2023-09-01
जसका छन्,जाली फटाहाविरोधी कठोर अभियानमा अनेक आयाम । र,कम्युनिष्ट आन्दोलनमा अनवरत त्याग तथा योगदान । नेपाली कम्युनिष्ट आन्दोलनमा कहिल्यै विर्सिन नहुने नाम—नेपाली कम्युनिष्ट आन्दोलनका ‘बुद्धिविनोद’ अर्थात हरिप्रसाद ज्ञवाली । पुष्पलालका अति विश्वासिलो पात्र मध्येका एक ।
समाज रुपान्तरणका लागि विभिन्न भुमिकामा रहेर उच्च योगदान गर्नु भएका उहाँ हाल नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद्को सदस्य हुनुहुन्छ ।
ज्ञवालीको जन्म २००१ साल चैत्र २० गते गुल्मीको रुरु गाउँपालिका वार्ड नम्बर ५ दाङ्गसिर (तात्कालीन ज्ञवा वाहादी दाङ्गसिर) मा भएको हो । उहाँका पिताको नाम पं. त्रिलोचन ज्ञवाली र माताको नाम खगेश्वरा ज्ञवाली हो ।
ज्ञवाली गुल्मीबाट २०३६ मा बुटवल र २०६० सालदेखि काठमाडौं बसाइँ सर्नुभयो । अहिले काठमाडांै कोटेश्वरमा बस्नु हुने ज्ञवाली २०१९ सालबाट राजनीतिमा सक्रिय हुनुभयो । वनारसमा अध्ययन गर्ने शिलशिलामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको सम्पर्कमा पुग्नुभयो । पुष्पलालकै सम्पर्कबाट कम्युनिष्ट आन्दोलनमा सहभागी हुन पुग्नुभयो । उहाँले पार्टीको वनारस युनिटबाट राजनैतिक यात्रा सुरु गर्नुभयो । जतिबेला नेपालको पञ्चायती व्यवस्थाविरुद्ध वनारसमा आन्दोलन चर्किरहेको थियो । जुन आन्दोलनमा चर्को दमनस्वरुप लाठी प्रहार भयो । भागाभाग भयो । अरु कतिपयसँगै उहाँ पनि घाइते हुनुभयो ।
२०२२ सालमा जन्मस्थान गुल्मी फर्किएसँगै उहाँ राजनैतिक गतिविधिसँगै सक्रिय रहनुभयो । उहाँ नेकपा गुल्मीको २ नम्बर एरिया पार्टी सचिव हुनुभयो । त्यो बेला जाली फटाहाविरुद्ध संघर्ष चर्कियो । जाली तमसुक च्यात्ने अभियानसँगै पञ्चायती व्यवस्था विरोधी हरेक गतिविधिमा उहाँ निडर भएर अग्रमोर्चामा रहनुभयो । उहाँ २०२४ सालमा पार्टीले लिएको ‘वर्ग संघर्षविना मुक्ति सम्भव हुँदैन’ भन्ने नीतिलाई विस्तार गर्न खट्नुभयो ।
उहाँ २०२७ सालमा थोर्गामा सम्पन्न जिल्ला सम्मेलनबाट चयन सिद्धिनाथ ज्ञवाली सचिव रहेको कमिटीमा सचिवालय सदस्य हुनुभयो । २०३० सालमा तात्कालीन लुम्बिनी अञ्चलका सबै जिल्लाका सदरमुकामहरु किसानहरुले घेराउ गर्ने अभियानमा उहाँ उत्तिकै सकृय रहनुभयो ।
२०३० साल कार्तिक २६ गते तम्घासमा घेराउ गर्दा धुर्कोट, वामिटक्सार लगायतका क्षेत्रबाट जुलुसहरु निस्किए । त्यतिबेला उहाँ गुल्मी पश्चिम क्षेत्रमा खट्नु भएको थियो । तम्घासमा दसौं हजारको जुलुस पुग्यो । ज्ञवालीको सम्झना अनुसार रेडियो मस्को, बीबीसी लगायतका विदेशी सञ्चार माध्ययमहरुले उक्त जुलुसमा १० हजार जनता सहभागि भएको समाचार प्रसारण गरेका थिए । त्यो दिन ३६ जना पक्राउ परे । कयौँ घाइते भए । ज्ञवाली भने ठूलो आक्रमणबाट बालबाल सुरक्षित हुन सफल हुनुभयो ।
त्यति बेला सरकारले वचत कार्यक्रम ल्याएको थियो । वचत भकारी कार्यक्रम अन्तर्गत स्थानीयले तीन वर्षपछि मात्र फिर्ता लिने गरी रकम वा अन्न जम्मा गर्नुपथ्र्यो । तर, स्थानीय जनता यस्तो कार्यक्रममा सहमत थिएनन् । रुपन्देहीकी एक बृद्धा महिलाले तात्कालीन अञ्चलाधीशसँग ठाडो प्रश्न गर्नुभयो– ‘खान नै पुग्दैन कसरी वचत गर्ने ?’ यो प्रश्नपछि प्रशासन आतंकित बनेर दमनमा उत्रियो । उहाँले रुपन्देहीको लुम्बिनीमा प्रदर्शनकारीमाथि प्रशासनले गोली चलाउँदा ठूलो संख्यामा जनधनको क्षति भएको स्मरण गर्नुभयो । कपिलवस्तुको अजगरामा प्रहरी चलाएको गोलीबाट प्रदर्शनमा धेरै मानविय र भौतिक क्षति भयो । नवलपरासीमा पनि उस्तै क्षति भयो ।
आन्दोलन, दमन र प्रतिकारको प्रभाव गुल्मीमा पनि प¥यो । उहाँ सम्झनुहुन्छ– ‘हाम्रो वचत फिर्ता होस्, तराईका नेपाली किसानलाई नागरिकता देऊ, चरी ट्याक्स बन्द गर लगायतका नारासहितको विद्रोह लुम्बिनी कम्युनिष्ट पार्टीको निर्णय अनुसार भएको थियो ।’
गुल्मीको दिगाममा बिस्तारित बैठकपछि पार्टीका गतिविधिहरुको रिपोर्ट बुझाउँन ज्ञवाली फेरि २०३० मंसिरमा पार्टी कार्यालय पुष्पलाल कहाँ बनारस जानु भयो । बनारसमा पुष्पलालसँग भेटिरहेका बेला पुष्पलाललाई भेट्न आए वीपी र गिरिजा पनि । उहाँको सम्झना छ,– ‘पुष्पलालले वीपी र गिरिजासँग मलाई चिनाइदिनुभयो, गाउँ–गाउँमा राजनैतिक चेतना विस्तार गर्ने मान्छे भनेर । वीपीले ज्यादै राम्रो गर्नु भयो भन्दै धन्यवाद दिनुभयो ।’
लगत्तै उहाँ जिल्ला फर्किनुभयो । फर्किदा संगठन कमजोर भइरहेको थियो । नेता, कार्यकर्ताहरुमाथि व्यापक धरपकड थियो । कयौंले आत्मसमर्पण गरेका थिए । त्योबेला पार्टी संगठन जोगाउनका लागि फरक तरिकाको अर्को अभियान पनि चल्यो, कन्फिडेन्सियल टिमको नाममा । त्यो अभियानको ज्ञवाली सदस्य हुनुभयो ।
ज्ञवाली रक्सी विरोधी अभियानमा पनि उत्तिकै कठोर उत्रिनुभयो । त्यो बेला तराईंका धेरैजसो जिल्ला र गुल्मी, बागलुङलगायतका धेरै ठाउँहरूमा प्रशासनकै आडमा मौवाको रक्सी भट्टी खोल्ने, कम्युनिष्ट अभियन्तालगायत सर्वसाधारण जनतालाई खुवाउने र उनीहरुलाई कुलतमा फसाएर कम्युनिष्ट आन्दोलन तितरवितर पार्ने रणनीति थियो ।
लेवी संकलन, संगठन विस्तारमा सक्रिय हुँदा उहाँ पुष्पलालसँग उहाँको धेरै संगत भयो । उहाँ पुष्पलालको विश्वासिलो पात्र बन्न पुग्नुभयो । त्यहीबेला उहाँ बद्धिविनोदका नामले चर्चित हुनुभयो । २०२९ सालमा वनरासमा सम्पन्न चौथो सम्मेलनमा उहाँले गुल्मीबाट प्रतिनिधिको रुपमा भाग लिनुभयो ।
त्यो बेला लुम्बिनीका रुपन्देहीबाट बामदेव गौतम,अञ्चल कमिटीबाट सिद्धिनाथ ज्ञवाली,जनरल ब्यूरोबाट जिवराज आश्रित, देवेन्द्र घिमिरे, केन्द्रीय सदस्य केशरमणी गौतम लगायतका नेताहरुले महाधिबेशनमा भाग लिनुभएको थियो । फर्किदा आश्रित र आफू भैंसालोटन हुँदै नारायणीमा डुंगा तरेर नवलपरासी छिरेको र केही समय त्यहीँ पार्टी काममा खटेको उहाँको संझना छ ।
उहाँलाई वनारसमा पुष्पलालसंगै बसेर काम गर्ने प्रस्ताव आएको थियो । तर बुवा बिरामी भएका कारण आफू नगएको र गोविन्द ज्ञवाली गएको उहाँको भनाई छ ।
२०३५ श्रावण ७ गते पुष्पलालको देहान्त भएपछि मनमोहन अधिकारीले पार्टी आफूले चलाउने घोषणा गर्नुभयो । त्यतिबेला महासचिव मनमोहन, केन्द्रीय सदस्यहरूमा भरतमोहन अधिकारी, कमल कोइराला, केशव ज्ञवाली, हरि ज्ञवालीलगायतले पार्टीलाई सुदृढ गर्नुभएको उहाँको भनाई छ ।
राजनैतिक यात्राका क्रममा तुलसीलाल अमात्य,मनमोहन अधिकारी,भरतमोहन अधिकारी,नारायणमान बिजुक्छे लगायतका नेताहरुसंग उहाँको गहिरो संगत भयो । अहिले नेतृत्व र विभिन्न भुमिकामा रहेका अधिकांश समकालीन नेताहरुसंग असाध्यै नजिकको सम्वन्ध र सहकार्य भएको उहाँको अनुभव छ । मदन भण्डारीसंग बनारसमै भेट भएको थियो र मोदनाथ प्रश्रितसंग सांस्कृतिक मोर्चाका सिलसिलामा ।
२०३६ सालको जनमत संग्रह ताका (पार्टी प्रतिबन्धित अवस्थामा) ज्ञवाली र उहाँका साथीहरूले मनमोहन अधिकारी, भरतमोहन अधिकारी, कमल कोइराला लगायतका नेताहरुलाई लुम्बिनी अञ्चलभर हिँडाएर बहुदलको पक्षमा प्रचारात्मक अभियानमा अगुवाई गर्नुभयो ।
२०४५ सालमा वाममोर्चा र नेपाली कांग्रेस मिलेर पञ्चायतविरुद्ध चलाएको संयुक्त जनआन्दोलनमा उहाँ सशक्त तरिकाले लाग्नुभयो । पार्टी एकीकरणपछि ज्ञवाली नेकपा (एमाले) लुम्बिनी अञ्चलको सल्लाहकार सदस्य तथा प्रचार व्यूरो प्रमुख हुनुभयो ।
अञ्चल समन्वय कमिटीको सदस्य, कार्यालय सचिवको जिम्मेवारीसँगै बुटवलमा निर्माण भएको पार्टी अञ्चल कार्यलय भवनको जग्गा व्यवस्थापन र भवन निर्माणमा समेत उहाँले महत्वपूर्ण योगदान पु¥याउनु भयो । केही समय ज्येष्ठ कम्युनिष्ट मञ्चको सदस्य रहनुभएका उहाँ ०६५÷६६ देखि एमालेको निरन्तर केन्द्रीय सल्लाहकार परिषद्मा रहनुभएको छ । झण्डै आठ दशक लामो संघर्षपूर्ण जीवन यात्रामा ज्ञवालीले कुनै सार्वजनिक पद धारणा गर्नु भएन ।
ज्ञवाली कुशल सम्पादक र लेखक पनि हुनुहुन्छ । अहिलेसम्म उहाँका अनेकौं प्रगतिशील विचार प्रधान लेख रचनाहरु प्रकाशित छन् । उहाँका प्रगतिशील धारका दर्जनौं पुस्तकहरु प्रकाशित छन् ।
पार्टीको मुखपत्र ‘नवयुग’को लुम्बिनी संस्करण प्रकाशित हुँदा बुटवलमा उहाँले उक्त प्रकाशनको सम्पादन गर्नु भएको थियो । भूमिगतकालमा पार्टीले निकाल्ने पर्चा, पम्प्लेटदेखि २०२८ सालतिर पार्टीको लुम्बिनी कमिटीले प्रकाशन गरेको ‘नौलो राँको’, गुल्मी कमिटीले प्रकाशन गरेको ‘किसानबीच पार्टीलाई बसोवास गराऊ’ लगायत नामका प्रकाशनहरुमा उहाँको योगदान छ । २०२९ सालमा बनारसमा भएको चौथो राष्ट्रिय सम्मेलनको माइन्युट उहाँले नै लेख्नु भएको थियो ।
पुष्पलालसंगको संगतमा रहँदा राजनीतिसंगै शैक्षिक अभियान समेत चलाउनुपर्ने अनुभव गरेका ज्ञवालीले गाउँमा शैक्षिक चेतनाविस्तारको अभियान थाल्दै २०२२ सालमा गुल्मीको वाहादीमा प्राइमरी स्कुलको स्थापना गर्नुभयो, प्रधानाध्यापक बन्नुभयो । स्नातकोत्तर अध्ययन गर्नु भएका ज्ञवालीले वाहादीमा पुनः जनबोध निम्न माध्यमिक विद्यालय स्थापना गरेर प्रधानाध्यापक बन्नुभयो ।
उक्त विद्यालयमा धमाधम विद्यार्थी भर्ना हुने लहर चल्यो । त्यही विद्यालयमा अध्ययन गरेका कयौँ विद्यार्थीहरु विभिन्न क्षेत्रका उच्च तहमा पुगेर समाज र राष्ट्रलाई योगदान दिनुभयो, कयौँले दिइरहनुभएको छ ।
त्यसको एक वर्षपछि उहाँ शास्त्री अध्ययनका लागि फेरि वनारस जानुभयो । फर्केर आउँदा विद्यालय बन्द भएको थियो । लगत्तै उहाँ गुल्मीकै हुँगामा पढाउन थाल्नुभयो ।
राजनैतिक र शैक्षितक चेतना विस्तारमा निरन्तर सक्रिय उहाँले अनेक मानसिक यातना पाउनुभयो । एक दिन गुल्मी हुँगाको विद्यालयमा पठाईरहेका बेला उहाँलाई पक्राउ गर्न भन्दै १८ जना प्रहरी विद्यालयतर्फ जाँदै थिए । तर उहाँ बडो चलाखीले पक्राउ पर्नबाट बच्नु त भयो । तर हरेक दिनजसो मानसिक यातना र त्रासदीविच पनि राजनैतिक र शैक्षिक अभियानलाई निरन्तरता दिनुभयो ।
अविश्रान्त योद्धा ज्ञवाली यतिखेर थला पर्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा २०८० बैशाख ९ गते देशभरका १४ जेष्ठ कम्युनिष्टहरुसंगै उहाँ कम्युनिष्ट योद्धाका रुपमा सम्मानित हुनुभयो । तर अस्वस्थ भएका कारण भौतिक रुपमा सम्मान ग्रहण गर्न कार्यक्रमस्थलमा आफै पुग्न सक्नु भएन ।
शारिरिक रुमा थला परेपनि उहाँ पार्टी, सिद्धान्तप्रति उहाँ रत्तिभर विचलित हुनुहुन्न । ज्ञवालीले विस्ताराबाटै कामना गर्नुभयो – ‘एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको संकल्प छिट्टै पूरा होस् । यस महाअभियानमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वलाई सबैले सघाउ पु¥याउनुहुनेछ ।’
२०८० भदौ १४ गते