uml logo

पाल्पामा मुख्यमन्त्रीका तीन कार्यक्रमः ढिलासुस्ती र बहानाबाजी गर्ने छुट कसैलाई छैनः मुख्यमन्त्री

image

पाल्पा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु सरकारले सुनवाइ गर्ने बताउनु भएको छ । 

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सेवा प्रवाहमा हुने ढिला सुस्ति बारे नागरिक तहबाट हुने गुनासोलाई प्रदेश सरकारले सुनुवाइ गर्ने बताउनु भएको हो । प्रदेश सरकारका मन्त्रालय, विभाग, निर्देशनालय तथा जिल्ला तहमा रहेका कार्यालयहरुमा अनिवार्य रुपमा गुनासो पेटिका राख्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्दै ‘कर्मचारीले दुःख दिएको छ कि ? जनप्रतिनिधिले दुःख दिएको छ ? यो कुरा सुझाव पेटिका मार्फत गुनासो संकलन गर्छौं’उहाँले भन्नुभयो ,‘सरकारले प्रदान गर्ने सेवालाई नागरिकमैत्री बनाउँछ ।  

प्रदेश सरकारले रिक्त कर्मचारीको दरबन्दी पूरा गर्ने योजना रहेको वताउनु भयो । झण्डै २ हजार कर्मचारी लोकसेवा मार्फत पदपूर्ति गर्ने प्रक्रिया सुरु भएको जानकारी दिदै पाल्पा जिलको समग्र विकासका लागि प्रदेश सरकारले १ अर्ब ६५ करोड बजेट पुजीगत आयोजना लागि बिनियोजन भएको समेत बताउनु भयो । 

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रिखिराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी मेघराज शर्माले जनतामा बढ्दै गरेको निरासालाइ चिर्न जरुरी रहेको बताएका छन् । जनतामा आशा जगाउन, विकृतिमा बिरुद्ध सरकार कठोर बन्नुपर्ने धारणा राखे । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले राष्ट्रिय स्वाधीनताको विचारलाई आत्मसात गर्नुपर्ने बताएका छन् । राष्ट्रिय पर्वको मान्यता दिन आवश्यक रहेको, रणउजेरिश्वरी मन्दिरको लागि पुनर्निर्माणको लागि प्रयाप्त बजेट सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरे । 

सामाजिक अराजकता बढ्दै गरेको प्रति चिन्ता व्यक्त गरे । प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, नारायण आचार्य, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ मन्त्री खेमबहादुर सारु मगर लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न विधामा कलम चलाउने २१ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

भवगती मन्दिर पुर्ननिर्माण गर्छौंः मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहाँसिक रणउजेरिश्वरी भगवती मन्दिरको पुनर्निर्माणको लागी तयार भएको डिपीआर लाई आगामी वर्षको कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ऐतिहाँसिक रथजात्राको अवलोकन गर्न पाल्पा पुगेका मुख्यमन्त्री आचार्यले रणउजेरिश्वरी भगवती मन्दिर पुर्ननिर्माणको प्रतिबद्धता व्यक्त गरेका हुन । यस बर्ष प्रदेश सरकारले मन्दिर मर्मतको लागी २० लाख बजेट विनियोजन गरेको छ । 

यो बजेटबाट मन्दिरको छानो हालिने र अर्को बर्ष मन्दिरको पुर्ननिर्माण गर्न बजेट सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका हुन । पाल्पाको ऐतिहासिक परम्पराले धर्म, संस्कृति, परम्परा तथा इतिहासलाई जोगाइरहेको भन्दै मुख्यमन्त्री आचार्यले रथ यात्रालाई प्रदेश सकारले सांस्कृतिक सहकार्य, भाइचारा र एकताको प्रतीकको रूपमा लिएको समेत उल्लेख गरेका छन् । लुम्बिनी प्रदेश सरकारले रथ जात्रालाई उत्सवमय बनाउन पाल्पा जिल्लामा सार्वजनिक विदा समेत दिएको थियो २०८० चैत २० गते लुम्बिनी प्रदेशको प्रदेश राजपत्रमा प्रकाशित सूचना बमोजिम सार्वजनकि बिदा दिने निर्णय गरिएको हो ।

मुख्यमन्त्री आचार्यले भगवान गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा संसारभर रहेका वौद्ध धर्मावलम्बिहरुलाई एकपटक लुम्बिनी टेकाउन मात्र सकेमा प्रदेशको समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रदेश भित्र रहेका प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताहरुलाई प्रचारप्रसार गर्ने बिषय पनि सरकारको प्राथमिकतामा परेको जनाएका छन् । गौतमबुद्धको घर, जन्मस्थल र मावली क्षेत्रलाई समेटेर बुद्ध सर्किट निर्माण गर्ने, लुम्बिनी हुदै पाल्पा, पवित्र रुरु क्षेत्र, रेसुंगा, पाणिनी तपोभूमि, सुपादेउराली, स्वर्गद्धारी, दाङको धारापानी र बाह्रकुने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्रदेशमा रहेको एक मात्र हिमाली जिल्ला रुकुमको पुथा हिमाल र रोल्पाको युद्ध संग्राहलय जस्ता ऐतिहाँसिक, महत्व र सौदन्दर्यता बोकेका क्षेत्रलाई लुम्बिनी संग जोडेर आवश्यक पूर्वाधारको विकासमा सरकारले ध्यान दिने उहाँको भनाई थियो ।

यस्तै मुख्यमन्त्री आचार्यले राष्ट्रपती रामचन्द्र पौडेलको उपस्थितीले समग्र प्रदेशको धार्मिक, सांस्कृतीक, सम्पदाहरुको संरक्षण, विकासमा महत्वपूर्ण योग्दान पुगेको, देशको ध्यानआकृष्ट गर्न सफल भएको बताएका छन् । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार पाल्पा आएका राष्ट्रपती पौडेललाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन । राष्ट्रपतीलाई जनस्तरबाट समेत भब्य स्वागत गरिएको थियो ।

 

सुरुङ मार्गको प्रगती बुझ्दै मुख्यमन्त्रीः 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले निर्माणाधिन पाल्पाको सिद्धबाबा सुरुङ मार्गको अवलोकन गर्नु भएको छ । सुरुङ मार्गको स्थलग निरिक्षण गर्दै मुख्यमन्त्री आचार्यले प्रगतीबारे जानकारी लिनुभएको हो । 

बन्दै गरेको सुरुङ प्रदेशको पहिलो सुरुङ मार्ग रहेको बताउदै उहाँले विकास निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात भएको स्मरण समेत गर्नु भएको छ । चाँडै सम्पन्न भएर नागरिकलाई आवतजावतमा सहजता हुने, पर्यटन प्रबद्र्धनमा समेत यो मार्गले टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । यस्तै सभामुख तुलाराम घर्तीमगरले सुरुङ मार्गको अवलोकन गर्दै मृत्यु मार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा सावित हुने बताउनु भयो ।

 

अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा खन्ने काम भइरहेको छ । अवको दुई देखी तीन महिना भित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका ईञ्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।

यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजना अन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।

सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । 

सुरुङको बीचबीचमा आपत्कालीन द्वारका रूपमा तीन वटा क्रस प्यासेज निर्माण भइरहेको छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । क्रस प्यासेजहरूको मात्र कुल दूरी ४ सय ४१ मिटर छ । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ । यो खण्ड भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन । पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको छ ।