uml logo

शिलान्यास भयो लुम्बिनीको ड्रिम प्रोजेक्ट, लुम्बिनी प्रादेशिक अस्पताल

image

बुटवलः

एक हजार दुई सय शैयाको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिवार शिलान्यास गरिएको छ । छ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ । प्रदेश सरकारको चार वटा गौरवको आयोजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्त्वपूर्ण आयोजनाको रुपमा रहेको छ । 

२०७६ सालमा तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेल सरकारले ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने प्रक्रिया थालेको थियो । प्रदेश सरकार स्थापना भएपछि यो प्रादेशिक अस्पतालको रुपमा विकास भएको हो । 

लुम्बिनी प्रदेशका बिरामी बिशेषज्ञ उपचार सेवा लिन काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नेगरी लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय शैयाको अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो ।

 प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक बर्षमा एक अर्ब ८० करोड बजेट समेत बिनियोजन गरेको छ । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । 

लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिनुभयो ।

 भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । कूल ७८५ वटा पाइलिङ गर्नु पर्नेमा ४९० पाइलिङ सम्पन्न भएको छ । वरीपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको हो । अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार अत्याधुनिक भवनमा बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । 

भवनको छतमाथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउण्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ । 

हालको संरचनालाई विस्तार गरि एक हजार दुई सय शैयामा बहुअनुसन्धानात्मक अस्पतालको रुपमा स्तर उन्नति गर्न लागिएको छ । यसै क्रममा पहिलो चरणमा दुई नयाँ भवनाहरु निर्माण गर्न थालिएको छ । जस अन्तर्गत पहिलो २ तहको बेसमेन्ट भएको सात सय क्षमताको १० तले मुख्य भवन, दोश्रो १ तहको बेसमेन्ट र ४ तले १०० शैया क्षमताको क्यान्सर (अन्कोलोजी) भवन निर्माण हुनेछ । वि.सं. १९६७ फागुन १५ गते ६ शैयाबाट सुरू भएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबैभन्दा पुरानो र ठूलो अस्पताल हो । 

वि.सं. १९६७ साल फाल्गुन १५ गते स्थापना भएको लुम्बिनी प्रादेशिक अस्पतालले ११४ बर्षदेखि प्रत्यक्ष रुपमा साविक लुम्बिनीका रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची, राप्तीका रोल्पा, प्युठान, दाङ्, भेरीका बाँके वर्दिया, गण्डकीका स्याङ्जा र बाग्लुङ् जिल्लाका जनताले स्वास्थ्य सेवा लिदै आएका छन् । 

यो अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पतालको रुपमा विकास भई २०७५ माघमा प्रदेश सरकार मातहत आएको थियो । 

हाल यस अस्पतालले ५ शय शैयाबाट सेवा दिदै आएको छ । विरामीको बढ्दो चाप, समयसापेक्ष पूर्वाधार निर्माण र विशिष्टकृत स्वास्थ्य सेवाको विस्तारलाई प्रदेश सरकारले महशुस गरि यस लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाको रुपमा विकास गरि प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत आयोजना कार्यान्वयनको चरणमा रहेको छ । 

सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीबाट दुई जना भारतीय चिकित्सकबाट अस्पतालको सेवा सुरू भएको थियो । ३१ वर्ष बुटवलस्थित उद्यानबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्तसंचार गृह रहेको स्थानमा सारिएको थियो । हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो । 

हाल अस्पतालमा ५ सय २० शैया पुगेका छन् । दैनिक दुई हजारदेखि २ हजार ५ सयसम्म बिरामीहरू उपचारका लागि आउने गरेको यो अस्पताल सामान्यतः ७० प्रतिशतभन्दा बढी बेडहरू बिरामीले भरिने गरेका छन । सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत् एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण हाल १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवा प्रदान भइरहेको छ । अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई सेवा प्रारम्भ गरेमा बुटवल स्वास्थ्यको हबको रुपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले बुटबललाई एक आर्थिक शहरको रुपमा विकास गर्ने उद्धेश्य अनुरुप प्रदेशको गौरबको आयोजनाको रुपमा यस प्रादेशिक अस्पतालको निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । 

प्रदेश सरकारले हाल लुम्बिनी प्रादेशिक अस्पताल निर्माण, प्रदेश राजधानी शहरको विकास र नेपालगन्जमा स्थापित लुम्बिनी प्राविधिक विश्वविद्यालयको विकास गरि ३ वटा आयोजनालाई उच्च प्राथमिकतामा राखेर अगाडी बढाएको छ ।

जनस्तरबाट निगरानी होस्ः अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अस्पताल भवनको शिलान्यास गर्दै जनस्तरबाट नियमित निगरानी हुनुपर्ने बताउनु भएको छ ।

अस्पताल भवन लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलकै ठूलो पुर्वाधार भएकाले निर्माण कम्पनीलाई गुणस्तरीय काम गराउन खबरदारीका लागि जनस्तरबाट निगरानी हुनुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिनुभयो । 

६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतको यो अस्पताल भवन बुटवलकै ठूलो गेमचेन्जर आयोजना हो, यसको गुणस्तरमा कुनै प्रश्न आउनुहुंदैन र निर्धारित समयभित्र तोेकेको गुणस्तरमा काम हुनुपर्छ, पौडेलले भन्नुभयो ।

उनले अस्पतालको भवन निर्माण संगसंगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रकृया पनि बेलैमा थालेर भवन पूरा हुंदा पूर्ण क्षमतामा सेवा सञ्चालन हुने अवस्था आउनु पर्छ, उहाँको थप भनाई थियो ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका अर्थमन्त्री पौडेलले अव राजधानीको कुरा नगरौ, रुपन्देहीलाई विकासको नमुना बनाउन के गर्नुपर्छ त्यो भन्नुस् भन्दै आफुले यस जिल्लालाई नमूना बनाउन चाहेको बताउनु भयो ।

तिनाउ करिडोरमा नदि सभ्यतामा आधारित शहर निर्माण गर्ने छौं,गर्नेछौंः मुख्यमन्त्री 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो अस्पताल भवनले सिंगो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताउनु भयो । संघीय सरकारबाट गत वर्ष समानिकरण शिर्षकमा बजेट प्राप्त नहुँदा झण्डै साढे २ अर्ब बजेट दायित्व प्रदेश सरकारलाई थपिएको भन्दै संघीय सरकारले बजेट पठाउनुपर्नेमा उनले जोड दिनुभयो ।

‘पाँचवटामध्ये चारवटा गौरवका आयोजनाको काम अघि बढेपनि समानीकरण वजेट नआउनाले प्रदेशका गौरवका आयोजनाहरु अप्ठ्यारोमा पर्ने जोखिम छ’, उहाँले भन्नुभयो । तिनाउ करिडोरमा नदि सभ्यतामा आधारित शहर निर्माण गर्ने छौं, लुम्बिनी प्रदेशको पवित्र भूमिमा बौद्दिक सर्किट निर्माण गर्नेछौं, उहाँले भन्नुभयो र थप्नुभयो, लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण समय अघिनै सम्पन्न हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।