uml logo

नेकपा (एमाले) लुम्बिनी संसदीय दलको नेतामा आचार्य र उपनेतामा श्रेष्ठ चयन

image

बुटवल, भदौ १ (२०८१)

नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन हुनु भएको छ । शनिबार बुटवलमा बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।

एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्‌मा अर्यालले दलका नेता तथा पूर्व मुख्यमन्त्री लीला गिरीले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएपछि मुख्यमन्त्री आचार्यलाई दलको नेता चयन गरिएको हो । 

संसदीय दलको उपनेता आचार्य मुख्यमन्त्री भएपछि तत्कालिन संसदीय दलका नेता लीला गिरीले राजीनामा दिनु भएको थियो ।

त्यस्तै संसदीय दलको उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन हुनु भएको छ । 

शनिवारको बैठकमा एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल पनि सहभागी हुनुभएको थियो । शनिबार बिहानसम्म एमाले केन्द्रको निर्णयअनुसार लिला गिरीलाई नै दलको नेता मानेर जाने तयारी रहेको तर गिरीले त्यो प्रस्ताव नमान्नु भएपछि आचार्यलाई दलको नेता बनाइएको हो ।

दलको नेता बनेपछि पत्रकारहरूसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री आचार्यले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने जनाउनुभयो ।

नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकमा रुपन्देहीका तुलसी चौधरी चयन हुनु भएको छ । उहाँ यस अघि पनि प्रमुख सचेतक हुनुहुन्थ्यो । संसदीय दलको नेतालो चयन गर्ने पद भएकोले नेता गिरीको राजीनामा पश्चात् उहाँ स्वतः निष्क्रियजस्तै हुनुहुन्थ्यो । 

त्यस्तै सचेतकमा रोल्पाकी यमुना रोकालाई चयन हुनु भएको छ ।

शनिबार बसेको संसदीय दलको बैठकमा गिरी उपस्थित हुनु भएको थिएन । 

 प्रमुख सचेतक चौधरीका अनुसार बैठकमा २५ जनाभन्दा बढी सांसदहरूको सहभागिता थियो । लुम्बिनीमा एमाले २९ सांसद छन् । प्रदेशसभामा एमाले पहिलो दल हो । 

एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

मुख्यमन्त्री आचार्यले मङ्गलवार विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ। विश्वासको मतअघि नै दलको नेता र प्रमुख सचेतकको टुङ्गो लगाएर दलको तर्फबाट विश्वासको मतका लागि हृवीप जारी गर्नुपर्ने अवस्था रहेकाले एमालेले आज दलको नेता टुङ्गो लगाएको हो ।