uml logo

सरकार सवै क्षेत्रमा असफल, जनसंगठनको तीन महिने अभियान

image

भालुवाँग,

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले सरकार हरेक क्षेत्रमा असफल बन्दै गैरहेको बताउनु भएको छ । 

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीद्वारा देउखुरी दाङमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा मन्तव्य राख्दै उहाँले वर्तमान सरकार राजनिक,आर्थिक,सामाजिक,कुटनितिक क्षेत्रमा असफल सावित भएको आरोप लगाउनु भयो । उहाँले यो सरकार देश र जनताको निम्ति बोझ साबित भएको भन्दै सरकारले नैतिक धरातल गुमाईसकेको बताउनु भयो ।

नेकपा (एमाले) जनसंगठन संयन्त्रका प्रमुख ढकालले जनताका जल्दाबल्दा समस्या,पेशागत सुरक्षा र मागलाई लिएर अगाडि बढ्न जनसंगठनलाई निर्देशन दिनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री लिला गिरीले वर्तमान सरकारले देश र जनताको पक्षमा थोरै पनि काम गर्न नसकेको बताउनु भयो । 

उहाँले महङ्गी बढेको ,सरकारकै संरक्षणमा भ्रटाचार मौलाएको भन्दै सरकारका बिकृतिको भण्डाफोर र जनताको पक्षमा आबाज बुलन्द गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले लुम्बिनी प्रदेशमा नेकपा एमाले एक ढिक्का रहेको बताउनु भयो । उहाँले उच्च मनोवलका साथ संगठन निर्माण र सुदृढीकरणको निम्ति जुट्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।

 

प्रदेश कमिटीका सचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख लक्ष्मण आचार्यको अध्यक्षता र उपप्रमुख नरेश भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका सदस्य लक्ष्मण ज्ञवाली,मो. हारुन हलुवाई , साजिदा सिद्धिकी, प्रदेश कमिटीका उपसचिव लिला राना लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा २३ वटा जनवर्गीय संगठनका प्रमुखहरुले संगठनको अवस्था र भावी योजना प्रस्तुत गरेका थिए । 

बैठकले कार्तिक १५ गते सम्म सबै जनसंगठनका बैठक सम्पन्न गर्ने, कार्तिक समान्त सम्म समय अवधि सकिएका संगठनको अधिबेशन तथा भेला गर्ने, माघ मसान्त सम्म सबै जनसंगठनले अभियानकै रुपमा सदस्यता वितरण गर्ने, पौष मसान्त भित्र सबै जनसंगठनका प्रदेश पदाधिकारीको प्रशिक्षण सम्पन्न गर्ने,प्रत्येक जनसंगठनले श्रम शिविर ,स्वास्थ्य शिविर ,खेलकुद, रक्तदान,अन्तरक्रिया लगायतका रचनात्मक क्रियाकलाप आफ्नो अनुकुलता र सन्दर्भ अनुसार सञ्चालन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ।