uml logo

विकास र राजनीति सँगै, एमाले यसको नायकः विष्णु पौडेल

image

रुपन्देही । 

नेकपा एमाले उपाध्यक्षका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताउनुभएको छ। एमाले रुपन्देहीको १० औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले अब सबै नेता कार्यकर्ताहरु विकाससँग जोडिदै जानुपर्ने बताउनुभएको हो । ‘अब विकास र राजनीतिलाई जोडेर लैजानुपर्दछ, जनताको जीवनसँग जोडिएर राजनीतिलाइृ अगाडि बढाऔं, विकास र समृद्धिलाई जोडेर मात्रै अबको राजनीति संभव छ भनेर बुझौं, एमालेले यसमा नायकको भूमिका देखाउनुपर्छ, जहाँ समस्या त्यहाँ एमाले भनेर जनतालाइृ अनुभूत गराउनुपर्छ’ नेता पौडेलले नेता कार्यकर्तालाई निर्देशन दिँदै भन्नुभयो ।  

उहाँले नवनिर्वाचित कार्यसमितिलाई एकताबद्ध भएर काम गर्न पनि निर्देशन दिँदै अधिवेशनले पार्टीको जीवनमा नयाँ जोश सञ्चार गरेको जनाउनुभयो । ‘पार्टीमा अन्तरविरोध र अलमल हुनेछैन अब अग्रगति र प्रगति हुनेछ, रुपन्देहीमा एमालेको कोहीसँग प्रतिस्पर्धा हुँदैन तर त्यो भनेर योजनाबिहीन तरिकाले समय बिताउनुहुँदैन ।’ नेता पौडेलले भन्नुभयो।

गुण र दोष दुबै थाहा पाएका आफ्नै साथीहरु एकआपसमा दोषारोपण गरेर होइन, हरेकले गुणलाई आत्ससात गरेर कमिटीलाई चलायमान बनाउन कार्यकर्तालाई उहाँले सुझाव दिनुभयो । ‘रुपन्देहीको पार्टी पंक्तिलाई प्रभावकारी परिचालन गर्ने, विकास निर्माणका काममा निगरानी र खबरदारी गर्ने, फराकिला सम्भावनालाई साकार पार्ने, आन्तरिक एकतालाई बलियो बनाउने, संगठनलाई सुदृढ, गतिशील र अनुशासित बनाउने, चेतना र चिन्ताका हिसाबले अग्रणी बनाउने, गुणस्तरीय संगठन, नेता कार्यकर्ता रहेको पार्टी बनाउने जिम्मेवारी नयाँ कार्यसमितिको कांधमा आएको छ’ उपाध्यक्ष पौडेलले भन्नुभयो।

एमाले पोलिटब्युरो सदस्य लिला गिरीले नेकपा एमालेका नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका गिरीले पार्टीका हरेक कार्यकर्ता उत्पादनसँग जोडिदै राजनीतिमा क्रियाशील हुनुपर्ने र ‘रुपन्देहीलाई नेपालमै नमुना बनाउनुपर्ने सुझाव दिनुभयो । पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीलाई जीवन्त बनाउन हरेक कमिटी चलायमान बनाउनुपर्ने र त्यो जिम्मेवारी जिल्ला कमिटीले पूरा गर्नुपर्ने बताउनुभयो । 

पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले अबको नेतृत्वले थप कुशलतापूर्वक काम गर्नुपर्ने सुझाव राख्दै सबै तहका कमिटीलाई सकृयतापूर्वका जिम्मेवारीमा लगाउन आग्रह गर्नुभयो । पार्टीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । जेठ २३ देखि २५ गतेसम्म भएको अधिवेशनबाट रुपन्देहीमा सबै पद सर्वसम्मत निर्वाचित भएको थियो ।