uml logo

अधिवेशनबाट उच्चस्तरको एकता, अबको अभियानः जहाँ समस्या त्यहाँ एमालेःअध्यक्ष कँडेल

image
  • जहाँ समस्या त्यहाँ नेकपा एमाले
  • हरेक कार्यकर्तालाई उत्पादनसँग जोडिन आग्रह
  • हरेक सदस्यलाई उचित जिम्मेवारी दिँदै त्यसको परिणाम खोजिने
  • तत्काल बाँकी रहेका पालिका, वडा र टोल कमिटीको अधिवेशन गरिने
  • मिसन ०८४ लाई सफल बनाउने योजना कार्यान्वयनमा प्रतिवद्ध
  • जिल्ला अधिवेशनमा प्यानलगत उम्मेदारी कतै भएन 
  • जनप्रतिनिधि र पार्टीबीच निरन्तर प्रशिक्षण

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अधिवेशनपछि पहिलो कार्ययोजनामा रहेको सबै जिल्ला अधिवेशन सकिएका छन् । फागुन ३० मा रोल्पाबाट सुरु भएर जेठ ३१ गुल्मीमा गरी १२ वटै जिल्लाका अधिवेशन निर्धारित समयमा सकिएका हुन् । पार्टीका योजना कार्यान्वयन, जिल्ला अधिवेशनका क्रममा देखिएका सकारात्मक पक्ष र चुनौती तथा आगामी योजनाका विषयमा नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलसँग लुम्बिनी सन्देशका लागि सम्पादक डिआर घिमिरे र सदस्य रामप्रसाद आचार्यले गरेको कुराकानीः

  प्रदेशका सवै जिल्ला अधिवेशनहरु निर्धारित मितिमै सम्पन्न गर्नुभयो । यी अधिवेशनहरुले के सन्देश दिए ?

फाल्गुण ३० देखि सुरु गरेर जेठ ३१ गतेसम्म आइपुग्दा सबै जिल्लाका अधिवेशनहरु बडो भब्य र शानदार रुपले सम्पन्न भएका छन् । तोकिएको समयमा एक दिनभन्दा ढिला कुनै जिल्लामा भएन । संविधानको मर्म र कानुनको व्यवस्था एवम् पार्टीको विधान तथा नियमावलीअनुसार प्रत्येक निर्वाचित कमिटीहरुमा १५ प्रतिशत युवा सहभागिता, एक तिहाई महिला सहभागिताका साथै श्रमिक, भूगोलअनुसारको आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र लगायतको समावेशी प्रतिनिधित्व गर्न गराउन सकियो । यो जिल्ला अधिवेशनको महत्वूर्ण पक्ष हो ।

खासगरी यी अधिवेशनमा देखिनसक्ने महत्वाकांक्षी कमरेडहरुलाई कसरी व्यवस्थापन गर्ला भनेर विपक्षीलेसमेत हेरिरहेको अवस्थामा सवै कमरेडहरुले उच्चस्तरको एकता, हार्दिकता, समझदारी र स्वस्थ प्रतिस्पर्धालाई आत्मसात गर्नुभयो । यो नै अधिवेशनले दिएको सकारात्मक सन्देश हो । यसवाहेक विगतमा कतिपय अवस्थालाई हेरेर विधानलाई आफूखुशी परिभाषित गरिन्थ्यो । यो पटक त्यस्तो भएन । विधानको पूर्णतः पालना भयो । 

युवाहरुको प्रतिनिधित्वलाई कसरी व्यवस्थापन गर्नुभयो ?

यसमा हामीले एक प्रकारको समझदारी कायम गरेका थियौं । जिल्ला कमिटीमा कम्तिमा १५ प्रतिशत युवा ल्याउने हाम्रो समझदारी अनुरुप आउनु भएको छ र स्थानीय जनसांख्यिक संरचनाअनुसार सवै जातजातिको यथोचित प्रतिनिधित्व पनि भएको छ । 

प्रदेशमा पार्टी सदस्य संख्या कति छ ?

अहिले ८६ हजार पार्टी सदस्यहरुले नवीकरण गर्नुभएको छ । पार्टीको विधानतः अग्रिम नवीकरण गर्नुपर्ने भएकोले प्रदेश अधिवेशनमा ८२ हजारले र त्यसपछि ३ हजार पाँच सयले नवीकरण गर्नुभएको छ ।

जिल्ला अधिवेशनहरुमा नेतृत्वका लागि कतिपय ठाउँमा विवादहरु भए होलान् तिनको व्यवस्थापन कसरी गर्नुभयो ?

धेरै जिल्लामा खासै विवाद भएनन् । कतिपय ठाउँमा पार्टी सदस्य नवीकरण नगरेका प्रतिनिधि हुनु, कतिपय अन्य पार्टीबाट प्रवेश गरेकालाई सदस्यता नदिई प्रतिनिधि वनाउनेजस्ता प्राविधिक समस्या आएका थिए । तिनलाई वैधानिक व्यवस्था अनुरुपनै समाधान गरियो । अन्य विवाद आएनन् ।

कतिपय मिडियाले अमूक गुटको जित र हार भनेर पनि प्रचार गरेका थिए । खासमा भएको के हो ?

यो मिडियामा भइरहने सामान्य प्रवृत्ति मात्र हुन् । ५ वटा जिल्लामा सहमतिमा नै सबै पदमा नेतृत्व छनौट भएको हो । अन्य जिल्लामध्ये कतै आंशिक कतै पूर्णरुपले निर्वाचन विधिबाट नेतृत्व छनौट भयो । कहीँ पनि प्यानल बनाएर निर्वाचन भएनन् । हाम्रो चासो यस कुरामा ज्यादा थियो । अधिवेशनमा व्यक्तिगत रुपमा इच्छा जाहेर गर्नु, निर्वाचनमा खडा हुनु स्वभाविक हो यसलाई सामान्य तरिकाले लिनुपर्छ यो हाम्रो पार्टीको घोषित नीति नै हो । त्यसैले कुनैपनि रुपमा गुटको रुप दिएर निर्वाचन भयो भन्ने कुरामा सत्यता छैन । जिल्लामा लिस्ट बनाएर, गुट बनाएर जान नदिने योजना थियो, त्यसमा सफल भइयो । 

कतिपय ठाउँमा उपल्लो कमिटीबाट तल्लो कमिटीमा आउने अवस्था देखियो । यस्तो किन ?

केन्द्र, प्रदेशको विभाग र प्रदेश कमिटीमा भएका केही साथीहरुले त्यो चाहना राख्नुभयो । खासगरी जिल्लाको अध्यक्ष कार्यकारी हुने भएकोले अपवादका रुपमा कतिपय ठाउँमा त्यस्तो देखिएको हो । आम रुपमा हैन । मुख्यगरी अध्यक्षको हकमा रुकुमपूर्व र प्यूठानमा उम्मेदार बन्नुभएको हो प्रदेश कमिटी सदस्य । अरु जिल्लामा त्यो अवस्था आएन ।  

आगामी कार्ययोजना के छन् ?

पार्टीका काम दुई प्रकारका हुन्छन् । एउटा सांगठनिक व्यवस्थापन र अर्को राजनीतिक । सांगठनिक हिसावले अधिवेशन गर्न बाँकी रहेका पालिका र वडा कमिटीको अधिवेशन भाद्र महिनाभित्र र आधारभूत तहका टोल कमिटीहरुको अधिवेशन असोजभित्र सम्पन्न गर्ने, नयाँ सदस्यहरूलाई समेटेर टोल तहको कमिटी निर्माण गर्ने, मातहतका सबै कमिटीका पदाधिकारी, सदस्य तथा पार्टी सदस्यको अभिलेख व्यवस्थित गर्ने, आगामी वर्षको नवीकरण गर्ने, पार्टीमा जिम्मेवारीविहीन सवैलाई कुनै न कुनै कमिटीमा राखी उचित जिम्मेवारी दिने काम गरिने छ । त्यस्तै कामको जिम्मेवारी पूरा गर्ने र नगर्नेको अभिलेख राख्ने, कामको मूल्याङ्कनका आधारमा थप जिम्मेवारी दिने विधिको विकास गर्ने, क्षमता, क्रियाशीलता र कामको मूल्याङ्कनका आधारमा जिम्मेवारी र अवसर प्रदान गर्ने परिपाटीलाई व्यवस्थित गर्ने र पार्टीभित्र अग्रजलाई सम्मान, समकक्षीलाई आदर र नयाँ पुस्तालाई प्रोत्साहन एवम् आर्कषित गर्ने वातावरण सिर्जना गरिने छ । 

यसवाहेक विपन्न वर्गमा रहेका पार्टी कार्यकर्तालाई उत्पादनशील र उद्यमशील योजनासँग आवद्ध गर्न प्रयत्न गर्ने, कार्यकर्तावीचको अन्तरविरोधको पहिचान र समाधान गर्ने, नयाँ पार्टी सदस्यता प्रदान गर्नु अगावै प्रशिक्षण र परीक्षा लिने व्यवस्था मिलाउने कामलाई प्राथमिकता दिएर सम्पादन गरिने छ । राजनीतिक रुपले पार्टीको राजनीतिक, सैद्वान्तिक विचार, कार्यक्रम र सन्देशलाई कार्यकर्ता र जनताका वीचमा निरन्तर पैरवी गर्ने हुन्छ । 

जनप्रतिनिधि र पार्टी कमिटीवीचमा राम्रो समन्वय हुन नसकेको गुनासो आइरहन्छ । यसको लागि के गर्नुहुन्छ ? र अहिलेसम्म कसरी समन्वय भएको छ ?  

यो कुरा विगतमा उठेको सत्य हो । तर अहिले धेरै हदसम्म कम भएको छ । किनकि हामीले गत साउन १३ र १४ गते नेपालगञ्जमा वडा तहसम्म र चैत्रको २४ देखि २६ गतेसम्म पालिका तहका अध्यक्ष र उपाध्यक्षलाई दाङमा प्रशिक्षण कार्यक्रम राखिसकेका छौं । यी कार्यक्रमले धेरै सुधार भएको छ । अहिले सभा दल गठन गरेर छलफल गर्ने संयन्त्र बनाएका छौं । जसले गर्दा समन्वयमा कमी भएको छैन । त्यति मात्र हैन हामीले स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुलाई समाजवादउन्मूख कार्यक्रम कसरी लैजान सकिन्छ भनेर पनि प्रशिक्षित गरेका छौं । पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच बलियो सम्बन्ध बनाउनेगरी समन्वय निरन्तर गरिरहने छांै कतै समस्या आए तत्काल समाधान गर्ने संयन्त्र बनाउने छौं । 

कार्यकर्ताको ठूलो पंक्ति भएकोले सवैलाई जिम्मेवारी दिन नसक्ने र जिम्मेवारी पाउनेले जिम्मा नपाइन भन्ने प्रवृत्ति पनि पार्टीमा सार्वजनिक भएको देखिन्छ । यसलाई कसरी समाधान गर्नुहुन्छ ? 

यो पक्ष अपवादका रुपमा नदेखिएको हैन तर हरेक समस्याको समाधान विधि र नीतिले नै खोज्ने हो । पार्टी कामको जिम्मा लिएपछि तोकिएको जिम्मेवारी पूरा गर्नैपर्छ । यसका लागि लुम्विनी प्रदेशले लिखित विवरण माग्ने गरेको छ । हरेक वैठकमा अनिवार्य उपस्थिति गराइएको छ । यसो गर्दा काम गर्नेपर्ने अवस्था आउने छ । लगातार तीनवटा वैठकमा अनुपस्थित हुनेलाई विना मोलाहिजा हटाएर नयाँलाई राख्ने प्रावधान राखिएको छ । यसले गर्दा काममा सक्रिय हुनैपर्ने अवस्था सृजना गरिएको छ । त्यसका साथै कामको अनुगमन गर्ने प्रणालीको पनि विकास गरिने छ । यसो गर्दा कसैले कामको मूल्यांकन भएन भन्ने अवस्थाको पनि अन्त्य हुनेछ । र समय दिन नसक्नेले अर्कोलाई जिम्मेदारी दिन बाध्य हुनेछ ।  

मिशन ८४ लाई सफल बनाउने ठोस कार्यक्रम के हो ?

यसका लागि पहिलो सदस्य संख्या वढाउने हो । पार्टी केन्द्रले मतदाताको ६ प्रतिशतले सदस्य वढाउने भनेको छ । यस प्रदेशमा यो कार्यक्रम पूर्णतः लागू गरिने छ । विगतमा हामीले गरेका राम्रा कामलाई पनि सही प्रकारले प्रचार गर्न सकेनौं । हामीमाथि अनेक घेराबन्दी गरियो । तैपनि मतका हिसाबले पहिलो र प्रतिनिधिका हिसावले दोश्रो ठूलो दलको रुपमा स्थापित भएकै हो । हिजोका चुनौतीलाई न्युन गर्दै नयाँ सम्भावनाको खोजी गरेर सो अभियान सफल बनाउने छौं ।

जनप्रतिनिधिका माध्यमबाट शासकीय भूमिकालाई प्रभावकारी बनाउने, सुशासन र विकासका प्रश्नमा अन्य पार्टीको तुलनामा फरक र विशिष्ट देखिने गरी काम गर्ने, हाम्रा गतिविधिलाई जहाँ समस्या त्यहाँ नेकपा (एमाले) भन्ने अभियानका साथ गरिचालन गर्ने, युवा पुस्तामा नेतृत्व विकासका लागि विद्यार्थी परिचालन गर्ने, हरेक पालिकामा युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण गर्ने, प्राविधिक तथा व्यवसायिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई पार्टीमा जोड्ने, र पार्टी नेता तथा कार्यकर्ताका परिवारलाई राजनीतिक विचार र संगठनसँग जोड्न पहलकदमी लिने गरी कामलाई अघि बढाइने छ । 

आर्थिक कुराले धेरै ठाउँमा समस्या आएका देखिन्छन् । खासगरी सामाजिक संस्थामा प्रतिनिधित्व गर्नेबाट यस्ता समस्या आएको पाइन्छ । यस प्रकारका समस्यालाई कसरी हेर्नु भएको छ ?

आर्थिक पारदर्शितालाई महत्वपूर्ण पक्ष मानेका छौं । त्यसैले पार्टीले पालिका तहसम्मका सबै कमिटीलाई अडिट गर्ने व्यवस्था मिलाएका छौं । जहाँसम्म सामाजिक सस्थाहरुमा देखिने गरेका समस्या हो तिनको समाधान गर्न फ्याक्सन वनाएर चलाउने नीति वनाइने छ । यसो् गर्दा समस्याको समाधान हुन्छ भन्ने पूर्ण विश्वास छ ।