिईएको थियो । समापन कार्यक्रमका अध्यक्ष एवम् पार्टी स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले तालिमको प्रभावकारिता कार्यान्वयनमा हेरिने भएको हुँदा सिकाईलाई व्यवहारमा प्रयोग गरि तालिम फलदायी बनाउन सहभागी सबैमा अनुरोध गर्नुभएको थियो । समापन कार्यक्रमको सञ्चालन स्कुल विभाग सचिव कृष्णप्रसाद अर्यालले गर्नुभयो । तालिममा लुम्बिनी प्रदेशभरिका १२ जिल्लामध्ये १० जिल्लाका पार्टी जिल्ला सचिव र उपसचिवहरुको सार्थक सहभागिता रहेको थियो ।