2024-06-22
रुपन्देही ।
अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य टुकाभद्र हमालले आरक्षण र समानुपातिक प्रणाली महिला समानताका लागि बाधक बनेको बताउनुभएको छ ।
अनेमसंघ रुपन्देहीको दशौं जिल्ला सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हमालले महिलाहरुको अबको आन्दोलन समानताको लागि हुनुपर्ने बताउनुभयो । हरेक क्षेत्रमा महिलाहरुको सहभागिता ३३ प्रतिशत पु¥याउनुपर्ने भनेर संविधानमा लेखिएको भएपनि अबको लडाई भने समानताका लागि हुनुपर्ने उहाँको भनाइ थियो ।
हमालले राणा शासनदेखि पञ्चायत फाल्न र बहुदलदेखि गणतन्त्र स्थापना गर्दासम्म महिलाहरुको लडाई ३३ प्रतिशतका लागि मात्र नभई समानताका लागि भएको उल्लेख गर्दै हरेक आन्दोलनमा अग्रमोर्चामा रहने महिलाहरु प्रतिफल पाउने बेलामा भने सबैभन्दा पछाडि रहने गरेको गुनासो गर्नुभयो ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिला गिरीले नेपालको राजनीति स्थिर नबन्दा अस्थिरताबाट फाइदा लिनेहरु रमाइरहेको बताउँदै भारतमा साढे सात दशकमा १८ जना प्रधानमन्त्री बन्दा नेपालमा भने ३५ वर्षमा ३० जना बढी प्रधानमन्त्री बनिसकेको र यस्तो अस्थिरताले विकासको लक्ष्यमा पुग्न नसकिने जनाउनुभयो ।
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्रीसमेत रहनुभएका नेता गिरीले आर्थिक समृद्धिबिना मुलुक समृद्ध बन्न नसक्ने भन्दै आफु स्वरोजगार बन्ने र अरुलाई पनि रोजगारी दिएर आर्थिक उपार्जनको काममा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने र लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले आरक्षण र समानुपातिक प्रणालीतर्फ केन्द्रित नभई क्षमता वृद्धि गरी प्रतिष्पर्धातर्फ लाग्न आग्रह गर्नुभयो । अनेमसंघ रुपन्देहीका अध्यक्ष मधुकला कुँवरले महिला अधिकार र समानताका लागि अनेमसंघले अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु सावित्रादेवी अर्याल, गुमादेवी आचार्य, अनेमसंघ केन्द्रीय सचिव बिना ज्ञवाली, एमाले लुम्बिनी प्रदेश उपसचिव लिला राना, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसी, रुपन्देही उपाध्यक्ष सीता खनाल, सचिव दुर्गा पाण्डेलगायतले महिला मुक्तिको आन्दोलनमा अनेमसंघको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
वक्ताहरुले एमालेका जनसंगठनहरु पार्टी कार्यकर्ता उत्पादन गर्ने महत्वपूर्ण कारखानाको रुपमा रहेको उल्लेख गर्दै अनेमसंघ अग्रपंक्तिमा रहेको बताए ।
सम्मेलनको अवसरमा उत्कृष्ट कार्य गर्ने बुटवल उपमहानगर कमिटी, सैनामैना नगर कमिटी र गैंडहवा गाउंपालिका शाखा कमिटी तथा निवर्तमान अध्यक्ष ममता पौडेललाई सम्मान गरिएको थियो ।
सम्मेलनले आगामी कार्यकालको लागि नयां नेतृत्व समेत चयन गर्नेछ । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले सबै जनसंगठनहरुलाई क्रियाशील बनाएर समयमै अधिवेशनका लागि समय मिलाइने जानकारी दिनुभयो ।