uml logo

लुम्बिनीः विश्व शान्ति, देशभक्ति र परिवर्तनको अग्रभूमि

image

लुम्बिनीले धेरै विषयमा सिङ्गो राष्ट्रको अगुवाइ गर्दै आएको छ । नेपालमा सबैभन्दा पहिले भेटिएको नरवानर रामापिथेकसको बङ्गारा होस् या दाङ उपत्यकामा भेटिएका पुरापाषाणकालीन हतियारहरु– लुम्बिनीको चुरे र आसपासको भूभाग एक करोड वर्षभन्दा अगाडिदेखि नै मानवका पूर्खाहरु र आदिमानवको विचरणस्थल थियो भन्ने प्रामाणिक ढङ्गले पुष्टि भइसकेको छ । 

यसै भूमिमा आजभन्दा २६ सय वर्ष अगाडि गौतम बुद्धले विश्वशान्ति, अहिंसा, करुणा र मानव कल्याणका सुन्दर विचारहरु विजारोपण गरेका थिए । कतिपय धार्मिक या दार्शनिकहरुका शिक्षाभन्दा पृथक उनले अर्को कुनै काल्पनिक लोकमा होइन, यसै लोकमा मानव जातिको मुक्ति संभव छ भन्ने औंल्याएका थिए । संसारमा दुःख छ, दुःखको कारण छ, यसबाट मुक्ति संभव छ र मुक्तिको मार्ग पनि छ भनेर अगाडि सारिएको उनको चार आर्यसत्य र त्यस मुक्तिको प्राप्तिका लागि उनीबाट प्रतिपादित मार्गले संसारलाई आज पनि गहिरो गरी प्रभावित गरिरहेको छ । संसारमा कुनै पनि नित्य छैनन्, प्रत्येक चिज परिवर्तनशील छन् भन्ने उनको महत्वपूर्ण दार्शनिक प्रस्थापना र संसारका सबै वस्तुहरु कार्य–कारण सम्बन्धमा आधारित रहेर अन्तरसम्बन्धित हुन्छन् भन्ने ‘प्रतीत्य समुत्पाद’ सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक छन् ।

यसै लुम्बिनीको भूमिमा आजभन्दा झण्डै २३ सय वर्ष अगाडि साङ्ख्य दर्शनका प्रणेता महर्षि कपिलले यस जगतको सृष्टिका आधारका रुपमा २५ तत्वहरुलाई सूत्रबद्ध गरेका थिए । प्रकृतिलाई प्रधान र पुरुषलाई द्वितीय ठान्ने साङ्ख्य दर्शनको प्रारम्भिक भौतिकवादी दृष्टिकोण धेरै हिसाबले आधिकारिक र सही देखिन्छ ।

यो यही भूमि हो, जहाँ नेपालमाथि कुदृष्टि लगाउँदै र नेपाललाई पनि आफ्नो ‘कहिल्यै घाम नअस्ताउने’ साम्राज्यमा विलिन गराउने उद्देश्य बोकेर आएको ब्रिटिश उपनिवेशवादीहरुसँग कर्णेल उजिरसिंहको नेतृत्वमा हाम्रा बहादुर पूर्खाहरुले वीरतापूर्ण प्रतिरोध युद्ध गरेका थिए । त्यस देशभक्तिपूर्ण युद्धमा हासिल भएको शानदार विजय र नेपाली देशभक्तिको गौरवपूर्ण परम्परालाई स्मरण गराउँदै आज पनि जीतगढी किल्ला तिनाउ नदीको किनारमा शिर ठाडो गरेर उभिएको छ ।

यो त्यही भूभाग हो, जहाँ अर्घाखाँचीमा जन्मेर गुल्मीको रेसुङ्गालाई तपस्थल बनाएका सन्त शशिधर स्वामीले आजभन्दा झण्डै दुई सय वर्ष अगाडि जोसमनी सन्त परम्परालाई अगाडि बढाएका थिए । कुनै बेला नेपालभित्र मात्र होइन, भारत र बर्मा (आजको म्यान्मार) सम्म फैलिएको उनको चिन्तनबाट एक अवस्थामा लखन थापा, योगमाया र राजा रणबहादुर शाहसम्म प्रभावित भएका थिए । त्यस युगमा पनि मान्छेहरु एक हुन्, जातीय विभेद धर्मसम्मत छैन र विधवाहरुले पुनः विवाह गर्नु धर्मविपरीत होइन भन्ने उनको सुधारवादी सोचका कतिपय विषय आज पनि सान्दर्भिक छन् ।

२००४ सालमा शिक्षामा सुधार र आधुनिक विषयहरु पनि पठनपाठन हुनु पर्ने माग राखेर सञ्चालन भएको ‘जयतु संस्कृतम्‘ आन्दोलनमा गोकर्णराज शास्त्री लगायत लुम्बिनीका विभिन्न व्यक्तित्वहरुको सहभागिता र अगुवाइ थियो ।

यसरी नेपालमा औपचारिक रुपमा राजनीतिक संस्थाको जन्म हुनुभन्दा अगावै, राजनीतिक परिवर्तनका लागि लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको विधिवत् आरम्भ हुनुभन्दा अगावै लुम्बिनीले विश्व शान्ति, देशभक्तिपूर्ण सङ्घर्ष र सामाजिक सुधारको आन्दोलनमा अग्रणी भूमिका खेलिरहेको थियो ।

आज नेपाली कम्युनिष्ट आन्दोलन र नेकपा (एमाले) नेपाली जनताका तिनै गौरवपूर्ण परम्पराहरुलाई समेत बिरासतमा लिँदै, तिनका असल शिक्षाहरुलाई समेत ग्रहण गर्दै राष्ट्रिय शक्तिका रुपमा स्थापित भएको छ ।

२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएसँगै लुम्बिनी विचार, आन्दोलन र सङ्गठनको अग्रमोर्चाका रुपमा रह्यो । राणाशाही विरुद्धको आन्दोलनमा पाल्पा, रुपन्देही लगायत जिल्लाहरुले महत्वपूर्ण भूमिका खेले । दिल्ली सम्झौताको विरुद्ध डा. केआई सिंहले रुपन्देहीबाटै प्रतिरोध सुरु गरेका थिए । २०१५ सालमा नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभामा जम्मा चार सिटमा विजय हासिल गर्दा एक सिट जित्ने गौरव पाल्पा जिल्लाले हासिल गरेको थियो, जहाँबाट कमलराज रेग्मी निर्वाचित भएका थिए । नेपालको वामपन्थी आन्दोलनका पहिलो पुस्ताका व्यक्तित्वहरु केशरजङ्ग रायमाझी (दोस्रो महाधिवेशनबाट निर्वाचित महासचिव, पछि भने आन्दोलनबाट पलायन भएका), प्रयागलाल श्रेष्ठ (माक्र्सवादी विचारका पक्षधर र प्रचारक भएर पनि कम्युनिष्ट पार्टीमा भने कहिल्यै सङ्गठित भएनन्, सामाजिक जागरणमा उनको महत्वपूर्ण योगदान रह्यो) लगायत पनि यसै लुम्बिनीबाट उदाएका थिए । त्यसपछि अगाडि आउनुभएका कमरेड जीवराज आश्रित र नेत्रलाल अभागी सहित सिद्धिनाथ ज्ञवाली, एकदेव ज्ञवाली, केशरमणि पोखरेल लगायत अग्रजहरुको भूमिका महत्वपूर्ण रहेको छ ।

लुम्बिनीमा कम्युनिष्ट पार्टीको जग यति बलियो कसरी हुन सकेको छ ? यसको मुख्य कारणका रुपमा यहाँको पार्टीले जनताका समस्यासँग निकटबाट जोडिएर समस्या समाधानका लागि अग्रणी भूमिका खेलेको विषयले महत्वपूर्ण योगदान रहेको छ । सुरुवाती दिनहरुमा गाउँघरमा हुने जालीफटाहाहरुका ज्यादती विरुद्ध कम्युनिष्टहरुले अग्रणी भूमिका खेले । स्कुल खोलेर शैक्षिक जागरण ल्याउन पहल गरे । स्थानीय सामन्तहरुले कब्जा गरेका सार्वजनिक जग्गाहरु फिर्ता गराउन र त्यसको संरक्षण गर्न, महिला र दलितहरुमाथि हुने विभेद अन्त्य गर्न, अन्धविश्वास, रुढी र कुरीतिहरुका विरुद्ध उनीहरु अग्रपङ्क्तिमा उभिए । पञ्चायती सरकारले लाद्न खोजेको जबर्जस्ती बचत र भूमिसुधारका नाममा हुने अनियमितता विरुद्ध २०३० साल कार्तिकमा तत्कालीन लुम्बिनी अञ्चलका सबै जिल्ला सदरमुकाममा भएका विशाल किसान प्रदर्शनहरु, त्यस अगाडि भएका परासी गोलीकाण्ड, गुम्राह थारुको शहादत, श्रृङ्गा विद्रोह, बर्रे सङ्घर्ष लगायतका घटनाहरु यसका प्रतिनिधि उदाहरण हुन् । खास गरी २०२५ सालमा कमरेड पुष्पलालले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत् पार्टीलाई पुनर्गठन गरेपछि र २०३५ सालमा नेकपा (माले) गठनपछि लुम्बिनी कम्युनिष्ट आन्दोलनको मूलधारको अग्रमोर्चाको रुपमा स्थापित हुँदै आएको छ ।

२०३५÷३६ को विद्यार्थी आन्दोलनको सन्दर्भ होस् या २०४६ सालको ऐतिहासिक जनआन्दोलनको प्रसङ्ग होस्, लुम्बिनीले सक्रिय पहलकदमी गरेको छ । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रको तानाशाही कदमपछि आन्दोलनको नयाँ उभार सिर्जना गर्न लुम्बिनीले २०६२ मङ्सिर ४ गते आयोजना गरेको बुटवलको विशाल आमसभा एउटा महत्वपूर्ण उत्प्रेरक घटना रहेको थियो । जातीय अतिवादी तत्वहरु र वाह्य शक्तिहरुको समेतको स्वार्थमा लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुलाई तराईका जिल्लाहरुबाट अलग गर्न खोजिएको विखण्डनकारी कदमका विरुद्ध लुम्बिनीका जनताले पार्टीको अगुवाइमा गरेको शानदार सङ्घर्ष राष्ट्रिय एकताको सङ्घर्षका एउटा कोसेढुङ्गाका रुपमा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र यसका पूर्ववर्ती समूहहरुले गरेका राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका पक्षमा गरेका यिनै सङ्घर्षका कारण पार्टी आज लुम्बिनीको मुख्य राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ । पछिल्लो सन्दर्भको मात्रै कुरा गर्ने हो भने पनि सत्तामा रहेका ६ वटा दलहरुले प्रतिपक्ष विरुद्ध गरेको गठबन्धन (लोकतन्त्रमा यो अस्वाभाविक मात्रै होइन, अलोकतान्त्रिक तरिका पनि हो), राज्यसत्ता र साधनस्रोतहरुको चरम दुरुपयोग र कतिपय मिडिया, राज्यका संवेदनशील अङ्गहरुको दुरुपयोग तथा कतिपय वाह्य पक्षहरुको घेराबन्दीको बाबजुद आज पनि लुम्बिनीमा नेकपा (एमाले) प्रतिनिधिसभा, प्रदेशसभा सिट र समानुपातिक मतमा समेत पहिलो पार्टीका रुपमा स्थापित छ ।

आज मुुलुक बहुआयामिक सङ्कटबाट गुज्रिरहेको छ । आफ्नो सत्ता टिकाउनका लागि वाह्य शक्तिका अवाञ्छित स्वार्थको समेत संवाहक बन्ने वर्तमान सरकारका गलत नीतिका कारण राष्ट्रिय हित जोखिममा छ । स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हित–आधारित परराष्ट्र नीति अवलम्बन गर्नु पर्नेमा सरकारले लिइरहेको उल्टो बाटोका कारण नेपाल बदलिँदो भूराजनीतिका प्रतिष्पर्धाको चपेटामा पर्ने हो कि भन्ने आशङ्का बढ्दै गएको छ । दलाल–पुँजीवादलाई प्रश्रय गर्ने र तिनीहरुको सेवा गर्ने सरकारका गलत आर्थिक नीतिहरुका कारण आज मुलुक गहिरो आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । इतिहासमै पहिलो पल्ट आन्तरिक राजस्वले सरकारको दैनिक खर्च धान्न नसक्ने अवस्था यो सरकारले सिर्जना गरेको छ । विकास निर्माणका काम ठप्प छन् । रोजगारी र उत्पादनका क्षेत्रहरु झनै साँघुरिँदै गएका छन् । महङ्गी र भ्रष्टाचारले मुलुक आक्रान्त छ । गठबन्धनका नाममा भइरहेको दोहनकारी, विकृत र सत्ताकेन्द्रित गतिविधिका कारण समाजमा आम नैराश्य बढ्दो छ । सम्हालिइसकेको सामाजिक सम्बन्धलाई फेरि एकपटक पहिचानका नाममा, धर्म र संस्कृतिका नाममा खल्बल्याउने, सामाजिक सद्भाव बिथोल्ने र राष्ट्रिय एकतालाई खण्डित गर्ने अतिवादी क्रियाकलाप भइरहेका छन् । खुद प्रधानमन्त्री प्रदेशहरुको नामाकरण जातीय आधारमा गर्न बहुमत दिनका लागि आह्वान गरिरहेका छन्, अतिवादलाई बढावा दिइरहेका छन् । समाजलाई अराजकता, दूरी र वैमनश्यतिर धकेल्ने प्रयाशहरु योजनाबद्ध रुपमा अगाडि बढाइएको छ ।

मुलुकलाई यस्तो सङ्कटबाट मुक्त गर्न बलियो राष्ट्रिय शक्तिको खाँचो छ । यस्तो राष्ट्रिय शक्ति, जससँग सामाजिक–आर्थिक रुपान्तरणको स्पष्ट गन्तव्य होस्, जससँग स्पष्ट दृष्टिकोण र सिद्धान्त होस्, जससँग सत्ताका सङ्कीर्ण स्वार्थबाट माथि उठेर राष्ट्र बदल्ने स्पष्ट सङ्कल्प होस् । नेकपा (एमाले) सँग मात्रै यी सबै कुराको सङ्गम छ । पार्टीले विगतका अनेकौं चुनौतीका बिचबाट राष्ट्रिय स्वाधिनता, लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव, सामाजिक न्याय, विकास र समृद्धिका निश्चित लिगेसीहरु स्थापित गरेको छ । यिनै लिगेसीका कारण आज पार्टी यति विघ्न घेराबन्दीका बिचमा पनि जनताको रोजाइको पहिलो पार्टीका रुपमा जनजनको मुटुमा बस्न सफल भएको छ भने मुलुकलाई अनन्त अस्थिरता, अविकास र राजनीतिलाई दोहनका रुपमा बुझ्नेहरुका लागि आँखाको कसिङ्गर बनेको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा, जनतासँगको अविच्छिन्न सम्बन्धको बलमा र समृद्ध नेपाल, सुखी नेपालीको अदम्य सङ्कल्प बोकेर यस पार्टीले वर्तमानका सबै चुनौतीहरु चिर्दै आगामी निर्वाचनमा तीनै तहमा बहुमतप्राप्त पहिलो शक्ति बनाउन दृढप्रतिज्ञ छ ।

आजबाट सुरु भएको पार्टीको प्रथम लुम्बिनी अधिवेशनले यो सङ्कल्प पूरा गर्न कोसे ढुङ्गा बन्न सकोस्– हार्दिक शुभकामना ।