uml logo

लुम्बिनीमा नेकपा (एमाले)को सामर्थ्य

image

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा लुम्बिनीको स्थान अग्रणी रहँदै आएको छ । संस्थापक नेता आदरणीय पुष्पलालको नेतृत्वमा पार्टी स्थापना भएसँगै यस भूखण्डमा कम्युनिष्ट आन्दोलनको विजारोपण भएको तथ्यहरुले बताउँछन् । यसरी नै सांगठनिक संरचना निर्माण र जनसंघर्षका कार्यहरु विभिन्न कालमा हुँदै आएका छन् । पार्टी स्थापनाकालमा मूलतः यस क्षेत्रमा किसान र विद्यार्थीहरुको बीचमा सांगठनिक कार्य र संघर्षका कार्यक्रमहरु भएको पाइन्छ । तराईमा जमिन्दार विरोधी संघर्ष, आधारभूत वर्गका श्रमजीवी जनताको मानसम्मानको निम्ति चालिएका अभियानहरु र पहाडमा सामन्त शोषकहरुका विरुद्ध जाली तमसुक विरोधी अभियान महत्वपूर्ण छन् । ‘रे नही जी कहो’ आन्दोलन, हर्रेबर्रे संघर्ष, २०३० सालमा गुल्मी अर्घाखाँचीमा गरिएको किसान संघर्ष र जमिन्दारको भकारी फोर आन्दोलन उदाहरणीय छन् । यसको साथसाथै २०३६ सालको विद्यार्थी आन्दोलन, २०४५ सालको संघर्ष, २०४६ सालको पंचायत विरोधी संघर्ष र २०६२÷६३ को राजतन्त्र विरोधी संघर्षमा यस प्रदेशको निर्णायक महत्वको भूमिका रहेको कुरा जगजाहेर छ ।

निरंकुश र तानाशाही कालमा फरक विचारधारात्मक राजनीति गर्नु सामान्य कुरा थिएन, जीवनको खतरा मोलेर राजनीतिक क्रियाकलापमा भाग लिनुपर्दथ्यो । यस्तो समयमा पनि घर, गृहस्थ त्यागेर भूमिगत शैलीमा सयौं नेता कार्यकर्ताहरु पार्टी निर्माणमा सकृय हुनुहुन्थ्यो । जीवराज आश्रित, मोदनाथ प्रश्रित, नेत्रलाल अभागी, देवेन्द्र घिमिरे, भीमनारायण थारु, सिद्धिनाथ ज्ञवालीलगायतका नेताहरुको नाम उदाहरणको रुपमा लिन सकिन्छ । उहाँहरुको भूमिका र योगदान यहाँको पार्टी निर्माणमा अतुलनीय र अविस्मरणीय छ ।

निरंकुशकालमा स्थापना र निर्माण भएको यो पार्टीको संरचना र हैैसियतलाई आजको विन्दुमा उभिएर केही मूल्यांकन गरौं र थप अगाडि बढ्ने अठोट गरौं ।

व्यापक र बिस्तारित संगठनात्मक संजालः

लुम्बिनी प्रदेशमा नेकपा (एमाले)को सांगठनिक संजाल गाउँ, टोल र घरसम्मै फैलिएको छ । भूगोलको अलावा सामाजिक संघसंस्थाहरुमा पनि यसको संगठनात्मक प्रभाव र संरचना बलियो बनेको छ । भौगोलिक रुपमा १२ जिल्ला, २६ निर्वाचत क्षेत्र, ५२ वटा प्रदेश निर्वाचन क्षेत्र, १०९ पालिकाको वडा तहसम्म बलियो संरचना बनेका छन् । 

यी सबै राज्यका संरचनाअनुसार नै हाम्रो पार्टी नेकपा (एमाले) को पनि सांगठनिक संरचना मौजुद छ । सबै जिल्लाहरुमा जिल्ला कमिटी, निर्वाचन क्षेत्रहरुमा क्षेत्रीय कमिटी, पालिकाहरुमा पालिका कमिटी, वडा, टोल र गाउँहरुमा सोही स्तरका कमिटीहरु निर्मित र संचालित छन् । केही समय पहिले पार्टीबाट संचालिन मिशन ग्रासरुट अभियानले पार्टी संगठनका संरचनाहरुको निर्माण र संचालनमा महत्वपूर्ण भूमिका खेलेको छ । टोल र गाउँ स्तरसम्म फैलिएको संगठनको मजबुत संजाल हाम्रो पार्टीको खास विशेषता हो । 

यसरी नै पार्टी मातहतमा रहेका २३ वटा जनसंगठनहरुको सांगठनिक संरचना पनि यस प्रदेशका सबै जिल्लाहरुमा व्यवस्थित छन् । संगठनहरुको आफ्नो विशेषता अनुरुप सांगठनिक संरचना बनाएका छन् । विद्यार्थीहरुमाझ अनेरास्ववियु, युवाहरुको बीचमा युवासंघ, महिलाहरुको बीचमा अनेमसंघ, दलित समुदायमा मुक्ति समाज, मुस्लिम समुदायमा इत्तेहात संगठन, थारु जनजातिहरुमा आदिवासी जनजाति महासंघ स्थापित छन् । अरु जनसंगठनहरु पनि आफ््नो समुदायमा तदअनुरुप विस्तारित छन् ।

सामाजिक संघसंस्थाहरु जसमा पार्टीको सिधै कमिटी निर्माण हुन सक्दैन, त्यस्ता ठाउँहरुमा पनि पार्टीका सदस्यहरुको नेतृत्व र सहभागिताले राजनीतिक प्रभाव विस्तारमा भूमिका खेलिरहेका छन् । खानेपानी, वन, सहकारीलगायतका जनसरोकारका सामाजिक संस्थाहरुमा पार्टीका प्रतिनिधिको सहभागिता, जनचाहनाअनुसारको परिचालनमा पार्टी पंक्तिको भूमिका उदाहरणीय छन् ।

पार्टी सदस्य निर्माण र विस्तार पनि यस प्रदेशमा व्यापक छ । पार्टी विधानले मापदण्ड तोके बमोजिम कुनै यस्तो समुदाय छैन, जहाँ पार्टीका सदस्य नभएको होस् । सबै भूगोल, जाति, उमेर र समुदायमा पार्टी सदस्यको फैलावट छ । युवा महिला, दलित, मधेशी, मुस्लिम, थारु, जनजाति, मजदुर, किसान, सुकुम्वासी, व्यवसायी, बुद्धिजीवी सबैतिर पार्टी सदस्य विस्तारित र परिचालित छ । उत्तरमा पुथा हिमालदेखि दक्षिणको समथर तराईसम्मका जनताको पृय पार्टीको रुपमा नेकपा एमाले जनजनमा बसेको छ । 

पार्टीको केन्द्रीय नेतृत्व संरचनामा लुम्बिनीको प्रभावः

पार्टी वा अन्य कुनैपनि संघसंगठनको नेतृत्वमा पुग्ने कुरा सामान्य कुरा होइन । क्षमता, भूमिका र योगदानको परिणामले नै नेतृत्व स्थापित हुने हो । पार्टी निर्माण र आन्दोलनहरुमा खेलेको विशिष्ट योगदान र भूमिकाकै परिणाम होला आज नेकपा (एमाले) को केन्द्रीय नेतृत्व संरचनामा यस प्रदेशबाट ठूलो संख्यामा बलियो उपस्थिति छ । दुई जना उपाध्यक्ष, महासचिव, उपमहासचिव, तीन जना सचिवसहित सात जना केन्द्रीय पदाधिकारी, १ जना स्थायी कमिटी, १३ जना पोलिटव्यूरो सदस्य, ४० जना केन्द्रीय सदस्य, दुई जना उपाध्यक्षसहित १५ जना केन्द्रीय आयोजनाका सदस्यहरु, ७३ जना केन्द्रीय सल्लाहकार र ६४ जना केन्द्रीय विभागमा प्रतिनिधित्व गर्ने कमरेडहरु यस प्रदेशबाट रहनु भएको छ । यस किसिमको उपस्थिति हुनु हाम्रो लागि गौरवको विषय पनि हो ।

यसरी नै जनसंगठनहरुको केन्द्रीय नेतृत्वमा पनि सयौं कमरेडहरु रहनुभएको छ ।

प्रदेशको संसदीय क्षेत्रमा पार्टीको उपस्थिति

कुनै पनि पार्टी विशेषको हैसियत संघर्षहरुमा उसले लिने निर्णय, अडान र जन सहभागिताले देखाउँछ भने अन्य अवस्थामा निर्वाचनमा उसले जित्ने सीट र प्राप्त गर्ने जनमतले मापन गर्दछ । यो आन्दोलनको समय होइन । त्यसैले यस प्रदेशमा पछिल्ला निर्वाचनहरुमा पार्टीले जितेका सीट र प्राप्त गरेको मतको अवस्था के रह्यो त्यसको तथ्यांक हेरौं । पछिल्लो २०७९ को संघ र प्रदेश निर्वाचनको परिणामअनुसार यस प्रदेशमा २६ वटा केन्द्रीय निर्वाचन क्षेत्रहरु मध्ये हाम्रो पार्टी नेकपा एमालेले ११ केन्द्रीय सांसद विजय हासिल गरेको छ । यसरी नै ५२ वटा पदेश निर्वाचन क्षेत्रमा १८ वटा प्रदेश सांसद, १०९ वटा पालिकाहरुमध्ये ९ प्रमुख र १६ उपप्रमुख हामीले जितेका छौं । एमालेबाहेक सबै शक्ति एकातिर लागेको अवस्थामा स्थानीय तहमा दोस्रो र संघीय तथा प्रदेशमा पहिलो शक्तिको रुपमा रहेको छ । 

यसैगरी वडा संरचनामा ३१५ वडाअध्यक्षमा हामीले विजय हासिल गरेका छौं । हाम्रो पार्टी मतकै आधारमा समानुपातिकतर्फ केन्द्रमा र प्रदेशमा पहिलो रहेर समानुपातिक सांसद यस प्रदेशबाट प्रतिनिधित्व गरिरहनु भएको छ ।

संघीय निर्वाचन २०७९ को मत परिणामअनुसार यो प्रदेशमा हाम्रो पार्टी पहिलो शक्तिको रुपमा रहेको छ । यहाँबाट समानुपातिकतर्फ नेकपा (एमाले) ५१९८०७, नेपाली कांग्रेस ४७८२९०, रास्वपा २२०१३३, नेकपा (माओवादी केन्द्र) १८४२५० समानुपातिक मत रहेको छ । 

विशिष्ट क्षमताको नेतृत्व विकासमा लुम्बिनी

यस प्रदेशको भूगोलमा राजनीति गर्र्दै नेतृत्व तहमा पुग्नुभएका विभिन्न नेता कमरेडहरुले आफ्नो विशिष्ट पहिचान बनाउन सफल हुनुभएको छ । संगठनात्मक पद्धति, कार्यशैली, संगठन निर्माणमा विशिष्ट क्षमता प्रदर्शन गरेर दिवगंत नेता आदरणीय जीवराज आश्रितले आफूलाई कुशल संगठनको रुपमा स्थापित गर्नुभयो । प्रगतिवादी साहित्यमा विशिष्ट योगदान गर्दै जनचेतना जागृतिमा विशिष्ट भूमिका निर्वाह गर्नुभएका डा. मोदनाथ प्रश्रितको नाम वरिष्ठ साहित्कारको रुपमा स्थापित छ । सादगी, त्याग र संगठकको रुपमा पहिचान बनाउनुभएको दिवंगत नेता सिद्धिनाथ ज्ञवाली, नेत्र अभागी, भीमनारायण थारु, २० वर्ष भूमिगत जीवन व्यतित गर्दै पार्टी निर्माणमा विशिष्ट योदगान गर्नु भएका नेता देवेन्द्र घिमिरेलगायत थुप्रै नेताहरुले सादगी, त्याग र संगठकको रुपमा आफूलाई स्थापित गर्नुभएको छ । 

हाल पार्टीको नेतृत्वदायी भूमिकामा रहनुभएका कमरेडहरु विष्णुप्रसाद पौडेल, शंकर पोख्रेल र प्रदीप ज्ञवालीले विचार, विकास र संगठन क्षमतामा आफूहरुलाई रोलमोडेलको रुपमा स्थापित गरिरहनुभएको छ । नेतृत्व विकासमा देखिएको यो अवस्था हामी लुम्बिनीको पार्टीको लागि गौरवगाथा हो र सिंगो कम्युनिष्ट आन्दोलन र मुलुकप्रति लुम्बिनीको धर्तीले गरेको विशेष योगदान पनि हो ।

अन्त्यमा आज जसरी मुलुकको सामुन्ने रहेका आजका सम्पूर्ण कार्यभारहरुको सही सम्पादन गर्नसक्ने सामथ्र्य भएको पार्टी नेकपा एमाले हो र नेतृत्व केपी शर्मा ओली हो भन्ने कुरा थप प्रमाणित हुँदै गएको छ । त्यसरी नै यस लुम्बिनी प्रदेशको समृद्धि र विकास पनि नेकपा (एमाले) बाट मात्रै सम्भव छ भन्ने कुरा स्थापित छ । यहाँको कृषि, पर्यटन, जलश्रोत, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत अरु मानवीय विकासमा सम्पूर्ण कार्यहरु एमालेको नेतृत्वमा मात्रै संभव छ । सहि नीति र सक्षम नेतृत्वको कारणले नै आज नेकपा (एमाले) नेपाली जनताको एकमात्र आशा र भरोसाको केन्द्र बन्न सफल भएको छ । माथि उल्लेखित गौरवशाली इतिहास र वर्तमानका हाम्रो सामथ्र्यहरुलाई सही र सशक्त ढंगले परिचालन गर्दै हाम्रा सामुन्नेका अभिभाराहरुलाई पूरा गरौं । 

धन्यवाद ।