uml logo

राष्ट्रसंघका महासचिव गुटेरेस र अध्यक्ष ओली भेटवार्ता ः सङ्क्रमणकालीन न्याय र जलवायु परिवर्तनमा छलफल

image

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेस र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) आज भएको भेटवार्तामा सङ्क्रमणकालीन न्याय प्रक्रिया, जलवायु परिवर्तन, विश्व शान्तिमा नेपालले गर्दै आएको योगदानका विषयमा कुराकानी भएको छ ।

पार्टीका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीका अनुसार सो अवसरमा राष्ट्र संघका महासचिव गुटेरेसले आफूलाई नेपाल भ्रमणका लागि शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल, नेपालको सफल शान्ति प्रक्रिया र विश्व शान्तिका लागि नेपालले शान्ति सेना पठाउने दोस्रो ठूलो मुलुकका रुपमा गरेको योगदान यस भ्रमणका लागि प्रेरणाका विषय भएको बताउनुभएको थियो । 

उहाँले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया छिटो टुङ्गियोस् भन्ने आफ्नो चाहना रहेको वताउनुभयो । 

जलवायु परिवर्तनको असर कम गर्न योगदान गर्ने नेपालजस्ता अग्रपङ्तीका देशलाई परिरहेको असरका बारेमा आफूले हिमाली क्षेत्रमै पुगी स्थलगत निरीक्षण गर्ने र यस बिषयलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रुपमा उठाउने आफ्नो चाहना रहेको पनि महासचिव गुटेरेसले वताउनुभयो । 

सो अवसरमा नेकपा (एमाले) का अध्यक्ष ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको वताउँदै सङ्क्रमणकालीन न्याय प्रक्रिया छिटो टुङ्गियोस् भन्ने चाहना आफूहरूको पनि रहेको स्पष्ट गर्नुभयो ।  

अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्याउने सन्दर्भमा सबैभन्दा ठूलो भूमिका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हुने भए पनि उहाँले हिंसा शुरु भएकै दिन (फागुन १ गते(लाई उत्सवको दिनका रुपमा मनाउने निर्णय गर्नुभएबाट धेरै पीडितहरू दुःखी र निरास भएको वताउनुभयो । 

सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गो लगाउने सन्दर्भमा धारणा राख्दै अध्यक्ष ओलीले भन्नुभयो– यो विषय टुङ्गो लगाउँदा गम्भीर मानव अधिकार उल्लङ्घनमा माफी हुनसक्दैन । सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय कानुन र पीडितले न्याय पाउनुपर्ने कुरामा केन्द्रित हुनुपर्छ । 

उहाँले जलवायु परिवर्तनको असर कम गर्ने सन्दर्भमा नेपालले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै नेपालको योगदानलाई अन्तर्राष्ट्रिय जगतले ठीक ढङ्गले बुझ्न नसकेको र नेपालको योगदान अनुसार मूल्याङ्कनमा कमी रहेको वताउनुभयो । 

अध्यक्ष ओलीले बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा राष्ट्र सङ्घका पूर्व महासचिव उ थान्तको ठूलो योगदान रहेको स्मरण गर्दै महासचिव गुटरेसको पनि त्यस्तै योगदानको अपेक्षा गर्नुभयो । 

उहाँले आफूले संयुक्त राष्ट्र संघलाई बलियो, प्रभावकारी र नतिजामुखी देख्न चाहेको र त्यसका लागि नेपाल सधै साथमा रहेको वताउनुभयो । 

भेटमा अध्यक्ष ओलीको साथमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिवद्वय ज्ञवाली र विष्णु रिमाल, स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभागका प्रमुख डाक्टर राजन भट्टराई, प्रतिनिधि सभामा नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी र परराष्ट्र मामिला विभागका सचिव डाक्टर अन्जान शाक्य हुनुहुन्थ्यो । 

महासचिव गुटरेस चारदिने नेपाल भ्रमणका लागि गएराती काठमाडौं आइपुग्नुभएको हो ।